ताइबानले स्वतन्त्रताको कुरा उठाए कठोर कदम चाल्छौँ: चीन

ताइबानले स्वतन्त्रताको कुरा उठाए कठोर कदम चाल्छौँ: चीन

एजेन्सी  |  विदेश  |  पुष १५, २०७८

ताइबानले औपचारिक रूपमा स्वतन्त्रताको पक्षमा अगाडि बढे चीनले कठोर कदम चाल्ने बेइजिङले चेतावनी दिएको छ । ताइबानको उत्तेजक गतिविधि र बाह्य हस्तक्षेप आगामी वर्ष पनि बढ्न सक्ने भन्दै चीनस्थित ताइबान मामिला कार्यलयका प्रवक्ता मा सिएओगुआंगले ताइबानसँग शान्तिपूर्ण पुनर्मिलनका लागि चीन संभाव्य सबै विकल्पमा छलफल गर्न तयार रहेको बताए । उनले स्वतन्त्रताको कुरा उठाउँदै ताइबानले सीमारेखा मिचेमा चीनले उचित जबाफ दिने चेतावनी दिए ।

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता सिएओगुआंगले भने, ‘ताइबानमा स्वतन्त्रताको माग गर्दै कुनै बिखन्डनकारी फौजले सीमारेखा मिचेमा हामीले कठोर कदम चाल्नेछौँ ।’

त्यसअघि ताइबानको मुख्यभूमि मामिलासम्बन्धी परिषद्ले एउटा विज्ञप्ति जारी गरेर बेइजिङलाई ताइबानतर्फ गम्भीर ढंगले सोच्न आग्रह गरेको थियो ।

चीनले ताइबानलाई आफ्नो भूभाग बताउँदै आएको छ भने ताइबानले पनि आफूलाई सार्वभौमसत्ता र स्वतन्त्र देश ठान्दै आएको छ । पछिल्लो २ वर्षमा चीनले ताइबानको भूभागमा सैन्य तथा कूटनीतिक दबाब दिँदै आएको छ । 

ताइबानमाथिको चिनियाँ दबाबका कारण अमेरिकासमेत विवादमा तानिएको छ । ताइबानमाथि चीनको हस्तक्षेप भए अमेरिका टुलुटुलु हेरेर बस्न नसक्ने वासिङ्टनले बेइजिङलाई चेतावनी दिँदै आएको छ ।