पाकिस्तानमा भारी हिमपातः २२ जनाको मृत्यु,  सरकारद्वारा विपद् घोषणा

पाकिस्तानमा भारी हिमपातः २२ जनाको मृत्यु,  सरकारद्वारा विपद् घोषणा

एजेन्सी  |  विदेश  |  पुष २५, २०७८

इस्लामाबाद । पाकिस्तानमा हिउँमा पुरिएर कम्तिमा २२ जनाको मृत्यु भएको छ । राजधानी इस्लामावाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरुको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् । 

मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमति र उनीहरुका ६ सन्तान अर्काे पाँच जनाको परिवारसमेत छन् । 

हिउँका कारण अबरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरुको उद्दारमा सेना खटिएको छ । 

सो क्षेत्रमा ठूलो संख्यामा एकै पटक मानिसहरु भ्रमण गर्दा संकट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् । 

पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बीर र भिडियो भाइरल भएका थिए । 

हिउँका कारण सयौं पर्यटकहरु अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।  बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।