अफगानिस्तानमाथिका प्रतिबन्धहरू फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

अफगानिस्तानमाथिका प्रतिबन्धहरू फुकुवा गर्न अमेरिकालाई चीनको आग्रह

एजेन्सी  |  विदेश  |  पुष २७, २०७८

चीनले अमेरिकाद्वारा अफगानिस्तानमाथि लगाइएका नाकाबन्दी एवं विभिन्न प्रकारका प्रतिबन्धहरू फुकुवा गर्न आग्रह गरेको छ । चीनको विदेश मन्त्रालयले सोमबार सो आग्रह गरेको हो । अमेरिकाले पछिल्लो समय अफगानिस्तानमा तालिबान सत्ता आएपछि विभिन्न नाकाबन्दी लगाएको छ ।

हाल अफगानिस्तान निकै अप्ठ्यारो अवस्थामा रहेको, हिमपात तथा चिसोका कारण अफगान नागरिकहरू निकै अप्ठ्यारोमा परेको र मानवीय सहायताको पनि खाँचोे परिरहेकाले अमेरिकालाई सो नाकाबन्दी फिर्ता गर्न आग्रह गरेको हो ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सो आग्रह गरेका हुन् । मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार चिनियाँ विदेश मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले सो आग्रह गरेका हुन् ।

अफगान नागरिक यति बेला निकै कठिन अवस्थामा रहेका र यहाँको आर्थिक अवस्था पनि नाजुक रहेकाले अफगानिस्तानमाथि अमेरिकी सरकारले लगाएका आर्थिकलगायतका विभिन्न नाकाबन्दीहरू फुकुवा गर्नुपर्ने उनको भनाइ थियो ।

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्रीहरू उपलब्ध गराउँदै आएको छ ।