अमेरिका युरोपेली देशझैँ नेपालमा परीक्षण गर्ने हो भने संक्रमित संख्या दिनकै २५-३० हजार नाघ्नेछ

अमेरिका युरोपेली देशझैँ नेपालमा परीक्षण गर्ने हो भने संक्रमित संख्या दिनकै २५-३० हजार नाघ्नेछ

ज्ञानमित्र  |  दृष्टिकोण  |  माघ ५, २०७८

२२ पुसयता नेपाल निरन्तर युरोप पथमा अगाडि बढिरहेको छ । कोरोनाको नयाँ अवतार ओमिक्रोन भेरिएन्टले युरोपका विभिन्न देशलगायत अन्य विभिन्न देशमा कोरोना संक्रमणको पुरानो रेकर्ड ब्रेक गर्दै नयाँ कीर्तिमान स्थापित गरेझैँ  नेपालमा पनि यही परिस्थिति देखापरेको छ । नेपालभन्दा झण्डै दोब्बर जनसंख्या भएका जर्मनी, फ्रान्स, इटाली, स्पेन, यूके आदि देशमा ओमिक्रोन भेरिएन्टका कारण दैनिक २ देखि ३ लाखसम्म नयाँ संक्रमित देखापरे ।

यी देशमा संक्रमण प्रसारले विगतका सबै रेकर्ड ध्वस्त गर्‍यो  ।

४ माघ मंगलबारका दिन नेपालमा पनि एक दिनमा सर्वाधिक कोरोना संक्रमित आएर पुरानो रेकर्ड ब्रेक भएको छ ।  नेपालमा दोस्रो लहरताका एक दिनमा सर्वाधिक संक्रमित संख्या ७ हजारभन्दा बढी रहेको थियो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराउने तथ्यांकका अनुसार ४ माघमा नेपालमा एकै दिनमा (गत २४ घण्टामा) १० हजार २५८ नयाँ संक्रमित भेटिएका छन् ।

कुल २२ हजार ८२८ परीक्षण हुँदा देशमा १० हजार २५८ जना संक्रमित फेला परेका छन् । यो भनेको कोरोना पोजिटिभिटी रेट ४५ प्रतिशत  हुनु हो । पीसीआर परीक्षणको कुरा गर्ने हो भने यस अवधिमा कुल १७ हजार ८७२ परीक्षण सम्पन्न हुँदा ८ हजार ७३० जनामा संक्रमण रहेको प्रमाणित भएको छ । यो भनेको कोरोना पोजिटिभिटी रेट ४९ प्रतिशत पुगेको हो । २ जना संक्रमण परीक्षण गर्न जाँदा एक जना संक्रमित देखिने क्रम सुरु भएको छ नेपालमा । यो अत्यन्त डरलाग्दो स्थिति हो ।

प्रदेशअनुसार संक्रमण विश्लेषण गर्दा प्रदेश एकमा एक हजार ७९० परीक्षण हुँदा ९८५ संक्रमित भेटिएका छन् । कोरोना पोजिटिभिटी रेट ५५ प्रतिशत पुगेको छ प्रदेश नम्बर १ मा । प्रदेश २ को हालत रामभरोसे नै छ । २ नम्बर  प्रदेशमा २०२ परीक्षण हुँदा संक्रमित संख्या १५१ रहेको छ । पोजिटिभिटी रेट ७५ प्रतिशत पुग्दा प्रदेशभर जम्मा २०२ परीक्षण हुनु  सायद यसभन्दा निकम्मा राज्यसंयन्त्रको कल्पना गर्न सकिँदैन । प्रदेशभर रहेका ८ ठाउँमा कोरोना पीसीआर परीक्षण केन्द्रमध्ये ५ ठाउँमा मात्र परीक्षण भइरहेको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा १९ पीसीआर हुँदा १० जना संक्रमित, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा ८३ पीसीआर हुँदा ७६ जना संक्रमित, नारायणी अस्पताल वीरगंजमा ५१ पीसीआर हुँदा ३६ जना संक्रमित, गौर अस्पतालमा १४ परीक्षण हुँदा ५ जना संक्रमित, सिरहा अस्पतालमा ५ वटा परीक्षण हुँदा ३ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको बुलेटिनले प्रकाशित गरेको छ । कहाँ छ प्रादेशिक सरकार, कहाँ छ केन्द्रीय सरकार ?

गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा पनि परीक्षण अतिन्यून संख्यामा भइरहेका छन् । भएका परीक्षणबाट स्पष्ट प्रमाणित छ कि यी प्रदेशमा पनि कोरोना पोजिटिभिटी रेट ५० प्रतिशतभन्दा माथि पुगिसकेको छ ।

बाग्मती प्रदेशको हालत फरक छैन । प्रदेशभर गत २४ घण्टामा १४ हजार २०७ परीक्षण हुँदा ६ हजार ७१७ जनामा संक्रमण पुष्टि भएको छ । उपत्यकाका तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ । स्मरणीय छ, देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ हुँदा ३ जिल्लामा मात्र सक्रिय संक्रमित संख्या २४ हजार ५७६ रहेको छ ।

एक जना फेसबुक प्रयोगकर्ता उमेश ढकालको स्टाटसबाट स्थिति बुझौँ । उनी लेख्छन्-

'दोस्रो खोप लगाएको ३ महिना नहुँदै र पहिलो  पटक संक्रमित  भएको ५ महिनामा पुन: परीक्षण गर्दा मेरो आजको रिपोर्ट पोजिटिभ  देखियो । सम्पर्कमा रहनुभएका सबैलाई सावधानीको लागि अनुरोध छ ।'

४ माघमा टेकु अस्पतालको छेउबाट गुज्रिँदा त्यहाँको स्थिति हेर्दा देशका नीति निर्माताको बुद्धि-विवेक कुन स्तरको रहेछ प्रमाणित भयो । भ्याक्सिनको बुस्टर डोज लिनका लागि हुलका हुल मानिस भेला भएका थिए टेकु अस्पताल वरिपरि ।  सायद यो हालत बुस्टर डोजका लागि तोकिएको अन्य केन्द्रमा पनि होला ।

भ्याक्सिन लिएको २०-२१ दिनपछि यदि भ्याक्सिनले व्यक्तिमा काम गरेको छ भने संक्रमणविरुद्ध लड्ने एन्टिबडी बन्छ । भ्याक्सिन लिन जाने क्रममा कोही संक्रमित भयो भने लाएको भ्याक्सिनले तत्काल नै सुरक्षा दिँदैन । नेपालमा आउने २०-२५ दिनसम्म ओमिक्रोन  भेरिएन्टको 'पिक' रहने अनुमान छ


सुरक्षाका लागि दिइने बुस्टर डोज यति असुरक्षित पाराले वितरण गर्नु 'आ बैल, मुझे मार'बाहेक केही होइन । सर्वसाधारणले पनि बुझ्नुपर्‍यो कि आज लगाएको बुस्टर डोजले काम गर्‍यो भने पनि २०-२२ दिन पछि गर्छ । २०-२२ दिनपछि कोरोनाको 'पिक' आफैँ कम हुन्छ । त्यो बेला सुरक्षित ढंगले बुस्टर डोज लिनु बुद्धिमानी हुनेछ । बुस्टर डोज लिन जाँदा नै संक्रमित भएको खण्डमा (भीडभाडले गर्दा) तपाईंले लगाएको भ्याक्सिनले कुनै सुरक्षा दिँदैन ।

बुस्टर डोजका लागि मारामार गर्नुको सट्टा घरमा सुरक्षित बसेर संक्रमित हुनबाट जोगिन सकिन्छ ।सबैलाई थाहा छ- भ्याक्सिन लिएको २०-२१ दिनपछि यदि भ्याक्सिनले व्यक्तिमा काम गरेको छ भने संक्रमणविरुद्ध लड्ने एन्टिबडी बन्छ । भ्याक्सिन लिन जाने क्रममा कोही संक्रमित भयो भने लाएको भ्याक्सिनले तत्काल नै सुरक्षा दिँदैन । नेपालमा आउने २०-२५ दिनसम्म ओमिक्रोन  भेरिएन्टको 'पिक' रहने अनुमान छ । बुस्टर डोज दिने नाममा सरकारले आफैँ भीडभाड निम्त्याएको छ । अहिलेका लागि सुरक्षित ढंगले स्वास्थ्यकर्मी र अन्य जोखिममा रहेर फ्रन्ट डेस्कमा काम गर्नेबाहेक कसैलाई बुस्टर डोज दिनु आवश्यक छैन ।

ओमिक्रोन  भेरिएन्ट विगतको भेरिएन्टको तुलनामा ४-५ गुणा बढी संक्रामक रहेको त प्रमाणित नै भइसक्यो । विगतको भेरिएन्टको तुलनामा यो कतिको घातक अथवा के कस्तो छ, यसबारे थाहा हुन अझै १२-१५ दिन पर्खिनुपर्ने हुन्छ । ४ माघको तथ्यांकअनुसार देशमा ३९ हजार ४४ जना सक्रिय संक्रमित हुँदा अस्पतालमा भर्ना हुने संक्रमितको संख्या आईसीयूमा १५१ जना र भेन्टिलेटर सपोर्टमा २८ जना संक्रमित रहेका छन् ।

काठमाडौं उपत्यकाका सरकारी अस्पतालमा संक्रमितका लागि रहेका ६४० जनरल शय्यामध्ये २३५, एचडीयू शय्या ७०० मध्ये ३२६, आईसीयू शय्या २१५ मध्ये ६२ र भेन्टिलेटर १५७ मध्ये १५ वटा संक्रमितले भरिएका छन् ।

लहर सुरु भएको १०-१२ दिनमै  ०.५ प्रतिशत संक्रमितलाई चिकित्सा सुविधा आवश्यक भइसकेको छ । आउने १०-१२ दिनमा अस्पताल भर्ना हुने, चिकित्स्कीय सुविधा चाहिनेको संख्या वृद्धि हुन सक्छ । विगतमा अस्पताल क्षमताको ५० प्रतिशत शय्या संक्रमितले भरिनासाथ देशमा त्रास र आतंकको स्थिति सिर्जना भएको थियो । यो अवस्था पुनः नआउला भन्न सकिँदैन ।

अमेरिकामा चिकित्साकर्मी स्वास्थ्यकर्मी नै अत्यधिक संख्यामा संक्रमित हुँदा सैनिक नै परिचालित गर्ने अवस्था आएको थियो । नेपालका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी पनि ठूलो संख्यामा संक्रमित भइरहेको समाचार आइरहेका छन् । अमेरिकाको स्थिति नेपालमा पनि आउन सक्ने संभावना छ । राज्यका सबै निकायले यसबारे अहिलेदेखि नै चिन्तन मनन गर्नु आवश्यक भएको छ ।

सरकारले अन्य सबै कुराका पछाडि नलागेर संक्रमण परीक्षण वृद्धि गर्नमा ध्यान केन्द्रित गरे नै भलाइ हुन्छ । सरकार र सरकारका मन्त्रीहरूले जति फुर्ती लगाए पनि संक्रमितका लागि छुट्याइएका शय्या ५० प्रतिशत ओगटिएको भोलिपल्ट नै सरकार लकडाउन  घोषिणा गर्न बाध्य हुन्छ । सर्वसाधारणको सहयोगबिना अब राज्यले संक्रमण नियन्त्रण गर्न सक्दैन ।

सर्वसाधारणले कुनै किसिमको हेलचेक्र्याइँ नगरी सुरक्षित रूपमा घरमा बस्नु नै श्रेयस्कर हुन्छ । कुनै किसिमको लक्षण देखिनासाथ आफूलाई घरमै आइसोलेट गरी अविलम्ब संक्रमण परीक्षण गराउनुपर्छ । यो लेख लेख्दासम्म सम्पर्कमा रहेका धेरै जना मित्र संक्रमित भइसकेको थाहा पाएको छु । आउने केही दिनमा यो क्रम अझै वृद्धि हुन्छ । अमेरिका युरोपेली देशझैँ नेपालमा परीक्षण गर्ने हो भने संक्रमित संख्या दिनकै २५-३० हजार नाघ्नेछ ।