मोदी सरकारले गर्‍याे मदर टेरेसाको च्यारिटीको बैंक अकाउन्ट बन्द

मोदी सरकारले गर्‍याे मदर टेरेसाको च्यारिटीको बैंक अकाउन्ट बन्द

एजेन्सी  |  विदेश  |  पुष १३, २०७८

भारत सरकारले मदर टेरेसाको पश्चिम बंगालस्थित मिसिनरिज अफ च्यारिटी (एमओसी)को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरूले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरूलाई बिथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दुवादी विशेषगरी उत्तर प्रदेशस्थित मोदीको निर्वाचन क्षेत्रमा क्रिश्चियविरुद्ध जाइलागेका छन् । आगामी फ्रेब्रुअरीमा उत्तर प्रदेशमा विधानसभा निर्वाचन हुँदै छ । 

दान दिने नाममा मिसिनरिज अफ च्यारिटीले धार्मिक कार्यक्रम संचालन गरेर गरिब हिन्दु तथा अल्पसंख्यक जनजातिलाई पैसा र निःशुल्क शिक्षा तथा आवास प्रदान गरेको भन्दै मोदीको भारतीय जनता पार्टी (भाजपा)ले च्यारिटीको विरोध गर्दै आएको छ । 

इजाजत नवीकरणका लागि च्यारिटीले गरेको निवेदन अस्वीकार गरिएको गृह मन्त्रालयले जनाएको छ । इजाजत नवीकरण नभए च्यारिटीले विदेशबाट कानुनी रूपमा रकम निकासा गर्न सक्दैन । च्यारिटीको निवेदन नवीकरणलाई मनन गर्दा ‘प्रतिकूल परिणाम’ देखिएको मन्त्रालयले जनाएको छ । यसबारे मन्त्रालयले प्रष्ट रूपमा उल्लेख गरेको छैन ।

ममता बनर्जीकाे विराेध

मदर टेरेसाको मिसिनरिज अफ च्यारिटीको बैंक अकाउन्ट बन्दको खबरले आफू चकित परेको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन् । ‘अकाउन्ट बन्द हुँदा २२ हजार बिरामी र कर्मचारी खाना र औषधिबाट बन्चित भएका छन् । मानवीय प्रयत्नसँग कुनै पनि सम्झौता गर्न सकिँदैन', मोदी सरकारको प्रमुख आलोचकसमेत रहेकी बनर्जीले ट्विट गरेकी छन् ।