विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो, यी हुन् ५ ठूला जनसंख्या भएका देश

विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुग्यो, यी हुन् ५ ठूला जनसंख्या भएका देश

एजेन्सी  |  विदेश  |  पुष १८, २०७८

विश्वको जनसंख्या ७ करोड ४० लाख बढेको छ । अमेरिकी तथ्यांक ब्युरोका अनुसार यससँगै विश्वको जनसंख्या ७ अर्ब ८० करोड पुगेको छ । चीन अहिले पनि विश्वमै सबैभन्दा धेरै जनसंख्या भएको देश हो । चीनको जनसंख्या एक अर्ब ४० करोड पुगेको छ ।

जनसंख्याको दृष्टिले भारतले चीनलाई पछ्याइरहेको छ । भारतको जनसंख्या एक अर्ब ३८ करोड पुगेको छ । आगामी ३ वर्षभित्र भारतले चीनलाई उछिन्ने अनुमान गरिएको छ ।

ब्युरोका अनुसार जनसंख्याको दृष्टिले अमेरिका विश्वकै तेस्रो ठूलो देश बनेको छ । अमेरिकाको जनसंख्या ३३ करोड २० लाख पुगेको छ । जनसंख्याका हिसाबले अमेरिका पछि इन्डोनेसिया र पाकिस्तान क्रमशः चौथो र पाँचौँ ठूलो देश बनेका छन् । इन्डोनेसियाको जनसंख्या २७ करोड ५० लाख छ भने पाकिस्तानको २३ करोड ८० लाख नाघेको छ ।

सन् २०२१ मा विश्वको जनसंख्या ०.९ प्रतिशतले वृद्धि भएको छ । समग्रमा विश्वको जनसंख्या बढे पनि वृद्धि दर भने सन् १९६० को मध्यदेखि निरन्तर घटिरहेको छ । सन् २१०० भन्दा अगाडि यो दर फेरि बढ्ने विज्ञहरूले अनुमान गरेका छन् ।

राष्ट्रसंघले पनि विश्वको जनसंख्या सन् २१०० सम्म निरन्तर बढ्ने तर यस्तो वृद्धि केही क्षेत्रमा मात्र केन्द्रित हुने जनाएको छ । 

ब्युरोका अनुसार आगामी केही दशकमा ८ वटा देशहरूमा मात्र जनसंख्या बढ्नेछ । ती देशहरूमा कंगो, इजिप्ट, इथोपिया, भारत, इन्डोनेसिया, नाइजेरिया, पाकिस्तान, तान्जेनिया र अमेरिका रहेका छन् ।

यस शताब्दीको अन्त्यमा ५५ देशको जनसंख्या एक प्रतिशतभन्दा बढीले घट्नेछ । राष्ट्रसंघले पनि बुल्गेरिया, लात्भिया, लिथुनिया र युक्रेनको जनसंख्या २० प्रतिशतले घट्ने जनाएको छ ।