देशका भीआईपीहरूले पनि आयुर्वेदबाट लाभ प्राप्त गरेका छन् तर यो कुरा किन सार्वजनिक गर्दैनन् ?

देशका भीआईपीहरूले पनि आयुर्वेदबाट लाभ प्राप्त गरेका छन् तर यो कुरा किन सार्वजनिक गर्दैनन् ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  माघ ७, २०७८

कोरोना  भाइरसको उदय भएदेखि २५ जनवरी २०२० देखि यसको स्वअध्ययन गर्दै आएको छु । अहिलेसम्म यसबारे देशसञ्चार, रातोपाटी, नेपालन्युज, सरलपत्रिका, केन्द्रबिन्दु, आयोमेल, कोशीअनलाइन, लोकसंवाद अनलाइनमा र नयाँ पत्रिका दैनिकमा गरी १५० वटाभन्दा बढी लेख लेखेको छु । विभिन्न अनलाइन टीभीका लागि डा. शेरबहादुर पुन, डा. रवीन्द्र समीर, डा.  विपीन नेपाल, डा. अनुप सुवेदी, डा. अनुप बाँस्तोला, डा. सुनील शर्मा आदिसँग अन्तर्वार्ता गरेको छु ।

दिनमा झण्डै ३-४ घण्टा कोरोना संक्रमणबारे विभिन्न अनलाइनदेखि प्रकाशित अन्य सामग्री हेर्ने क्रम आजसम्म जारी छ । भाइरसको पछिल्लो अवतार ओमिक्रोनबारे प्रारम्भदेखि नै पाएसम्मको जानकारी बटुल्दै लेख्ने निरन्तरता दिँदै आएको छु । ओमिक्रोन आएयता नै  झण्डै १५० वटा लेख प्रकाशन भइसकेका छन् ।

मलाई संसारभर भएका संक्रमण तथा यसको प्रभाव र परिणामले कुनै अचम्म लागेको छैन । भाइरस पृथ्वीमा हामी होमो सेपियन्सको अस्तित्व हुनुभन्दा पहिलाको प्राकृतिक संरचना अथवा प्रक्रिया हो । यसलाई जीवित संरचना (प्राणी-पादप) भनौँ भने ठीक हुँदैन । फेरि निर्जीव अथवा वस्तु पनि भन्नु उचित कहाँ हुन्छ र ? समुचित वातावरण (होस्ट कोशिका) नपाएसम्म फगत न्युक्लिक एसिडको क्षुद्रतम्, सूक्ष्मतम् कण हो तर एक पटक होस्ट कोशिकामा पुगेपछि आफ्नो अनन्त कपी गर्न सक्ने सक्षम प्रकृतिको अद्भुत करिष्मा !

आफ्ना प्रतिकृति तयार गर्न मैथुनीय प्रक्रिया आवश्यक नपर्ने अचम्मको सृष्टि ! होस्ट कोशिकाको प्रोसेसलाई ह्याक गरेर त्यहाँ उपलब्ध विशेष प्रोटिनको सहायताले आफ्ना लाखौँ कपी तयार गरेर कोशिकासँग सम्बन्धित अंगको कार्य  प्रणाली नै ध्वस्त बनाई (आफ्नो जनसंख्या बढाएर) संक्रमितलाई मृत्युसम्म पुर्‍याउन सक्ने गजबको 'इन्टेलिजेन्स' बोकेको प्राकृतिक थोपो अथवा कण अथवा बिन्दु ।

योभन्दा गजबको कुरा त के भने, यसले आफ्नो विपुल जनसंख्या वृद्धि नहुँदासम्म संक्रमितलाई नमार्ने अर्थात् पहिला आफ्नो "रिइन्फेक्सन रेट' वृद्धि गर्दै जाने (प्रारम्भमै भएका संक्रमितको ज्यान लिँदा आँफै सखाप हुन्छ) ततपश्चात् विपुल मात्रामा प्रसार भइसकेपछि आफ्नो रौद्र रूप धारण गर्ने । सायद होमो सेपियन्सले यसको 'इन्टेलिजेन्स'लाई 'डिकोड' गरी ध्वस्त गर्न 'आर्टिफिसियल इन्टेलिजेन्स'को चरम विकाससम्म पर्खिनुपर्ने हुन्छ । व्यक्तिगत रूपमा सन् २०३५ यता यो संभभव होला जस्तो लाग्दैन मलाई ।

अमेरिका, रूस, यूकेलगायत तमाम आदि शक्तिशाली देशलाई झण्डैझण्डै घुँडा टेकाइसकेको यो भाइरस भूटानका सामु भने नतमस्तक बनेको छ । ठीक पढ्नुभयो तपाईंले । भूटानले कोरोना संक्रमणलाई गजबले व्यवस्थित गरेको छ । अहिलेसम्म विभिन्न लहरको प्रकोप हुँदा पनि भूटानमा जम्मा ३ जना संक्रमितको मृत्यु भएको छ । त्यहाँ सबैभन्दा पछिल्लो मृत्यु ११ अगस्ट २०२१ का दिन एक जना गैरभूटानी ६७ वर्षीय व्यक्तिको भएको थियो । ११ अगस्टयता भूटानमा कसैको पनि संक्रमणका कारण मृत्यु भएको छैन ।  यसभन्दा पहिला १५ जुलाई २०२१ का दिन ८२ वर्षीया एक जना महिलाको संक्रमणका कारण मृत्यु भएको थियो । र, यसभन्दा पहिला सन् २०२० को मार्च महिनामा एक जना पुरुषको निधन भएको थियो । कोरोना संक्रमणका कारण भूटानमा अहिलेसम्म २ जना पुरुष तथा एक जना महिलाको मृत्यु भएको छ ।

देशका सर्वोच्च भीआईपीहरूले पनि आयुर्वेदबाट लाभ प्राप्त गरेका छन् तर दुःखको कुरा, उनीहरू यो कुरा सार्वजनिक गर्दैनन् । उनीहरूले आफू आयुर्वेदिक औषधि सेवनबाट निको भएको सार्वजनिक गरिदिए सर्वसाधारणमा पनि आयुर्वेदप्रति विश्वास हुने थियो ।

डेल्टाको लहर पनि भूटानमा आएको थियो, ओमिक्रोनको लहर पनि भूटानमा चल्दै छ । १९ जनवरीको तथ्यांकअनुसार भूटानमा अहिलेसम्म ३ हजार २२९ जना संक्रमित भेटिएका छन् । सबैभन्दा पछिल्लो दिन १९ जनवरीमा ५९ जना नयाँ संक्रमित आएका छन् । कुल सक्रिय संक्रमित संख्या ५७२ पुगेको छ । अहिलेसम्मका कुल ३ हजार २२९ मा ५७२ जना सक्रिय संक्रमित र ३ जना मृतकको संख्याबाहेक २ हजार ६५४ जना संक्रमण भएर स्वस्थ भएका छन् ।

के छ जादू भूटानसँग ? किन अमेरिका, युरोप र अन्य देश जस्तै यहाँ संक्रमण प्रसारण हुन सकेन ? किन संक्रमित व्यक्तिमध्ये ३ जनाबाहेक सबै स्वस्थ भए ? हो, निश्चय पनि भूटानका राजादेखि प्रधानमन्त्रीसम्म देशभर स्वयंसेवकका रूपमा घुमेका छन् । तर, के यतिले संक्रमितको ज्यान जोगिन्छ ? संक्रमणको प्रसार कम गर्न, संक्रमण रोक्न राजादेखि प्रधानमन्त्री हुँदै सबै सरकारी निकाय सक्रिय हुँदा अपेक्षित परिणाम आयो होला ।  संक्रमण उच्च गतिले वृद्धि हुन पाएन  होला ।  तर तर तर, संक्रमित भइसकेका व्यक्तिका सन्दर्भमा कुन शक्तिले काम गर्‍यो कि भूटानमा कोरोना भाइरसको 'मोर्टालिटी रेट'  झण्डै शून्यकै वरिपरि (३ हजार २२९ जनामा ३ जना) सीमित रह्यो । भूटानसँग त्यो जुन शक्ति भए पनि संसारले त्यसको खोजीनीति गरी अवलम्बन गर्नुपर्ने हो ।

कि संसार मेडिकल माफियाले मात्र चलाउँछन् ? भ्याक्सिनका पूर्ण डोजबाहेक तेस्रो बुस्टर डोज र त्यसमाथि चौथो खुराकको सुई घोप्दा पनि संक्रमण त रोकिएको छैन, मृत्यु पनि रोकिएको छैन । डेल्टा संक्रमणको लहरताका नै पूर्ण डोज भ्याक्सिन लगाएका थुप्रै नेपालीले संक्रमणका कारण मृत्युवरण गरेका थिए तर कुनै पनि अस्पताल अथवा सरकारी निकायले पूर्ण डोज भ्याक्सिन लगाएको व्यक्तिको मृत्यु हुँदा यसबारे मुख खोलेन । किन ? आखिर यस्तो के बाध्यता हो कि यो जानकारी सार्वजनिक गरिएन ?

भ्याक्सिन कोरोना संक्रमण रोक्न मात्र होइन, संक्रमणविरुद्ध कुनै सुरक्षा दिन असफल भएको प्रमाण खोज्न कहीँ जानुपर्दैन, बुस्टर डोजले नै भ्याक्सिनको वास्तविकता उजागर गरिरहेको छ ।

भर्खरै एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा अमेरिकी विज्ञका साथै चिनियाँ राष्ट्रपतिले कोरोना संक्रमण ओमिक्रोन भेरिएन्टमा समाप्त नहुने संकेत गरेका छन् । अर्थात् ओमिक्रोन पछि अर्को कुनै भेरिएन्ट आउला । ग्रिक अल्फाबेटको अन्तिम अक्षर ओमेगासम्म भेरिएन्ट आउने क्रम जारी रहला । फेरि पाँचौँ, छैटौँ पटक बुस्टर भ्याक्सिन लिनुपर्ला ? नेपाल जस्तो देशले भ्याक्सिनको चक्करमा नलागेर आयुर्वेदलाई संक्रमणका विरुद्ध सक्रिय गर्ने बेला आएको छ । विगतका संक्रमण लहरमा आयुर्वेदिक औषधि सेवन गरेका कुनै पनि संक्रमितले अस्पताल पुग्नुपरेन । 

अस्पतालमै गम्भीर अवस्थामा रहेका संक्रमित आयुर्वेदिक औषधिले निको भएका अनेक उदहारण छन् । देशका सर्वोच्च भीआईपीहरूले पनि आयुर्वेदबाट लाभ प्राप्त गरेका छन् तर दुःखको कुरा, उनीहरू यो कुरा सार्वजनिक गर्दैनन् । उनीहरूले आफू आयुर्वेदिक औषधि सेवनबाट निको भएको सार्वजनिक गरिदिए सर्वसाधारणमा पनि आयुर्वेदप्रति विश्वास हुने थियो ।