सरकार ! मृत्यु भएका १६ मा कति जना एक, दुई र तीन डोज (बुस्टर) भ्याक्सिनवाला थिए ?

सरकार ! मृत्यु भएका १६ मा कति जना एक, दुई र तीन डोज (बुस्टर) भ्याक्सिनवाला थिए ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  माघ ८, २०७८

कम्प्युटर खोल्नासाथ मित्र चन्द्र खाकीको पोस्टमा नजर पर्‍यो । 'जिसका डर था बेदर्दी वही बात हो गई ।'

शरच्चन्द्र वस्ती दाइले हिजो नै फोनमा जे लक्षण भन्नुभयो, त्यसले गर्दा उहाँलाई भेट्न जानु आवश्यक थियो । फेरि आज बिहान कुनै एक जना मित्रले बनेपाबाट फोन गरेर परिवार नै चपेटामा परेको कुरा राख्नुभयो । मलाई बनेपाका मित्रको नाम थाहा भएन तर उहाँका लागि गौरीघाटमा पुगी उहाँको परिचितलाई औषधि दिएर बनेपा पुग्ने प्रबन्ध गरी म शरत् दाइको घर पुगेँ ।

२-३ दिनको काठमाडौंको चिसोबारे कुरा नगरेकै बेस । ४-५ दिन पहिला बुस्टर डोज लिनुभएका शरत् दाइलाई औषधि दिएर म उहाँसँग  झन्डै २ घण्टा शरत्-वार्ता (निठल्ला चिन्तन) मा रमेँ । घर पुगेर कम्प्युटर खोल्दा चन्द्रजीको पोस्टले दुखी बनायो । उहाँले लेख्नुभएको थियो, '१६ जनाको निधन कोरोना केही होइन ???? ओमिक्राेन कम घातक ????'

चन्द्रजी कुनै बेला मेरो हाकिम हुनुहुन्थ्यो । अझै उहाँसँग मेरो सम्पर्क भइरहन्छ । मलाई विज्ञान लेखनमा उत्साह दिने एउटा प्रमुख व्यक्ति नै हो उहाँ । र, मलाई भन्न कुनै परहेज छैन कि विज्ञान लेखको सम्पादन गर्ने उहाँजतिको अर्को व्यक्ति कम्तीमा मैले चिनेको छैन । उहाँ अतिरंजित मानसिकताको व्यक्ति नै होइन तर पनि उहाँले लेखेकोमा विश्वास नभएर चेक गर्नतिर लागेँ ।

हत्तपत्त हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी)को पेज खोलेँ । हिजोको अर्थात् ७ माघको तथ्यांकमा देशभर १९४ जना आईसीयू र ३५ जना संक्रमित भेन्टिलेटरमा थिए । मृतक संख्या ३ थियो तर आज मृतक संख्या १६ पुगिसकेको रहेछ ।

स्वास्थ्य मन्त्रालयले जारी गर्ने जानकारीअनुसार आज देशभर आईसीयुमा २१० जना र भेन्टिलेटरमा ३७ जना गम्भीर संक्रमितको उपचार भइरहेको छ । हिजोसँग तुलना गर्दा १९४+३५= २२९ जना गम्भीर बिरामीमध्ये १६ जनाको निधन हुँदा २१३ गम्भीर प्रकृतिका संक्रमित हुनुपर्नेमा ८ माघमा २४७ जना गम्भीर संक्रमित रहेकाले प्रस्ट हुन्छ कि गत २४ घण्टामा देशमा थप ३४ जना गम्भीर संक्रमित अस्पताल पुगेका छन् ।

पछिल्लो तथ्यांकअनुसार प्रदेश १ मा ३५ जना आईसीयू र ५ जना भेन्टिलेटरमा, मधेस प्रदेशमा आईसीयूमा ९ जना, बाग्मती प्रदेशमा आईसीयूमा १२७ र भेन्टिलेटरमा २९ जना, गण्डकीमा आईसीयूमा १६ र भेन्टिलेटरमा एक जना, लुम्बिनीमा आईसीयूमा २० र भेन्टिलेटरमा एक जना, सुदूरपश्चिममा आईसीयूमा ३ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।

ओमिक्रोनसँग लड्ने, भिड्ने यसको मुकाबिला गर्ने सोच त्यागेर सबै जनाले यसका सामु आत्मसमर्पण गर्दै आफूलाई घरमै सीमित गरे यसको प्रकोपसँग सजिलै जोगिन सकिन्छ । आज अर्थात् ८ माघमा ओमिक्रोन  सङ्क्रमणको जुन तस्बिर देखा परेको छ ( मृतक सङ्ख्या १६ ) त्यो निश्चय पनि भयावह छ ।  

नेपालमा २२ पुसयता संक्रमण वृद्धि हुँदै आएको छ । ८ माघमा मृतक संख्या पनि तीव्र गतिले बढेको छ । ओमिक्रोन  घातक छैन भन्नेहरूले अब के भन्नुहुन्छ होला ?

संक्रमणको अवस्था जे देखिएको छ, त्यो वास्तविक होइन, पहिला देखिएकै कुरा गरौँ । ४ माघदेखि नेपालमा दैनिक १० हजारभन्दा बढी संक्रमित आइरहेका छन् । ४ माघमा २२ हजार ८२८ परीक्षण (पीसीआर १७ हजार ८७२ एन्टिजेन ४ हजार ९५६) मा १० हजार २५८ संक्रमित, ५ माघमा २३ हजार ४०९ परीक्षण  (पीसीआर १८ हजार ७८, एन्टिजेन ५ हजार ३३१)मा ११ हजार ३५२ संक्रमित,  ६ माघमा २७ हजार ४९७ परीक्षण (पीसीआर २१ हजार ७, एन्टिजेन ६ हजार ४९०)मा १२ हजार ३३८ संक्रमित, ७ माघमा २३ हजार ९२ परीक्षण (पीसीआर १८ हजार ६१८, एन्टिजेन ४ हजार ४७४)मा १० हजार ७०३ संक्रमित, ८ माघमा २० हजार १८७ परीक्षण (पीसीआर १४ हजार ४६२, एन्टिजेन ५ हजार ७२५)मा १० हजार २५४ संक्रमित आएका छन् । ५ दिनको अन्तरालमा देशमा ५४ हजार ९०५ नयाँ संक्रमित थपिएका छन् । कुल सक्रिय संक्रमित संख्या ७२ हजार ८६२ पुगेको छ ।

तर, यो संक्रमणको वास्तविक तस्बीर होइन । कारण- अहिले धेरै जनाले घरमै एन्टिजेन परीक्षण गरेर आफू संक्रमित भए/नभएको थाहा पाउँछन् । घरमै परीक्षणको सुविधा हुनु सुखद पक्ष हो तर कोही यदि घरमा आफैँ परीक्षण गरेर संक्रमित भएको देखियो भने त्यसको गन्ती  कसरी हुने ? के सरकारले यस विषयमा कुनै पहल गरेको छ ?

देशमा कोरोना संक्रमण दर ५० प्रतिशतभन्दा माथि पुगिसक्दा पनि दिनमा जम्मा २० हजार परीक्षण हुनुले नै सरकारको रूपरङ वयान गरिरहेको छ । सरकार सार्वजनिक यातायातमा मास्क लगाउनुहोस् भन्ने आशयका स्टिकर टाँस्दै छ । सडकमा हिँड्न भ्याक्सिन लगाएको कार्ड बोकेर हिँड्न अनिवार्य गर्दै छ । सरकार होइन, देश लुटेराहरूको चंगुलमा छ । यिनीहरू लुट्न आएका हुन् । नेपाल र नेपालीको शरीरमा रहेको रगतको अन्तिम थोपासम्म यिनीहरूको लुट जारी रहन्छ । जनताको हित गर्ने सरकार भएको भए अहिले दैनिक डेढ, दुई लाख परीक्षण गरेर संक्रमणको चेन तोड्ने प्रयास हुन्थ्यो ।

एक थरीले ओमिक्रोन  घातक छैन भनेर हल्ला गरी राखे । सर्वसाधारणलाई भ्रमित बनाउने काम गरे यस्ताले । परिणाम सामु छ- आजको मितिमा काठमाडौंका आधाभन्दा बढी घरमा ४-५ जना संक्रमित छन् ।

ए सरकार, ए संक्रमणविद, ए नेपालका तथाकथित बुद्धिजीवी, ए भ्याक्सिन र मेडिकल माफियाका दलालहरू ! हिम्मत छ भने जानकारी सार्वजनिक गर- ८ माघमा मृत्यु भएका १६ जनामध्ये कति जनाले भ्याक्सिन लगाएका थिएनन् ? कति जनाले एक डोज, कति जनाले २ डोज र कति जनाले ३ डोज (बुस्टर) भ्याक्सिन लगाएका थिए ? राजधानी काठमाडौंमा झन्डै २५ लाखभन्दा बढीले बुस्टर डोज लिइसकेको अपुष्ट खबर छ ।

स्थिति विकराल भइसकेको छ । नियन्त्रणबाहिर गइसकेको छ । बुस्टर डोज लगाएका २०० जनाभन्दा बढी व्यक्ति संक्रमित भएको मेरो जानकारीमा छ । अहिले खोप केन्द्र नै संक्रमण प्रसार हुने 'हट स्पट' बनेका छन् । व्यक्तिले घरमा बस्नुबाहेक अन्य कुनै विकल्प छैन । काठमाडौंलगायत धेरै ठाउँहरूमा ५० प्रतिशत मानिस संक्रमित भइसकेका छन् । बाहिर निस्कनु पूर्ण रूपेण जोखिममय भइसकेको छ ।

 ओमिक्रोन महाभारत युद्धको नारायण अस्त्र सरह बनेको छ । नारायण अस्त्रसँग लड्ने, मुकाबिला गर्नेको पराजय निश्चित थियो ।  अश्वत्थामाले पाण्डवका खिलाफ नारायण अस्त्र प्रहार गर्दा कृष्णले सबै पाण्डवजनलाई आआफ्ना अस्त्र भूमिमा राखी नारायण अस्त्र सामु आत्मसमर्पण गर्न भने । नारायण अस्त्रको मर्यादा थियो, यसले आत्मसमर्पण गर्नेलाई हानि-नोक्सानी नगर्ने तर युद्धको भाव पनि मनमा राख्नेको विनाश गरिदिने । कृष्णले नारायण अस्त् रसामु सबै पाण्डवलाई आत्मसमर्पण गर्न लगाएर नारायण अस्त्रलाई शान्त बनाए ।

ओमिक्रोनसँग लड्ने, भिड्ने र यसको मुकाबिला गर्ने सोच त्यागेर सबै जनाले यसका सामु आत्मसमर्पण गर्दै आफूलाई घरमै सीमित गरे यसको प्रकोपसँग सजिलै जोगिन सकिन्छ । आज अर्थात् ८ माघमा ओमिक्रोन सङ्क्रमणको जुन तस्बीर देखापरेको छ (मृतक संख्या १६), त्यो निश्चय पनि भयावह छ । भयभीत गर्ने खाले छ । भयभीतको अर्थ बुझौँ- भय+भीत, भयको अर्थ भनी राख्नुपरेन । भीतको अर्थ हुन्छ-डराएको, अत्तालिएको, त्रस्त वा भयले जसको मस्तिष्कमा घर गरिसकेको छ ।

१६ जनाको मृत्यु निश्चय पनि भयकारक छ । भय सुरक्षाको जननी हो । सचेत हुनुहोस्, सुरक्षित हुनुहोस् । एक एक जनाले आफ्नो सुरक्षा आफैँ गर्ने परिस्थिति सिर्जना भएको छ । २-४-८-१० दिन भयभीत भएर घरमा बस्दा कोरोना संक्रमणको 'रिस्क'बाट जोगिन सकिन्छ  भने सर्फ एक्सेलको विज्ञापन 'दाग अच्छे है' भनेझैँ भयभीत हुनु पनि राम्रै हो ।