'कोभिड तत्काल अन्त्य हुने संकेत देखिँदैन'

'कोभिड तत्काल अन्त्य हुने संकेत देखिँदैन'

एजेन्सी  |  विदेश  |  माघ ५, २०७८

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड संक्रमण अन्त्यको संकेत नदेखिएको जनाएको छ । फ्रान्स, जर्मनी, ब्राजिललगायतका देशमा नयाँ संक्रमितको संख्याले रेकर्ड तोडिरहेका बेला डब्लूएचओको भनाइ आएको हो ।

कोभिडको उच्च संक्रमित नयाँ भेरिएन्ट ओमिक्रोनले विश्वलाई ढाकेको र विभिन्न देशका सरकारहरूले प्रतिबन्धात्मक कदम चालिरहेका छन् । अधिकांश देशहरूले कोभिडविरुद्धको बुस्टर डोज दिन थालेका छन् । 

‘यो महामारीको अन्त्य हुने संकेत देखिदैन’, डब्लूएचओको प्रमुख टेड्रोस एडहानोम घिब्रिससले जेनेभामा आयोजित एक कार्यक्रममा भने ।  

पछिल्लो समय युरोप महामारीको मुख्य केन्द्रबिन्दु बनेको छ । फ्रान्समा मंगलबार एकै दिन ५ लाख संक्रमित भएका थिए भने जर्मनीमा पछिल्लो २४ घन्टामा एक लाख जनामा संक्रमण देखिएको छ । युरोपका अन्य देशहरूमा पनि संक्रमण दर तीव्र फैलिएको छ ।

ओमिक्रोनलाई सामान्य आँकलन नगर्न भन्दै घिब्रिससले नोभेम्बरमा दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको महामारी ल्याटिन अमेरिकाबाट पूर्वी युरोपमा फैलिएको बताएका छन् । 

‘औसतमा ओमिक्रोन कम घातक हुन सक्छ तर यसको फैलने क्षमता तीव्र छ’, उनले भने ।