मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क

मानव दिमागमा ‘चिप’ लगाउने तयारीमा अर्बपति एलन मस्क

एजेन्सी  |  विदेश  |  माघ ९, २०७८

संसारका सर्वाधिक धनी एलन मस्कको मानव दिमागमा लगाउने चिप बनाउने स्टार्टअप न्युरालिंकले चाँडै नै परीक्षण आरम्भ गर्ने भएको छ । उक्त चिपको सहयोगमा प्यारालाइसिसका बिरामीले आफ्नो दिमागले भन्दा औँलाले तेज गतिमा स्मार्टफोन चलाउन सक्ने मस्कको दाबी छ । 

मस्कले सन् २०१६ मा स्टार्टअपको स्थापना गरेका थिए । त्यस्तो चिपको परीक्षण पेजर नामको बाँदर र सुँगुरमा गरिएको र त्यो सफल भइरहेको कम्पनीले बताएको छ ।

सो चिपको अब क्लिनिकल ट्रायलका निम्ति स्टार्टअपको डाइरेक्टर नियुक्ति गरिने पनि बताइएको छ । उक्त ट्रायलपछि चिपलाई मानव दिमागमा प्रयोग गरिनेछ । चिपको विज्ञापनमा क्लिनिकल ट्रायलका डाइरेक्टरले प्रतिभावान् चिकित्सक, इन्जिनियरका साथै न्युरालिंकको पहिलो क्लिनिकल ट्रायलमा सहभागी व्यक्तिलाई अघि सारिएको उल्लेख गरिएको छ । डाइरेक्टरले क्यालिफोर्नियाको फ्रेमोन्टमा बसेर काम गर्ने पनि विज्ञापनमा खुलाइएको छ । 

नसाको रोगबाट मानिसलाई मुक्ति मिल्ने दाबी

प्यारालाइसिसका कारण नसाको समस्या भोगिरहेका मानिस सो प्रविधिको मद्दतबाट पुनः काम गर्न सक्ने बन्ने कम्पनीको दाबी छ । यस वर्षको अन्त्यसम्ममा मानव दिमागमा सो चिप प्रयोग गर्ने योजना सुरु हुने मस्कले जानकारी दिएका छन् । उनले भनेका छन्, ‘सबै कुरा सहज रहेमा न्युरालिंकको नामबाट सुरु हुन लागेको ब्रेन कम्प्युटर इन्टरफेस स्टार्टअपको मानव परीक्षण यसै वर्षको अन्त्यसम्ममा आरम्भ गर्न सकिनेछ ।’

संसारकै धनी मस्कसँग अहिले २५६ अर्ब डलर सम्पत्ति रहेको अनुमान गरिन्छ । उनले सन् २०१६ मा सानफ्रान्सिस्कोको बे एरियामा यो स्टार्टअप आरम्भ गरेका थिए । अल्जाइमर, डिमेन्सिया र मेरुदण्डमा लागेको चोटबाट उत्पन्न न्युरोलोजिकल समस्याको उपचारका लागि मानव मस्तिष्कमा एक कम्प्युटर इन्टरफेस प्रत्यारोपित गर्ने लक्ष्य रहेको कम्पनीले बताएको छ । नयाँनयाँ काम गर्न रुचाउने मस्कले यसअघि केही मानिसलाई अन्तरिक्षमा लिएर गएका थिए ।

उनको विद्युतीय कार निर्माता कम्पनी टेस्ला संसारभर चर्चित छ । पछिल्लो परियोजनामा मस्कले दीर्घकालीन लक्ष्य लिएको देखिन्छ । मानव र कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स)को सम्बन्ध पत्ता लगाउनु न्युरालिंकको मुख्य उद्देश्य रहेको उनको भनाइ छ ।

मस्कका अनुसार न्युरालिंक प्रत्यारोपणका सुनिश्चितताका लागि निकै तीव्र गतिमा काम गरिरहेको छ । कम्पनीले अमेरिकाको फुड एन्ड ड्रग्स एड्मिनिस्ट्रेटिभसँग सम्पर्क पनि गरिसकेको छ ।

मस्कले एक अन्तर्वार्तामा न्युरालिंकले बाँदरको मस्तिष्कमा एउटा वायरलेस इम्प्लान्ट गरिएको बताएका छन् । बाँदरले दिमागको मद्दतबाट भिडियो गेम खेलेको थियो । यसअघि सुँगुरको दिमागमा पनि उक्त चिप परीक्षण गरिएको थियो ।