भारत उत्तर प्रदेश चुनाव कतै दुर्भाग्य सावित हुँदै त छैन नेपालका लागि ?

भारत उत्तर प्रदेश चुनाव कतै दुर्भाग्य सावित हुँदै त छैन नेपालका लागि ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  पुष २१, २०७८

उत्तर प्रदेश राज्यको उच्च न्यायलयले स्वतः संज्ञान लिएर निर्वाचन आयोगलाई प्रदेशमा हुन गइरहेको आमनिर्वाचन सम्बन्धमा पुनर्विचार गर्न परामर्श प्रेषित गर्‍यो । न्यायालयको यस शुभेच्छाका पछाडि कारण विश्वमै अतितीव्रताका साथ प्रसार हुँदै गइरहेको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्टको त्रास अथवा पूर्वसतर्कता रहेको थियो ।

निर्वाचन आयोगले राज्यका विभिन्न राजनीतिक दलसँग यस सम्बन्धमा विमर्श गर्‍यो । चुनाव सार्न कुनै पनि दल सहमत भएनन् । पछिल्लो जानकारीअनुसार उत्तर प्रदेशमा चुनाव निश्चित समयमै फेब्रुअरीको दोस्रो सातादेखि ५-७ चरणको प्रक्रियामा झण्डै एक महिना लामो अन्तरालमा सम्पन्न हुनेछ ।

गत नोभेम्बरको अन्तिम सातादेखि अवतार र अस्तित्वमा आएको ओमिक्रोन भेरियन्टले दक्षिण अफ्रिकादेखि विश्वका सबैभन्दा धनी र विभिन्न भौतिक सुविधा सम्पन्न देशमै आफ्नो ताण्डव देखायो । अमेरिका, रूस र विभिन्न युरोपेली देश (झण्डै सम्पूर्ण युरोप) कोरोना भाइरसको यस स्वरूपबाट आक्रान्त भए र अहिले पनि त्यो क्रम जारी छ ।

४ जनवरीमा उपलब्ध ३ जनवरीको विश्व्यापी डेटा अध्ययन गर्दा वास्तविकता दृष्टिगोचर हुन्छ । विगत २४ घण्टामा अमेरिकामा ४ लाख २६ हजार ५१ नयाँ संक्रमित देखिए । यूकेमा एक लाख ५७ हजार ७५८ जना, स्पेनमा ९३ हजार १९० जना, इटलीमा ६८ हजार ५२ जना, फ्रान्समा ६७ हजार ४६१ जना, अर्जेन्टिनामा ४४ हजार ३९६ जना, ग्रिसमा ३६ हजार २४६ जना, आयरल्याण्डमा १६ हजार ९८६ जना,  क्यानाडामा ३५ हजार ६१८ जना, अस्ट्रेलियामा ३७ हजार ५९ जनालगायत विश्वमा १३ लाख ३२ हजार ८५४ जना नयाँ संक्रमित देखिए । यसै अवधिमा ४ हजार २९७ जनाको संक्रमणका कारण मृत्यु भयो ।

गत एक साताको तथ्यांकअनुसार विश्वमा एक कराेड ९ लाख ३४ हजार ८५८ जना संक्रमित थपिए, जुन पछिल्लो साताको संक्रमित संख्या ६१ लाख ४८ हजार ६४१ मा ७८ प्रतिशत वृद्धि हुनु हो । देशअनुसार संक्रमण वृद्धिको अनुपात अमेरिकामा ८४ प्रतिशत, यूकेमा ६० प्रतिशत, फ्रान्समा १३२ प्रतिशत, इटालीमा १६३ प्रतिशत, ग्रिसमा ३५४ प्रतिशत, अस्ट्रेलियामा २२८ प्रतिशत रहेको छ ।

ओमिक्रोन घातक छैन भन्नेहरूले यो तथ्यांक हेरे हुन्थ्यो- गत साता विश्वमा ४० हजार ८८७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भयो । यसमध्ये अमेरिकामा मात्र ८ हजार २५६ जनाको मृत्यु भयो । रूसमा ६ हजार १९८ जनाको मृत्यु भयो ।

विगत झण्डै ४० दिनदेखि विश्वभर ओमिक्रोन भेरिएन्टले पहिलाका भेरिएन्टको स्थान लिइसकेको छ । यी मृत्यु भइरहेका संक्रमित ओमिक्रोनका होइनन् भन्ने तर्क कुनै पनि दृष्टिकोणले सङ्गत होइन ।

लेखको प्रारम्भमा उत्तर प्रदेश राज्यको निर्वाचन विषयक चर्चा गर्नुको औचित्य के हो भने, भारतमा ओमिक्रोन भेरिएन्टको प्रसार समुदाय स्तरमै भइसकेको छ । भारत सरकार, विभिन्न राज्यका प्रान्तीय सरकार र तिनका मातहतका विभिन्न एजेन्सीलाई वस्तुस्थितिको संज्ञान नभएको होइन । भारतमा अनेक तवर र स्तरका सुरक्षा तयारीको घोषणा भइसकेको छ । विभिन्न राज्यले स्कुल, कलेज, भीडभाड हुने स्थान नियन्त्रण गर्ने प्रयासका साथै रात्रिकालीन कर्फ्यू जस्ता उपाय घोषणा गरिसकेका छन् । महाराष्ट्र, पश्चिम बंगाल, पंजाब, दिल्लीलगायत विभिन्न राज्यमा झण्डै लकडाउनको स्थिति भइसकेको छ । लाखौँ संख्यामा आईसीयू शय्या, भेन्टिलेटर शय्याका साथै अक्सिजन आपूर्तिको व्यवस्थालगायत १० लाखभन्दा बढी आइसोलेसन शय्याको व्यवस्था केन्द्र सरकारकै पहलमा भएको छ ।

विभिन्न भारतीय अनुसन्धान संस्थाहरूले युरोप र अमेरिकाको स्थिति अध्ययन गर्दै भारतमा ओमिक्रोनको संक्रमण प्रसारबारे अनुमान लगाएका छन्- युरोप र अमेरिका जस्तै ओमिक्रोनको प्रसार भारतमा भए दैनिक १० लाखभन्दा बढी संक्रमित आउन सक्छन् । भारतका अनेक राज्यमा संक्रमण वृद्धि देखिनुका कारण अघोषित लकडाउनको स्थिति भइसकेको छ ।

तर, नेपालको छिमेकी राज्य उत्तर प्रदेशमा भने चुनावी माहोल छ । जनसंख्याको आधारमा विश्वकै चौथो दर्जा (चीन, भारत, अमेरिका, उत्तर प्रदेश)मा आउने उत्तर प्रदेशको चुनावले ओमिक्रोनको कस्तो अवस्था होला ? अनुमान गर्न सहज छैन । हजारौँ, लाखौँको भेला हुने चुनावी सभा उत्तर प्रदेशमा प्रारम्भ भइसकेका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले रात्रिकालीन कर्फ्यू घोषणा गर्नुका साथै 'विकइण्ड कर्फ्यू'को योजना बनाइरहेका छन् । तर, चुनावी माहोलमा रंगारंग भइसकेको उत्तर प्रदेशको २२-२३ करोड मानिसलाई के यी उपायले संयमित-सुरक्षित बस्न प्रेरणा दिन्छन् र ?

भारतमा कोरोना संक्रमणको स्थिति हेरौँ- ३ जनवरीका दिन भारतमा ३७ हजार ३७९ जना संक्रमित देखिए । २ जनवरीमा यो संख्या ३३ हजार ७५० थियो । गएको ७ दिनमा भारतमा एक लाख ६० हजार ५७० जना संक्रमित थपिए । यसभन्दा अघिल्लो साता यो संख्या ४७ हजार ५२७ रहेको थियो । संक्रमणको ग्राफ कसरी डेल्टा कर्भमा जाँदै छ, सहज अनुमान गर्न सकिन्छ । आउने ५-७ दिनमै भारतमा दैनिक आउने संक्रमित संख्या लाखौँमा पुग्ने सहज अनुमान गर्न सकिन्छ ।

ओमिक्रोन भेरिएन्टको 'मोर्टालिटी रेट' (मृत्यु दर)बारे 'तैँ चुप, मै चुप'को स्थिति छ । भ्याक्सिनको प्रभावकारिताबारे निर्माता कम्पनीदेखि विभिन्न थरीका स्वार्थ समूहका स्वार्थमिश्रित धारणा जारी छन् । भाइरसका विरुद्ध एक मात्र उपाय भ्याक्सिन नै हो, यस एक मात्र उपायले नै काम गर्दैन भनेर कसरी भन्ने ?

३ डोज भ्याक्सिन लगाइसकेको इजरायलमा कुल सक्रिय संक्रमितमध्ये ०.५ प्रतिशतलाई अस्पताल भर्ना हुनुपरेको छ । यूकेलगायत अन्य युरोपेली देशको अवस्था पनि इजरायल जस्तै छ । भ्याक्सिनका पूर्ण डोज भनिएका २ डोजबाहेक थप डोज पाएका मुलुकमा ओमिक्रोनको यस्तो आतंक छ भने नेपाल जस्तो देशको हालत के होला ?

तर, धनी तथा सम्पन्न देशले पूर्ण डोज लगाइसकेको अवस्थामा थप बुस्टर डोज भ्याक्सिन प्रदान गर्नुले सारा रामकहानी बयान नगरेको होइन । बुस्टर डोजको अर्थ नै पूर्ण डोजका रूपमा प्रचार गरिएका २ डोजले काम नगर्नु हो भनेर स्वतः प्रमाणित भइसकेकै छ । भ्याक्सिनको तेस्रो डोज अर्थात् बुस्टर डोज लगाइसकेका मानिस पनि ओमिक्रोनले संक्रमित हुने साक्ष्य प्राप्त भइसकेका छन् ।

इजरायलको अवस्थाले स्पष्ट देखाउँछ- ९० लाख जनसंख्या भएको यस देशमा ६५ लाख ८६ हजार २१९ जनालाई भ्याक्सिनको पूर्ण डोज प्राप्त भइसकेको छ । ४२ लाख ७३ हजार ९२८ जनालाई बुस्टर डोजका रूपमा अतिरिक्त भ्याक्सिन लगाइसकिएको छ । यस साता इजरायलमा ४० हजार ७ संक्रमित थपिएका  छन् । गत साता यो संख्या १० हजार ८८५ थियो । एक सातामै संक्रमण वृद्धि २६८ प्रतिशतले भएको छ । ३ जनवरीका दिन इजरायलमा १० हजार ६९३ नयाँ संक्रमित थपिनुका साथै ३ जनाको मृत्यु भएको छ । इजरायलमा सक्रिय संक्रमित संख्या  ४५ हजार ५२७ रहेको छ भने अस्पताल भर्ना भएका २३६ जनामध्ये ६९ जनाको अवस्था गम्भीर रहेको छ ।

३ डोज भ्याक्सिन लगाइसकेको इजरायलमा कुल सक्रिय संक्रमितमध्ये ०.५ प्रतिशतलाई अस्पताल भर्ना हुनुपरेको छ । यूकेलगायत अन्य युरोपेली देशको अवस्था पनि इजरायल जस्तै छ । भ्याक्सिनका पूर्ण डोज भनिएका २ डोजबाहेक थप डोज पाएका मुलुकमा ओमिक्रोनको यस्तो आतंक छ भने नेपाल जस्तो देशको हालत के होला ?

उत्तर प्रदेशको प्रान्तीय चुनाव नेपालका लागि भस्मासुर हुन सक्ने संभावनाबाट आँखा चिम्लिनु र वास्ता नगर्नुको परिणाम कति घातक हुन सक्छ, अनुमान लगाउन सहज छैन । नेपाल सरकारले भारतसँगको भूमि सिमाना अविलम्ब नियन्त्रण नगरे दुष्परिणाम समस्त नेपालीजनले भोग्नुपर्ने हुन्छ । यो निश्चय पनि सत्य हो, हामी ओमिक्रोन भेरिएन्ट प्रसारित हुनबाट रोक्न सक्दैनौँ । नेपालमै विगत २-३ दिनदेखि २०० भन्दा बढी संक्रमित आइरहेको अवस्थामा यो संख्या बढेर ३०० नाघिसकेको छ । राज्य सचेत हुने हो भने आउने संभावित आपत्‌ले शंखनाद गरिसकेको छ । सुन्नु/नसुन्नु राज्यलगायत सर्वसाधारणको जिम्मा ।

राज्य र सर्वसाधारणको दायित्व ओमिक्रोनलाई रोक्ने होइन, परन्तु यसको संक्रमण तीव्रता मत्थर राख्ने हो । सानो अवधिमा ह्वात्तै नयाँ संक्रमितको ग्राफ बढेर सक्रिय संक्रमित संख्या 'सुरसाका मुख माफिक' बढ्यो भने हाम्रो कुनै पनि 'इन्फ्रास्ट्रक्चर'ले थेग्दैन । परिणाम स्वरूप सामान्य संक्रमित पनि जोखिममा पर्छ । दिनमा ५००-७००-९०० भन्दा बढीसम्म नयाँ संक्रमित थपिनु, सक्रिय संक्रमित १५-२० हजारसम्म पुग्नुले आत्तिने अवस्था सिर्जना हुँदैन ।

संक्षेपमा, हाम्रो देशमा उपलब्ध चिकित्स्कीय सुविधा अतिन्यून छ । भेन्टिलेटरको संख्या, आईसीयू शय्याको संख्या सीमित छ । सरकारले के सोचिरहनुपर्छ भने, सक्रिय संक्रमितमध्ये ५ प्रतिशतलाई अस्पताल आवश्यक हुन सक्छ । २-३ प्रतिशतलाई सघन उपचार कक्षको आवश्यकता पर्न सक्छ । चिकित्सकीय सुविधा उपलब्ध हुँदाहुँदै जुनसुकै बिरामीको परिणाम जेसुकै आए पनि चित्त बुझाउने ठाउँ हुन्छ तर चिकित्स्कीय सुविधाबाट वञ्चित हुँदा त्यस परिणामलाई सहज स्वीकार गर्न सकिँदैन ।

दुःखका साथ भन्नु पर्छ- ओमिक्रोन भेरिएन्टको संक्रमण प्रसार दर अतिउच्च रहेको छ । यो विगतको डेल्टा भेरिएन्टभन्दा झण्डै ६ गुणा तीव्र प्रसारक छ । यस भेरिएन्टबाट संक्रमितले घरमा आइसोलेसन बस्नु अत्यन्त जोखिमयुक्त हुन्छ । अमेरिका तथा विभिन्न युरोपेली देशमा डेल्टा भेरिएन्टको लहरमा दैनिक जति संक्रमित आएका थिए, ओमिक्रोनमा त्यो संख्या दोब्बरभन्दा बढी देखिएको छ । अमेरिकामा दैनिक ५ लाखसम्म संक्रमित, यूके/फ्रान्समा दैनिक २ लाखसम्म संक्रमित आइसकेका छन् ।

ओमिक्रोन स्वरूपको यो प्रसार दर नेपालमा नहोला कसरी भन्न सकिन्छ ? विगत २ वर्षदेखि कोरोनाका विभिन्न भेरिएन्टको क्रमबद्ध अध्ययन गर्दै आएको अनुभवका आधारमा भन्न बाध्य छु- आउने १२-१५ दिनभित्र नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्छ, यसलाई रोक्न सकिँदैन । हो, सरकार र आमनेपालीजनको संयुक्त प्रयासले यस ग्राफलाई डेल्टा कर्भमा पुग्नबाट रोकेर स्थिति नियन्त्रणमा राख्न सकिन्छ । पशुपतिनाथसँग एउटै प्रार्थना छ- उत्तर प्रदेशका राजनीतिक दल तथा भारतको केन्द्र सरकारलाई ओमिक्रोन भेरिएन्टको लहर समाप्त नभएसम्म चुनाव स्थगित गर्ने सद्‌बुद्धि प्रदान गरून् ।