कजाकिस्तान हिंसामा २२५ जनाको मृत्यु

कजाकिस्तान हिंसामा २२५ जनाको मृत्यु

एजेन्सी  |  विदेश  |  माघ २, २०७८

कजाकिस्तानमा एक साता लामो हिंसामा २२५ जनाको मृत्यु भएको छ । इन्धनको मूल्य वृद्धिविरुद्ध भएको प्रदर्शनमा उनीहरूको मृत्यु भएको सरकारले पुष्टि गरेको हो । ‘आपतकालको समयमा मारिएका २२५ शवको अन्त्येष्टि भएको छ’, अभियोजनकर्ताको कार्यलयका एक अधिकारीले भने । प्रदर्शनका क्रममा मारिएका सर्वसाधारणको सेनाले सामूहिक अन्त्येष्टि गरेको सर्वसाधारणले बताउँदै आएका थिए । 

मृत्यु हुनेमा २० जना सुरक्षाकर्मी पनि छन् । यसअघि सेनाले ५० जनाको मृत्यु भएको जनाएको थियो । हिंसा चर्किंदै गएपछि कजाकिस्तानका राष्ट्रपतिको आह्वानमा आन्दोलन दबाउन रुसी नेतृत्वको सेना परिचालन भएको थियो ।

प्रदर्शन हिंसात्मक बन्दै गएपछि सरकारले हतियार नबिसाउने प्रदर्शनकारीलाई गोली हान्ने आदेश दिएको थियो ।