मस्कको कम्पनीले पठाएको रकेट चन्द्रमामा बिस्फोटको जोखिम बढ्यो

मस्कको कम्पनीले पठाएको रकेट चन्द्रमामा बिस्फोटको जोखिम बढ्यो

एजेन्सी  |  विदेश  |  माघ १३, २०७८

अमेरिकी विद्युतीय गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट हुने अवस्थामा रहेको विवरणहरू सार्वजनिक भएका छन् । 

स्पेसएक्सले पठाएको फाल्कन बुस्टर सन् २०१५ मा अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । तर, आफ्नो मिसन पूरा गरेपछि पृथ्वीमा फर्किन पर्याप्त इन्धन नभएपछि सो क्षेप्यास्त्र अन्तरिक्षमै रहेको थियो ।

फाल्कन चन्द्रमामा ठोकिने पहिलो अनियन्त्रित क्षेप्यास्त्र हुने अन्तरिक्ष यात्री जोनाथान म्याकडोवेलले बीबीसीलाई बताए । तर, यसको असर भने सानो हुने उनको भनाइ छ । 

स्पेस वेदर स्याटलाइटलाई पठाउने आफ्नो मिसन पूरा गरेपछि क्षेप्यास्त्रलाई ७ वर्षअघि उच्च अक्षमा छाडिएको थियो । मस्कको अन्तरिक्ष अनुसन्धान कार्यक्रम स्पेसएक्सअन्तर्गत सो रकेट आफ्नो मिसनमा थियो ।

अन्तरिक्षमा मानिसहरूको संभावित बसोबासबारे मस्कको सो कम्पनीले अध्ययन गरिरहेको छ ।

सन् २०१५ देखि सो क्षेप्यास्त्रलाई पृथ्वी, चन्द्रमा र सूर्यको विभिन्न गुरुत्वाकर्षण शक्तिले तानेकाले उसको मार्गलाई झनै अनियन्त्रित बनाएको अमेरिकास्थित हार्वर्ड स्मिथसोनियन सेन्टर फर एस्ट्रोफिजिक्सका प्राध्यापकसमेत रहेका म्याकडोवेल बताउँछन् ।