‘दबंग ४’मा राजनेता बन्दै सलमान खान

‘दबंग ४’मा राजनेता बन्दै सलमान खान

एजेन्सी  |  लोकरञ्जन  |  पुष १६, २०७८

बलिउड अभिनेता सलमान खानको सुपर कप ड्रामा ‘दबंग’को हरेक सिक्वेल फ्यान र दर्शकका लागि मनोरञ्जनपूर्ण बनिरहेको छ । यही कारण ‘दबंग’, ‘दबंग २’,  ‘दबंग ३’पछि सलमान ‘दबंग ४’ लिएर आउँदै छन् । नयाँ वर्ष सन् २०२२ को छेकोमा ‘दबंग ४’को विषयमा नयाँ तथ्य बाहिर आएको छ ।

यसअघि ३ संस्करणमा प्रहरीको भूमिकामा देखिएका सलमान ‘दबंग ४’मा राजनेताको चरित्रमा देखिँदै छन् । फिल्मको निर्देशन निर्देशक तिग्मांसु धुलियाले गर्दै छन् । उनले नै फिल्मको स्क्रिप्टको काम पनि गरिरहेका छन् ।

अभिनेता सलमान र अरबाज खानले तिग्मांसुले सुनाएको प्रारम्भिक कथालाई मनपराएपछि तिग्मांसुले यसको स्क्रिप्ट फाइनलको तयारी गरिरहेका छन् । स्क्रिप्टको विस्तृत विषय सार्वजनिक नगरे पनि तिग्मांसु निकट स्रोतका अनुसार फिल्ममा सलमानलाई राजनीतिमा प्रवेश गराइनेछ, जसका कारण दर्शकले मनोरञ्जनको डबल डोज पाउने अनुमान गरिएको छ ।

हाल सलमान ‘टाइगर ३’को सुटिङ पूरा गर्न कम्मर कसेर लागेका छन् । यसपछि उनी ‘कभी इद कभी दिवाली’मा व्यस्त हुनेछन् । सलमान सन् २०२२ को अन्त्यसम्ममा ‘दबंग ४’को सुटिङ पूरा गर्ने तयारीमा छन् ।