लेबोरेटरी स्कुलको अस्तित्व रक्षा: सरकारको संरक्षकत्व र त्रिविको अविभावकत्वमा सामुदायिक विद्यालय
फर्कलान् र ती दिनहरू
पुष ३०, २०७८

कुनै अतीतका सम्झनाले इतिहासको काम पनि गर्ने रहेछन् किनभने हामी इतिहासका नजानिँदा पात्र पनि त हौँ । इतिहास सबैको हुन्छ किनभने अतीत नै इतिहास हो र इतिहासले अतीतको सम्झना गराउँदै वर्तमानमा बाँच्ने उपाय सिकाउँछ भनिन्छ ।

इतिहासलाई बेग्लै तरिकाले अर्थ्याउन त सकिन्छ तर परिवर्तन भने गर्न सकिँदैन । इतिहासको कुनै कालखण्डमा कोही न कोही पात्र त्यहाँ हुन्छ, जसले इतिहासलाई स्मरण गरिरहेको हुन्छ । कतिले लिपिबद्ध गर्छन् र त अरूले त्यस बेलाका बारेमा थाहा पाउँछन् । मैले अध्यापन गरेका विद्यालय या महाविद्यालयका बारेमा सोच्दा किन बढी नै स्मरण गर्छु लेबोरेटरी स्कुलका बारेमा भने मेरो जेहेनमा त्यहाँका बारेमा केही कुराहरू अझै ताजा छन् । कतिपय स्मरणले बसेको घाउका खाटा उप्काउँछन् त कति सम्झनाले आफ्नो अतीतप्रति गर्व पनि गराउँछन् ।  
आज प्रा.डा. लुना भट्ट जब युनिभर्सिटी अफ सिराक्युजको क्यान्टिनमा बसेर आफ्ना विद्यालयका अनुभव सुनाउँदी हुन् । नेपाली शिक्षाको इतिहासमा पहिलो छोरी, जसले माध्यमिक तहको परीक्षामा २०३८ सालमा एसएलसी प्रथम श्रेणीको सर्वप्रथम भएको सुनाउँदै गर्दा विद्यालयको नाम पक्कै लेबोरेटरी भन्दी हुन् र त्यो इतिहास बनेको क्षणलाई सम्झेर एउटा गर्विलो मुस्कान दिँदी हुन् । अर्थात्, उनको  जीवनको एउटा कोसेढुंगाको रूपमा लेबोरेटरी स्कुल पक्कै रहेको होला ।

२०३१ सालमा  ‘बोर्ड फस्र्ट’ हुने किशोर थापाजी केही वर्ष पहिले मात्र नेपाल सरकारको सचिव भएर निवृत्त हुनुभएको छ । उहाँलाई पनि एसएलसीमा प्रथम श्रेणीमा सर्वप्रथम अर्थात् ‘बोर्ड फस्र्ट’ गरेको अतीतसँग पक्कै मोह होला, जसले उहाँलाई नेपालको एउटा असल इन्जिनियर भएर मुलुकको सेवा गरिरहने अवसर प्राप्त भएको छ । त्यसको जगमा त्यही विद्यालय रह्यो, जसलाई आज पनि लेबोरेटरी विद्यालय भनेर चिन्छन् ।

मैले यसअघि पनि प्रसंगमा लेखेको थिएँ, डा. बैकुण्ठ अर्याल, काठमाडौं विश्वविद्यालयमा उपकुलपति प्रा.डा. भोला थापा, क्यानाडाको क्लालगरीमा बसोबास गरेर बौद्धिक आलोक फिँजाउन सफल निशा धौभडेलले पनि मुलुक सम्झँदै गर्दा आफ्नो दोस्रो महिला बोर्ड फस्र्ट हुने अतीतलाई कसरी बिर्संदी हुन् र त्यस्तै डा. उत्तमकृष्ण श्रेष्ठ, विजयकृष्ण श्रेष्ठ, डा. चक्रराज पाण्डे जस्ताले जब आफ्नो अतीतका बारेमा सम्झलान्, पक्कै लेबोरेटरी विद्यालय आउला उनीहरूको जेहेनमा, जीवनको महत्त्वपूर्ण भागमा । त्यस्तो विद्यालयको भविष्यका बारेमा जब अस्थिरता र अन्योल आउँछ, त्यस बेला हामी सेवा निवृत्त भएका भए पनि शिक्षक तथा पूर्वविद्यार्थीहरूको कर्तव्य हुन जान्छ, त्यसको अस्तित्व जोगाउने कामका बारेमा जसरी पनि लाग्नु जरुरी छ ।

त्यस्ता धेरै शिक्षक तथा विद्यार्थीहरूको अतीतसँग जोडिएको र नेपाली शिक्षाको इतिहासमा शिक्षक शिक्षाका लागि प्रयोगशाला विद्यालयको रूपमा स्थापित स्कुलको अस्तित्व लोप हुँदा कसको चित्त दुख्नेछ भने जसको अस्तित्व लेबोरेटरीको अस्तित्वसँग प्रत्यक्ष र अप्रत्यक्ष जोडिएको हुन्छ ।

मसँग स्वर्गीय प्राध्यापक तथा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति डा. त्रैलोक्यनाथ उप्रेतीले भन्नुभएअनुसार लेबोरेटरी विद्यालयको भवन अहिलेको शिक्षाशास्त्र केन्द्रीय विभागको छेवैमा बनाउने निधो थियो । कलेज अफ एजुकेसनको भवन शिलान्यास गर्ने भनेर वा भवन बनाउनका लागि जुन दिन तोकिएको थियो, त्यस दिन यति धेरै पानी पर्‍यो रे काठमाडौँमा कि शिलान्यासका लागि अमेरिकाबाट आएका अतिथि प्राध्यापक गाडीमा आउन नसक्ने भएर हेलिकोप्टरमा कीर्तिपुरमा अवतरण गर्नुपरेको थियो । अनि, विद्यालयका विद्यार्थीहरूका लागि ल्याउन–लैजान मुस्किल हुने एकातिर भने ठूला विद्यार्थीहरूसँग नराख्ने हो कि भन्ने सल्लाहअनुसार दक्षिणकाली जाने सडकको छेउमा भवन बनाउने निधो भएकाले लेबोरेटरी स्कुल अर्थात् शिक्षक शिक्षाका लागि प्रयोगशाला विद्यालय अलिक दूरीमा बनाउनुपरेको हो ।

जस्तो कि सानोठिमी क्याम्पसको नजिकै छ प्रयोगशाला विद्यालय, जसलाई अहिले आदर्श माध्यमिक विद्यालय भन्ने गरिन्छ । त्यस बेलामा सरकारी बस तथा रसियाली जिप थियो ल्याब स्कुलको, जसको नम्बर बाग्मती अञ्चल ६५ र ३८९ थियो । आदर्श विद्यालयको बसको नम्बर थियो ६६ ।

हिजो पूर्वमन्त्री तथा लेबोरेटरी स्कुलका पूर्वविद्यार्थी केशरबहादुर विष्टले किन आफैँ अध्यक्ष भएको विद्यालयलाई आफैँ अध्यक्ष भएको नेपाल शिक्षा समाजलाई जिम्मा लगाउनुभयो । यो पनि बिर्सनुपर्ने भयो कि लिटिल एन्जेल्सका संस्थापक उमेश श्रेष्ठले व्यवस्थापनको जिम्मा लिनुभयो, त्रिविको सम्पत्ति भनेर थाहा पाएर पनि त्यो  सम्पत्तिको संचालनका लागि विश्वासमा नभएर विवादका बीचमा सार्वजनिक ट्रष्ट खडा गर्ने काम भएको थियो

अर्थात् सरकारले नै लेबोरेटरी विद्यालयको स्थापना गरेको थियो, जसको शिक्षक शिक्षाको प्रयोगशालाको रूपमा काम गर्न भनेर उद्देश्य राखिएको थियो । एकातिर शिक्षकहरूका लागि प्रयोगशाला हुन्थ्यो भने शिक्षा मनोविज्ञानका आधारमा विद्यार्थीहरूलाई गुणात्मक शिक्षा दिइन्थ्यो भन्ने कुरा पहिलो पटक २०२० सालमा एसएलसी दिँदा पनि बोर्डमा आएको थियो, २०३१ सालमा ‘बोर्ड फस्र्ट’, २०३४ र २०३५ सालमा ‘बोर्ड फस्र्ट’, २०३६ सालमा चक्रराज पाण्डे र विद्या पराजुलीले बोर्ड छैटौँ, २०३८ सालमा पहिलो महिला ‘बोर्ड फस्र्ट’ लुना भट्ट, २०३९ सालमा दोस्रो ‘बोर्ड फस्ट’ महिलामा निशा धौभडेल, बोर्डमा दोस्रो शिरीष भट्ट (लुनाकी बहिनी)सहित अरू ५ जना पनि बोर्डमा आएका थिए ।

प्रभास श्रेष्ठ बोर्डमा दोस्रो र कृष्णराज भण्डारीले बोर्डमा दशौँ स्थान ल्याएका थिए । अरू कतिपयको स्थान र नाम मैले बिर्सेको हुँला किनभने धेरै वर्ष भयो । अर्थात्, एउटा शैक्षिक इतिहास भएको र शिक्षक शिक्षाको ऐतिहासिक विद्यालय कसको हो भन्ने विषयमा अहिले आएर विवाद हुनु नहुने हो । स्पष्ट छ, लेबोरेटरी स्कुल नेपाल सरकारको सम्पत्ति हो, जसको इतिहासमा त्रिभुवन विश्वविद्यालयको पृष्ठभूमि छ किनभने शिक्षाशास्त्र अध्ययन संस्थान वा कलेज अफ एजुकेसनको स्थापना त्रिविभन्दा पहिले २०१३ सालमा भएको थियो ।

त्रिविका अन्य संरचनाभन्दा पहिले कलेज अफ एजुकेसनको संरचना तयार भएको थियो कीर्तिपुरमा । अनि, शिक्षक शिक्षाका लागि कलेज र विद्यालयको एउटै बजेट, एउटै तहमा  शिक्षकहरू र कर्मचारीहरूको सेवा, एउटै कभर्ड हलको व्यवस्था गरिएको रहेछ । करिब १०९ रोपनी जग्गा छुट्याएर दिएको रहेछ विद्यालयको भोग चलनका लागि । वास्तवमा जब कलेज र स्कुल एउटै शिक्षक शिक्षारूपी शरीरका २ वटा अंग भएका थिए भने तिनको भिन्नता कसरी संभव थियो र ? तर, परिवर्तित ऐन र नियमले जेजे भएको भए पनि समग्रमा ल्याब स्कुल रहेको जमिन त्रिविको हो र लेबोरेटरी स्कुलको भोगचलनको पनि हो ।

त्रिवि भन्नु र लेबोरेटरी स्कुल भन्नुमा शैक्षिक अर्थमा कुनै भिन्नता रहँदैन तर जब अस्तित्वको प्रश्न आउँछ, फरक फरक अस्तित्वका रूपमा देखिन्छन् यी किनभने सरकारले त्यो विद्यालयको संरक्षकत्व छाडेको पाइन्छ । कहिले निजी भन्ने, कहिले त्रिविलाई नसोधी लिजमा गैरसरकारी संस्थालाई १५ वर्ष तोकेर करारमा दिने र कहिले त्रिविको जमिनमा सामाजिक गुठी खोलेर जमिनको स्वामित्वमा विवाद गर्ने ? यसले नयाँ राजनीतिक विवाद उब्जाएको पक्कै हो तर के कुरामा हामी विश्वस्त छौँ भने यसको सकारात्मक निक्र्योल अब निस्कनेछ छिटै ।

अब उपाय  के हो त ?

आजसम्म जेजे भएको भए पनि नेपाली शैक्षिक इतिहासमा शिक्षक शिक्षाको जुन महत्त्व छ, त्यसको जीवित इतिहास लेबोरेटरी स्कुल हो, जसलाई सुरुमा ‘डेमोन्स्ट्रेसन स्कुल’ पनि भनिन्थ्यो । चेत भवनमा स्थापित थियो, जहाँ दृष्टिविहीनहरूका लागि एकीकृत विद्यालयका रूपमा एसिया प्रशान्त क्षेत्रको पहिलो विद्यालय पनि हो । त्यसको अस्तित्व भनेको विद्यालयको ख्याति मात्र लिएर बाहिर कतै संचालन गर्ने पक्कै राम्रो होइन । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नै छ शिक्षाशास्त्र संकायको डिनको कार्यालय ।

कीर्तिपुरमै त्यो विद्यालयको अस्तित्व, त्यही ठाउँमा कायम गरेर राख्नु जरुरी छ । त्रिविको अभिभावकत्व, शिक्षाशास्त्र संकायको एउटा अभिन्न अंग अनि नेपाल सरकारको संरक्षकत्वमा रहनुपर्छ । अर्थात्, विद्यालयको सम्पूर्ण खर्च नेपाल सरकार, कीर्तिपुर नगरपालिका र विद्यार्थीहरूबाट प्राप्त सामान्य सेवा शुल्कबाट चलाउनुपर्छ । विद्यालयको संचालन कार्य त्रिवि र नेपाल सरकारको सहमति र समन्वयमा हुनुपर्छ, जसमा पूर्वशिक्षक, पूर्वविद्यार्थीहरू, अभिभावकहरूको प्रत्यक्ष संलग्नतामा गठन भएको एउटा बोर्डले चलाओस् ।

पक्कै नै, लेबोरेटरी स्कुलका बारेमा विवाद नहोस्, विद्यालयको अस्तित्वमा कुनै संकट नआओस् भन्ने संवेदनशील कुरामा सबैको ध्यानचाहिँ पुग्नै पर्छ ।

अब हामीले के पनि बिर्सनुपर्छ भने, हिजो पूर्वमन्त्री तथा लेबोरेटरी स्कुलका पूर्वविद्यार्थी केशरबहादुर विष्टले किन आफैँ अध्यक्ष भएको विद्यालयलाई आफैँ अध्यक्ष भएको नेपाल शिक्षा समाजलाई जिम्मा लगाउनुभयो । यो पनि बिर्सनुपर्ने भयो कि लिटिल एन्जेल्सका संस्थापक उमेश श्रेष्ठले व्यवस्थापनको जिम्मा लिनुभयो, त्रिविको सम्पत्ति भनेर थाहा पाएर पनि त्यो  सम्पत्तिको संचालनका लागि विश्वासमा नभएर विवादका बीचमा सार्वजनिक ट्रष्ट खडा गर्ने काम भएको थियो र विवादका लागि विवाद गर्ने काम भएको थियो ।

त्रिविले न विद्यालयलाई त्यहाँबाट हटाउने नै भनेको होला, न त त्रिविविले चाहेर पनि भोगाधिकार लेबोरेटरी स्कुललाई दिन नै सक्ला । तर, केचाहिँ हुन सक्छ भने, विद्यालयको अभिभावकत्व त्रिविको, संरक्षकत्वचाहिँ नेपाल सरकारको सामुदायिक विद्यालयको रूपमा रहने अनि विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको भविष्यको जिम्मा नेपाल सरकार वा स्थानीय सरकारको हुने भन्ने हुनुपर्छ । लेबोरेटरीले पनि मेरो ५५ वर्षदेखिको भोग गरेको जग्गा भनेर मात्र पनि हुँदैन र एउटा अतीतको ऐतिहासिक तथा गौरवशाली इतिहास भएको विद्यालयको अस्तित्व समाप्त पार्नेतिर पनि कोही लाग्नुहुँदैन भन्ने एउटा पुरानो शिक्षकका नाताले दिने सल्लाह हो मेरो ।

मैले त्यो पनि अब बिर्सें कि कसले किन मलाई के कारणले अपमान गरेको थियो । मैले त्यो विद्यालयमा बस्दा पनि त्यो विद्यालयको अस्तित्वका बारेमा बोलिरहेको थिएँ, त्यहाँका शिक्षक तथा कर्मचारीहरूको हितमा बोलिरहेको थिएँ र नेपाल शिक्षा  समाजको जिम्मा दिने काम नै अवैध हो भन्ने कुरा अडिग थिएँ । तर, मलाई दिउँसोभरि विद्यालयमा विद्यार्थीहरूको वार्षिक परीक्षाको परिणाम प्रकाशन गरेर घरमा आएको साँझ सरुवा गरिएको पत्र पाएको थिएँ । मैले बुझेको के हो भने मेरा प्रश्नहरूको उत्तर त्यसरी दिइयो कि अब म त्यो विद्यालयमा हाजिर नहोऊँ । नभन्दै म सरुवा हुनु थियो, भएँ । तर, विद्यालयको अस्तित्वका बारेमा आज पनि प्रश्न उठेको रहेछ, त्रिवि र विद्यालयका बीचमा निर्णयविहीन अवस्थामा अझै रहेछ ।

मेरो सल्लाह छ, सुझाव छ– त्रिविका सहकुलपति शिक्षामन्त्री देवेन्द्र पौडेलजीलाई, त्रिविका उपकुलपति डा. धर्मकान्त बाँस्कोटाजीलाई र शिक्षाशास्त्र संकायका डिनज्यूलाई, लेबोरेटरी स्कुलका प्रधानाध्यापक डा. लाक्पा शेर्पालाई कि यो समस्या ‘जीत–जीत’को उपायद्वारा समाधान गरियोस् र हजारौँ विद्यार्थीको प्रमाणपत्रको आधिकारिक संस्थाको अस्तित्व जोगाइयोस् ।

क्रमशः


अधिकारी दर्शन, राजनीति र साहित्यमा कलम चलाउनुहुन्छ ।