भारतीय चुनावी प्रचारकाे माहाेल भाजपाको पक्षमा

भारतीय चुनावी प्रचारकाे माहाेल भाजपाको पक्षमा

सरोज ज्ञवाली  |  दृष्टिकोण  |  जेठ १, २०७६

भारतमा जारी लोकसभा चुनावअन्तर्गत ६ चरणको चुनाव सम्पन्न भइसकेको छ । अब अन्तिम तथा सातौं चरणको चुनाव मात्रै बाँकी छ, जुन आगामी मे १९ मा हुँदैछ । 

सातौं चरणमा ८ राज्यका ५९ सिटमा चुनाव हुँदैछ, जसमध्ये पञ्जाव र उत्तरप्रदेशमा १३–१३, पश्चिम बंगालमा ९, विहार र मध्यप्रदेशमा ८–८, हिमाचल प्रदेशमा ४, झारखण्डमा ३ र चंटोगढमा १ सिट छन् । 

चुनावको एक चरण मात्रै बाँकी रहँदा आम जनतालाई कुन पार्टीले कति सिट जित्छ भन्ने चासो देखिनु स्वभाविकै हो । यद्यपि, यसको छिनोफानो मे २३ मा हुँदैछ । त्यसपछि मात्रै भावी प्रधानमन्त्री र सरकारको स्वरूप निर्धारण हुनेछ । 

चुनाव हुनुभन्दा करिब दुई महिनाअघि गरिएका पोलिङ सर्भेलाई विश्लेषण गर्ने हो भने भारतीय जनता पार्टी (भाजपा)ले नेतृत्व गरेको एनडिए गठबन्धनले सरकार बनाउने देखिएको छ । कांग्रेसले दोस्रो नम्बरमा छ । यी सर्भेलाई आधार मान्ने हो भने भाजपाले २४०–२८० सिट जित्ने अनुमान गरिएको छ । तर, अहिले माहोलमा  परिवर्तन आइसकेको छ । त्यसकारण भिन्नै नतिजा आउने कतिपयको आँकलनलाई पनि स्वभाविक मान्न सकिन्छ । अहिलेको अवस्था हेर्दा भाजपाले पहिला गएिका पोलिङ सर्भेले आँकलन गरेकोभन्दा बढी सिट जित्ने सम्भावनाको अट्कल काट्न थालिएको छ । 

अहिलेको अवस्था हेर्दा भाजपाले पहिला गएिका पोलिङ सर्भेले आँकलन गरेकोभन्दा बढी सिट जित्ने सम्भावनाको अट्कल काट्न थालिएको छ । 

पछिल्लो समयमा आएर चुनावी प्रचार शैली  पनि बदलिएको छ । टेलिभिजन, रेडियो र सामाजिक सञ्जालमार्फत् चुनाव प्रचार भइरहेको छ । टेलिभिजनमार्फत् सशक्तरूपमा चुनाव प्रचार गर्नेमा भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आई अगाडि देखिएका छन् । यी पार्टीका नेताले अन्तर्वार्तालाई पनि चुनाव प्रचार गर्ने माध्यम बनाएका छन् । 

सबैभन्दा रोचक पक्ष के छ भने प्रत्यक्ष अन्तर्वार्ता दिन नरुचाउने प्रधानमन्त्री नरेन्द्र मोदीका अन्तर्वार्ता कतिपय टेलिभिजनमा प्रशारित भए । जिटिभी, आजतक, एबिपीलगायत टेलिभिजन च्यानलमार्फत् उनले आफ्ना भनाई आमजनतासामु राखे । बलिउड स्टार अक्षयकुमारसँग उनको अन्तर्वार्ता त एकदमै चर्चित हुन पुग्यो । 

उनले अन्तर्वार्तामा राष्ट्रवादको मुद्दा, सर्जिकल स्ट्राइक तथा एअर स्ट्राइकबारे बोलेका थिए । यस्तै, विपक्षी खेमाका कमजोरी पनि उनले  राम्रोसँग उजागर गर्ने मौकाको रुपमा सदुपयोग  गरेको पाइन्छ । 

चुनावी माहोलमा दिइएका यी  र यस्ता अन्तर्वार्ताले चुनावलाई भाजपाको पक्षमा प्रभाव पार्ने निश्चित छ । 

टेलिभिजनमा मोदीको अन्तर्वार्ता धमाधम आएपछि कांग्रेस आइका अध्यक्ष राहुल गान्धीले पनि एक टेलिभिजनलाई अन्तर्वार्ता दिए । तर, उनका अन्तर्वार्ता फिक्का सावित भयो । उनमा रहेको राजनीतिक अपरिपक्कता र उनमा विषयगत ज्ञान अभावका कारण फिक्का हुनको कारणका रुपमा लिइएको छ ।

राहुल गान्धीको भन्दा उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवको अन्तर्वार्ता धेरैले रुचाएको पाइएको थियो । 

उग्र स्वभावकी पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीको अन्तर्वार्ताले पनि खासै प्रभाव जमाउन सकेको पाइएकको छैन ।  यसको कारण थियो– उनमा हिन्दी तथा अंग्रेजी भाषाको पूर्ण दख्खल र सौम्यता नहुनु । 

त्यसकारण भाजपा अन्य पार्टीभन्दा मिडिया प्रयोगमा सफल देखिएको छ । 

टेलिभिजनका अन्तर्वार्तामा मात्र होइन, आमसभा र र्‍यालीमा पनि भाजपाको नै प्रभाव देखिन्छ । भाजपाले आयोजना गरेको आमसभा तथा र्‍यालीमा उल्लेख्य सहभागिताले यसलाई पुष्टि गर्छ । मोदी सहभागी भएको बनारस रोड सोमा करिब ६ लाख जनता सहभागी रहेको अनुमान गरिएको थियो भने यो रोड सो देशभर चर्चित समेत हुन पुग्यो । 

तर, कांग्रेस अध्यक्ष राहुल गान्धी तथा महासचिव प्रियंका गान्धी सहभागी यालीमा भने खासै जनसहभागिता देखिँदैन ।

राहुल गान्धीले भाषणमा मोदीलाई लक्षित गरी गाली तथा आरोप लगाउने गरेकाले केही हदसम्म भिड जुटाउन सहयोग मिलेको छ । सक्रिय राजनीतिमा पछि आएकी प्रियंका गान्धीको रोड सोमा भने राहुलको भन्दा केही बढी भिड देख्न सकिन्छ । 

कांग्रेसका नेता सोनिया गान्धी र दिग्विजय सिंहका आमसभामा पनि खासै भिड देखिँदैन । 

चुनावी सभालाई सम्बोधन गर्ने कलामा पनि मोदीको अरुसँग तुलना गर्न मिल्दैन । यसको कारण हो– मोदीको व्यक्तित्व तथा भाषागत शैली । यही कारण उनका चुनावी सभामा आमजनताको भीड देखिन्छ । 

उनले राजिव गान्धीप्रति गरेको टिप्पणीले कांग्रेसको मत घटाउने सम्भावना छ ।

मोदीले राजिव गान्धीबारे दिएको वक्तव्यले कांग्रेसको मत घटाउने सम्भावना देखिएको छ ।  मोदीले राजिव गान्धी ‘एक नम्बरको भ्रष्टाचारी’ भएको तथा उनले भारतीय सैनिक युद्धपोतलाई निजी सवारीसरह बिदा मनाउनमा प्रयोग गरेको आरोप लगाएका थिए । 

कांग्रेस नेता साम पित्रोदाको सिख दंगाबारेको वक्तव्यले चुनावमा कांग्रेस नै घाटा पुग्ने देखिएको छ । जसरी सन् २०१४ मा मणिशंकर ऐयरको ‘चायावाला’को वक्तव्य भाजपाका लागि चुनावी ट्रमकार्ड भएको थियो, त्यसरी नै अहिले पनि पित्रोदाको वक्तव्य भाजपाका लागि ट्रमकार्ड बन्ने देखिन्छ । 

तृणमूल कांग्रेसको गढ मानिएको पश्चिम बंगालमा भएको हिंसा र अराजकताका कारण भाजपालाई फाइदा हुने देखिन्छ । 

युरोपियन युनियनले हालै अजहर मसूदलाई आतंकवादी घोषणा गरेपछि यसको फाइदा भाजपालाई पुग्ने देखिन्छ । 

माथिका यी घटनाका कारण भाजपालाई चुनावी माहोल आफ्नो अनुकूल बनाउन फाइदा पुगेको देखिन्छ । भाजपाले पोलिङ सर्भेले देखाएको सिटभन्दा भन्दा भाजपाले थप ४०–५० सिट बढी ल्याउने सम्भावना छ ।