लेखक संघका अध्यक्ष श्रवण मुकारुङले 'ब्लक' हान्नुभएछ

लेखक संघका अध्यक्ष श्रवण मुकारुङले 'ब्लक' हान्नुभएछ

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  पुष १५, २०७८

हालको नेपाली लेखक संघले २००८ सालमा बीपी कोइरालालगायतले स्थापना गरेको लेखक संघकै निरन्तरताको दाबी गर्दै आएको छ । ‘लोकतान्त्रिक’ स्रष्टा र लेखकहरूको साझा चौतारोका रूपमा नेपाली लेखक संघलाई लिइँदै आएको छ । तथापि, यस संघभित्र ‘लोकतान्त्रिक’ लेखक, स्रष्टा मात्र छन् कि अन्य विचारधाराका स्रष्टा, लेखक पनि छन् ? भनेर ‘प्रगतिशील’हरूले झैँ ‘छानबिन’ गर्ने ‘दुस्साहस’ संघका नेताहरूले गर्न सक्दैनन् ।

जे जसो भए पनि नेपाली लेखक संघलाई आजका मितिसम्म लोकतान्त्रिक स्रष्टा, लेखकहरूको संगठन नै मानिँदै आएको छ । र, संघले आफूलाई नेपाली कांग्रेसको ‘शुभेच्छुक संस्था’का रूपमा दाबी पनि गर्दै आएको छ । यो कांग्रेसको शुभेच्छुक संस्था हो कि होइन भनेरचाहिँ कसैले खोजीनीति गरेको छैन ।

नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूचाहिँ निम्नानुसार किटान गरिएका छन् र यी संस्थाबाट पार्टीको महाधिवेशनमा निश्चित महाधिवेशन प्रतिनिधिसमेत जान्छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल प्रजातन्त्रवादी इन्जिनियर संघ, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन, व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ- नेपाल, नेपाल कुमाल संघ र लोकतान्त्रिक नेवाः खल गरी १७ वटा संघ/संगठनलाई मात्र कांग्रेसले शुभेच्छुक संस्थाको मान्यता दिएको छ ।

आश्चर्य छ- देशका बुद्धिजीवी, प्राज्ञिक वर्ग, लेखक, स्रष्टाहरूको संस्था नेपाली लेखक संघलाई भने आजका मितिसम्म कांग्रेसले अपनत्व लिएको छैन तर संघले भने जबर्जस्ती आफूलाई ‘कांग्रेसको शुभेच्छुक संस्था’ दाबी गरिरहेको छ ।

यो प्रसंग यति नै ।

लेखक संघमा भव्य भव्य व्यक्तित्वहरू हुनुहुन्छ । स्थापित साहित्यकारदेखि प्राध्यापक, प्रसिद्ध लेखक तथा उदीयमान स्रष्टा, लेखकसमेत यस संघमा आवद्ध हुनुहुन्छ । उहाँहरू निरन्तर लेखनमा, सिर्जनामा सक्रिय हुनुहुन्छ । यस्ता व्यक्तिहरूलाई समेटेर संघको नेतृत्व गर्ने अवसर पाउनु अत्यन्तै गर्वको विषय हो ।

डा. तुलसीप्रसाद भट्टराई, डा. विष्णुविभू घिमिरे, कृष्ण धरावासी आदिले पछिल्लो समय पुनर्जागृत गरेको संघको वर्तमान नेतृत्व २०७३ वैशाखमा चुनिएको हो । लोकतान्त्रिक विधि र प्रक्रियाबाट डा. नवराज लम्सालको अध्यक्षतामा चुनिएको वर्तमान समिति हालसम्म कायम छ । तर, अध्यक्ष लम्सालले भने अध्यक्ष निर्वाचित भएको ४ महिना पनि नपुगी पदबाट राजीनामा दिनुभयो । राजीनामा दिनुको कारण के थियो ? त्यो समितिभित्रका केहीलाई थाहा होला, बाहिर जे आयो, त्यो पनि केही सानो कारण अवश्य हो ।

डा. लम्सालले राजीनामामा लेख्नुभएअनुसार लेखक संघको आर्थिक हिसाबकिताब पारदर्शी नभएको, अघिल्ला समितिले निर्णयपुस्तिकाहरू उपलब्ध नगराएको लगायतका कारण थिए राजीनामा दिनुका । उहाँले यही कारण आफ्नो ‘इमान’ र ‘नैतिकता’मा ठेस पुग्न सक्ने अनुमान (डर ?) भएकाले हतारमा राजीनामा दिएर आफ्नो ‘इमान’ र ‘नैतिकता’ त जोगाउनुभयो तर उहाँलाई विश्वास गरेर अमूल्य मत दिएर जिताउने सयौँको विश्वास र भरोसमा भने ध्वस्त पार्नुभयो ।

त्यसपछि विधानतः पुनः अधिवेशन गरेर नयाँ अध्यक्ष चुनिनुपर्ने थियो । आखिर हामी स्रष्टा, लेखक न हौँ- मुटु कमजोर हुन्छ, मस्तिष्क छिनमै विचलित ! भर्खरै मात्र वामपन्थी राजनीतिलाई त्यागेर तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाका हातबाट रातारात टीका थापेर कांग्रेसमा छिर्नुभएका सुप्रसिद्ध कवि श्रवण मुकारुङ संघको वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो, उहाँलाई नै कार्यसमितिको बैठक राखेर अध्यक्षमा बढुवा गरियो ।

बोलीचालीमा अत्यन्त नरम र शालीन मुकारुङलाई ‘प्रगतिशील’बाट ‘लोकतान्त्रिक’ त बनाइयो तर व्यवहारमा उहाँसँग ‘प्रगतिशीलता’ आजका मितिसम्म कायम रहेको पत्तै भएन हामीलाई । मुखमा एउटा, काममा अर्को नेपाली प्रगतिशीलताको स्वभाव हो । यही स्वभावबाट हुर्किनुभएका श्रवण मुकारुङका अध्यक्ष बनेपछिका हरेक क्रियाकलाप र व्यवहारमा उही ‘प्रगतिशीलता’ मात्र देखियो- ‘लोकतन्त्र’को अंश भेटिएन ।

संस्थाको काम गर्न सजिलो र छिटो छरितो होस् भनेर सचिवालय बनाइयो ९ सदस्यीय तर सचिवालय भन्नु अध्यक्ष मुकारुङ, महासचिव रत्नमणि नेपाल र केही उहाँहरूका विश्वासपात्रबाहेक अरूले सचिवालयको बैठकको निम्तोसम्म पाएनन् । केही थोरै बैठकमा ‘थाहा पाएर’ उपस्थित हुने सचिव बाबु त्रिपाठी र म लगायतले संस्थाको आर्थिक हिसाब किताब र कामको वैधानिकताबारे प्रश्न उठाउन थालेपछि बैठक नै बसाउन सक्नुभएको छैन अध्यक्ष र महासचिवले ।

यसबीचमा केही काम संघबाट भएका छन् । एउटा कोरियाली ‘मिसनरी’ संस्थाको सहयोग र सहकार्यमा ‘ठूलै’ कार्यक्रम भयो । उक्त कार्यक्रम गर्नुपूर्व उक्त संस्थासँग सहकार्य गर्ने सवालमा बैठकमा मैले भनेको थिएँ, ‘प्रायः विदेशी संस्थाहरू मिसनरी छन्, तिनको उद्देश्य फरक हुन्छ, भोलि विवाद नआओस्, राम्ररी बुझेर मात्र निर्णय गरौँ ।’

महासचिव, जो अहिले पीएचडी डाक्टर पनि बन्नुभएको छ, रत्नमणि नेपालले भन्नुभयो, ‘म अंग्रेजी राम्ररी बुझ्छु, उक्त संस्थाबारे पढेको छु, त्यस्तो केही छैन, गर्दा हुन्छ ।’

पंक्तिकारले सचिव बाबु त्रिपाठीलाई साक्षी राखेर जति पनि सचिवालय बैठक अघि भएका छन्, तिनको माइन्युटको फोटो खिचेर सुरक्षित राखेको छ–यही आशंकाका कारण कि अध्यक्ष र महासचिवले 'ब्याक डेट'मा माइन्युट गर्ने भ्रमपूर्ण गल्ती नगरून् । यदि यसो गरिएको रहेछ भने हामी प्रस्ट हुन्छौँ– हिसाब किताब अवश्य गडबढ छ ।

म त अंग्रेजी उति जान्दिनँ, हुनेवाला डाक्टरसा’बले भनेपछि विश्वास गर्नै पर्‍यो । कार्यक्रम गर्ने निधो भयो । कार्यक्रमका लागि सबै खर्च त्यही संस्थाले बेहोर्ने भयो, हामीले कार्यक्रमको संयोजन मात्र गर्दा हुने भयो । यति मात्र होइन, केही लाख रुपैयाँ र केही अन्य सहयोग पनि विद्यार्थीका लागि भनेर उक्त संस्थाले गर्ने भएपछि त राम्रै होला पनि भनियो ।

कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठानमा हुँदै थियो, केही प्राध्यापक, विद्वान्, कहलिएका बुद्धिजीवीहरू, जो लेखक संघका पुनर्जागरणकर्ता र शुभेच्छुक पनि हुनुहुन्छ, उहाँहरूलाई कार्यक्रम स्थलबाट भुनभुनिँदै बाहिर निस्कनुभयो । किन ? जिज्ञासा राख्दा पो भन्नुभयो, ‘यस्तो क्रिश्चियानिटीको प्रचारका लागि मिसनरीका कार्यक्रम लेखक संघले राख्ने ? यस्तो बदमासी पनि गर्ने ?’

अनि पो मेरो पूर्वानुमान सही ठहरियो, जुन कार्यक्रमको निर्णयपूर्व नै बैठकमा भनेको थिएँ अथवा आशंका गरेको थिएँ ।

जे भयो, गलत भयो तर त्यो गलत थियो, गलत गरेछौँ भन्ने न स्वीकारोक्ति नेतृत्वबाट आएको छ वा न त त्यस कार्यक्रममा कति रकम आयो, कति खर्च भयो, कहाँकहाँ र केकेमा उक्त रकम खर्च भयो भन्नेसमेत हिसाब किताब आजसम्म देख्न पाएको छैन समितिका साथीहरूले । सँगसँगै ‘छात्रवृत्ति’का नाममा त्यही संस्थाले दिएको ४ लाख रुपैयाँको हिसाब किताब पनि सार्वजनिक भएको छैन । सचिव सोझो गाउँले (भरत भण्डारी)ले पंक्तिकारलाई सुनाएअनुसार छात्रवृत्तिबापत आएको उक्त ४ लाख रुपैयाँ कांग्रेस नेता तथा लेखक धर्मेन्द्रविक्रम नेम्बाङ, कांग्रेस नेता डिल्लीराम सुवेदीलगायत ४ जनालाई एक-एक लाख रुपैयाँका दरले भागशान्ति लगाइएको छ । तर, उक्त रकम कहाँका कुनकुन विद्यालयका कति जना विद्यार्थीलाई प्रदान गरियो भन्ने कुनै विवरण प्राप्त छैन ।

यसका साथै केही भौतिक सामग्री पनि आएको सुनिएको छ तर उक्त सामग्री कहाँ कसरी र कसलाई दिइयो भन्ने कुनै तथ्य छैन ।

यसै सन्दर्भमा केही समयअघि कांग्रेस महाधिवेशनका क्रममा पाँचथर पुग्नुभएका धर्मेन्द्रविक्रम नेम्बाङले पंक्तिकारलाई फोन गर्नुभयो र लेखक संघबारे भन्दा पनि बढी अध्यक्ष श्रवण मुकारुङबारे चिन्ता गर्नुभयो । ‘साह्रै सोझो र इमान्दार भएर नै श्रवण मुकारुङले दुःख पाएको’ सुनाउनुभयो । उसो त, हरेक भेटमा र बैठकमा समेत म नै हुँ मुकारुङलाई यसो भन्ने अर्थात् ‘दाजु, तपाईं बढी शालीन, सोझो, इमान्दार र भद्र भएर सधैँ दुःख पाउनुहुन्छ ।’

तर, पछि पो थाहा भयो, जुन माथि पनि लेखिसकेको छु- श्रवण मुकारुङमा बाहिर देखिने ‘सोझो, शालीन, इमान्दार’ व्यक्तित्व व्यवहारमा कहाँ रहेछ र ! उहाँ त अझै ‘प्रगतिशील’ नै हुनुहुँदोरहेछ, जो मुखमा रामराम, बगलीमा छुरा बोकेर बस्छ ।

 अनि, मैले धर्मेन्द्रजीलाई भनेँ, ‘तपाईं लेखक संघको चिन्ता गर्नुहोस्, ठीक छ तर श्रवण मुकारुङका बारेमा मलाई 'कन्भिन्स' गर्न फोन गर्दै हुनुहुन्छ भने यो नगर्नुहोस्, मैले तपाईंले भन्दा बढी चिनिसकेको छ किनभने म निर्वाचित खुला केन्द्रीय सचिव हुँ संघको साथसाथै सचिवालय सदस्य पनि ।’

र, थपेँ, ‘उहाँहरू, अध्यक्ष र महासचिवले आर्थिक पाटोमा जुन अपारदर्शिता देखाउनुभएको छ, त्यो उहाँहरूका लागि अनुहारमा कालो दाग बनिरहेको छ । अनि, तपाईं पनि एक लाख रुपैयाँ लिनेमा मुछिनुभएको छ, त्यसको हिसाब किताब पनि प्रस्ट पार्नुपर्नेछ ।’

यति भनेपछि धर्मेन्द्रजी ‘काठमाडौं आएर वार्ता गर्ने’ अवस्थामा पुग्नुभयो तर हाम्रो वार्ता अझैसम्म हुन सकेको भने छैन ।

यति मात्र पनि होइन । अध्यक्ष र महासचिवको खुराफात कहाँसम्म पुग्यो भने, त्यही कोरियाली संस्थाले कोरियामा कार्यक्रम गर्ने भयो । यता सचिवालयले थाहै नपाई उहाँहरू २ जना ठूलो चिलगाडीमा चढिहाल्नुभएछ । कम्तीमा संस्थाभित्र छलफल गर्नुपर्ने हो कोको जाने ? कसरी जाने ? आर्थिक स्रोत कहाँबाट जुटाउने जानका लागि ? हाम्रा संस्थागत एजेण्डा के हुने त्यहाँ प्रस्तुत गर्नका लागि ? आदि छलफल गरेर निर्णय गरेर जानुपर्ने हो तर उहाँहरू कोरियाबाट फर्किएपछि पो हामी सचिवालयका साथीहरूले थाहा पायौँ । र, त्यसको पनि आर्थिकदेखि अन्य कुराहरू आजसम्म संस्थाभित्रै पनि प्रस्तुत गरिएको छैन ।

त्यही कार्यक्रममा उहाँहरूले केही नेपाली कविका कविता कोरियाली भाषामा अनुवाद गराएर पुस्तक नै प्रकाशन गर्नुभएछ । त्यो पनि कुनै छलफल र निर्णयबिना ।

यस्ता कार्यहरू ‘लोकतान्त्रिक’ दाबी गर्ने संस्थामा, अझ त्यही संस्थाका मूल नेतृत्वबाट हुनु आश्चर्यलाग्दो होइन, घीनलाग्दो पो हो त !

सुनिँदै छ– आर्थिक हिनामिनाको प्रश्न व्यापक बनेपछि ‘ब्याक डेट’मा सचिवालयको बैठक बनाएर निर्णय गरिँदै छ । यसका लागि अघिल्ला निर्णय पुस्तिका ‘हराएको’ बताइँदै छ ।

उहाँहरूलाई आफ्नो समितिमा जान्नेबुझ्ने र टाठाबाठा आफू मात्र भएको भ्रम छ क्या हो ? यो पंक्तिकारले सचिव बाबु त्रिपाठीलाई साक्षी राखेर जति पनि सचिवालय बैठक अघि भएका छन्, तिनको माइन्युटको फोटो खिचेर सुरक्षित राखेको छ–यही आशंकाका कारण कि अध्यक्ष र महासचिवले 'ब्याक डेट'मा माइन्युट गर्ने भ्रमपूर्ण गल्ती नगरून् । यदि यसो गरिएको रहेछ भने हामी प्रस्ट हुन्छौँ– हिसाब किताब अवश्य गडबढ छ ।

सवाल अर्को पनि छ- हरेकजसो सचिवालय बैठकमा र अन्य भेटमा पनि अध्यक्ष र महासचिवलाई बारबार पंक्तिकारले भनिरह्यो, ‘मान्छेलाई सिध्याउने २ वटा कुरामा अत्यन्त सावधान हुनुपर्छ-आर्थिक पाटो र यौन काण्ड । यी २ कुरामा जोगिन सकिएन भने अन्य क्षेत्रमा जतिसुकै प्रसिद्धि कमाए पनि अर्थ हुँदैन । यस कारण संस्थाको आर्थिक पारदर्शिता शीघ्र होस्, बैठकमा प्रस्तुत गरेर निर्णय गराएर राख्नुहोस् ।’

उहाँहरूले यस सुझावलाई अतिसामान्य रूपमा लिनुभयो सायद- आज न त अधिवेशन गर्ने हैसियतमा हुनुहुन्छ वा न सचिवालय बैठक राख्ने नै । पदावधि सकिएको ३ वर्ष पुग्न लाग्दासमेत उहाँहरू ततर्किएर, डराएर वा लजाएर भागिरहनुभएको छ अधिवेशन गर्न । लोकतान्त्रिक संस्थाका अलोकतान्त्रिक नेतृत्वको असली चरित्र देखाएर लाज, शरम, घीनसमेत पचाएर जुको जसरी पदमा टाँसिइरहनुभएको छ । यसबीचमा संस्थाको नवीकरणलगायतका कामसमेत बेहाल भएको पत्तो छैन उहाँहरूलाई ।

र, यसैबीच कांग्रेसले आफ्नो १४औँ महाधिवेशन सम्पन्न गरेको छ । माथि उल्लेखित १७ वटै शुभेच्छुक संस्थाका व्यक्तिहरू महाधिवेशनमा सक्रियतापूर्वक सहभागी भए । कतिपय केन्द्रीय पदाधिकारी र सदस्यमा समेत आए । तर, आफूलाई शुभेच्छुक संस्था दाबी गर्ने लेखक संघका कोको महाधिवेशन प्रतिनिधि भए ? कोको नेतृत्वमा आए ? अध्यक्ष मुकारुङ र महासचिव नेपाललगायत कोको पदाधिकारी र सदस्यहरू कांग्रेस महाधिवेशनमा देखिए ? यी पनि गम्भीर सवाल हुन् आज लेखक संघभित्रका ।

अन्त्यमा,

नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ कति ‘लोकतान्त्रिक’ हुनुहन्छ आर्थिक हिसाबमा कति पारदर्शी अनि इमान्दार हुनुहुन्छ भनेर माथि उल्लेखित सन्दर्भबाट नै थाहा भयो भन्ने लाग्छ ।

र, यही सन्दर्भमा केही समयअघि अध्यक्ष मुकारुङले फेसबुकमा ‘लोकतन्त्र’का बारेमा खुबै राम्रो ‘दर्शन’ दिनुभएको थियो । म बबुरो नेपाली लेखक संघको सचिव उहाँकै नेतृत्वको यस्तो कन्तबिजोक देखिरहेको/भोगिरहेको अवस्थामा उहाँको उक्त आदर्श अभिव्यक्ति पढेपछि कमेन्टमा लेखिदिएको थिएँ, ‘अध्यक्षज्यू आफैँ नेतृत्वमा रहनुभएको लेखक संघको अवस्था र आफ्नो व्यवहार मूल्यांकन गर्दा कस्तो लाग्छ ? मलाई त तपाईंको यो स्टाटस पढेर लाज लाग्यो ।’

अनि, अध्यक्षज्यूले तत्काल मलाई ब्लक हान्नुभएछ ।