बड डे गाउँ छिरेको छ

बड डे गाउँ छिरेको छ

बम बानियाँ  |  साहित्य  |  माघ ८, २०७८

 बड डे 
 गाउँ छिरेको छ 
चौरासी सकिएपछि हजुरबाको 
सुरु भएको छ हजुरबाको  बड डे
ढिँडो गुन्द्रुकले वाक्क बनेको बाको जिब्रो 
भिजेका छ केकको स्वादमा 
विदेशबाट नातिले पाँच हजार 
गरिदिएपछि आइ.एम.इ 
भव्य बनेको छ बड डे 
गाउँपालिका नजिकै खुलेको छ केक सप
बाह्रमुरे खेत बाझिएर के भो 
चलेकोछ गाउँमै होलसेल पसल 
घरमै खसाल्दिन्छ ट्याक्टरले
चामल, दाल, डिउ, चाउचाउ
गोठमा लैनो भैँसी नभएर के भो 
होलसेलले दिएकै छ घिउ र मह
खोरमा बाख्रा नपालेर के भो
खुलिसकेका छन् फ्रेस हाउस
भस्मे फाँडेर कोही आलु नरोप्दैमा के भो
फ्रेन्च फ्राई को पाकेट घरमै आइसक्यो
नजिकै बोइलर फर्म खुलेकै छ
भारतबाट जे खाऊ पुगेकै छ
चीनबाट जस्तो लाऊँ पुगेकै छ 
भव्य हुन्छ बा को बड डे 
हरेक घर हरेक महिना एउटा बड डे टरेकै छ
उही गीत गाएकै छ 
उही केक काटेकै छ
फेसबुकका भित्ताहरूमा रँगिएका 
नेताका बड डे को नवीन सिकाइ
बच्चाहरूमा सरेको छ 
यसले के के गरेको छ 
अनुसन्धानको विषय बन्ला 
बड डे एउटा युग बनेको छ
युरोपियन मात्रै फुर्ती नगर 
बड डे अचेल हामै गाउँमा पनि सरेको छ