टी-२० विश्वकपः उद्‌घाटन खेलमा नामिबिया र श्रीलंका भिड्ने (तालिकासहित)

टी-२० विश्वकपः उद्‌घाटन खेलमा नामिबिया र श्रीलंका भिड्ने (तालिकासहित)

एजेन्सी  |  खेलकुद  |  माघ ७, २०७८

आईसीसी टी- २० विश्वकप २०२२ को उद्घाटन खेलमा नामिबिया र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् । आईसीसीले अस्ट्रेलियामा आयोजना हुने प्रतियोगिताको तालिका शुक्रबार सार्वजनिक गरेको हो । 

१६ अक्टोबरदेखि सुरु हुने विश्वकप १३ नोभेम्बरसम्म आयोजना हुने भएको छ । पहिलो दिन श्रीलंका र नामिबिया भिड्दा सोही दिन क्वालिफायर- २ र क्वालिफायर- ३ बीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै, साविक विजेता अस्ट्रेलियाले पहिलो खेलमा साविक उपविजेता न्युजिल्यान्डको सामना गर्ने भएको छ, जुन खेल २२ अक्टोबरमा हुनेछ । 

भारत र पाकिस्तानबीचको खेल २३ अक्टोबरमा हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल २ नोभेम्बरमा सिड्नीमा हुनेछ भने १० नोभेम्बरमा एडेलेडमा दोस्रो सेमिफाइनल हुनेछ ।

सुपर १२ को ग्रुप ‘वान’मा अस्ट्रेलियासँगै न्युजिल्यान्ड, इंग्ल्यान्ड र अफगानिस्तान छन् । समूहमा पहिलो चरण पार गरेका समूह ‘ए’को विजेता र समूह ‘बी’को उपविजेताले स्थान बनाउनेछन् । पहिलो चरणको समूह ‘ए’मा श्रीलंका र नामिबियासँगै ग्लोबल क्वालिफायरबाट छनोट भएका २ टोली रहनेछन् ।

त्यस्तै, समूह ‘बी’मा वेस्ट इन्डिज र स्कटल्यान्डसँगै क्वालिफायरबाट छनोट भएका २ टोलीबीच हुनेछन् । त्यस्तै, ग्रुप ‘टु’मा भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै समूह ‘बी’को विजेता र समूह ‘ए’को उपविजेता रहनेछन् ।