सम्झना

सम्झना

करुणा राई  |  साहित्य  |  माघ १५, २०७८

नआओस् भन्दाभन्दै आउँछ
जोर्ती दुनाबाट चिउँडोतिर चुहाउँदै
हुर्रे जाँड पिउँदै गरेको
सोल्टीको सम्झना ।

शरीरमा चिटिक्क सुहाएको
खाँडीको दौरा-सुरुवाल
शिरमा सुहाएको छड्के ढाका टोपी
कानमा सिउरिएको ठुटे बिँडी
स्वाङ पार्दै मटियाबाटै पिउँदा
चिउरीको रक्सीले सर्किएर
रातोपिरो भएको सोल्टीको सम्झना
नआओस् भन्दाभन्दै आउँछ ।

पूर्णे बजार हुँदी आक्कल झुक्कल भेट हुँदा
उज्यालिएको सोल्टीको अनुहार
सामूहिक तस्बीर खिच्ने बेला
यी कुममा बसेका ती हातका औँलाहरू
सेरी बटुकाभरि जाँडसँगै मिसाइएका
रातो मिठाई र राँगाको तातो भित्राँस
आत्मीयता सराबरी मिसाएर
धक मानीमानी खाएको सम्झना
नआओस् भन्दाभन्दै आउँछ ।

अगुल्ठे मेलामा गेवाँरा उखु खाँदाखाँदै
हावाले कस्तरी बालुवा उडाएर ल्याउँथ्यो
रुमालले आँखा छोपिदिँदै भन्नुहुन्थ्यो-
'बतासले छारो हानेको राम्रो हुँदैन नि सोल्टिनी !'
लजाउँदै म सोल्टीको छातीमा ओत लागेथेँ
त्यसै दाउमा मायाको पोया बेर्दै
भन्नुहुन्थ्यो-
'रित बोकेर चाँडै आउनेछु सोल्टिनी
तपाईँको हात माग्न
र, सधैँसधैँ ओढाइदिनेछु यही छातीको धुरी !
त्यसपछि-
लजाईलजाई सिलुङ्गी फूल बाँधिएको
रुमाल चिनो साटेको सम्झना
उफ् ! नआओस् भन्दाभन्दै आउँछ ।

थर्पुबाट छुट्ने बेला खाएको कसम
अरुण नदीमा जोर परेवा उडाउने भाकल
पीपल साक्षी राखेर बेरेको धजा
विश्वासले रित पर्खँदा पर्खँदै
बिहेको निम्तो आइपुगेको
सुपारी चानाको सम्झना
नआओस् भन्दाभन्दै आउँछ ।

नाटो बाँधिएको मटिया
र, ठहरले भरिएको थुन्चे
बाध्यताले बोक्नुपरेको रिसले
आफैँलाई चिमोट्दै
सल्लीपिरै सल्लीपिरको बाटो
मुस्किलले ओर्लिएर साँझमा
रत्यौली नाचिरहेको घर पुगेको सम्झना
नआओस् भन्दाभन्दै आउँछ ।

तिल्केनी डाँडामा फुत्त निस्किएर
बेहुली ल्याइपुर्‍याउन लागेको
फुर्ती दिँदै बजाइएको नर्सिङ्गाको धून
मज्जाले सिँगारिएको मान्छे बोकेर
दमाहा र टेम्कोको तालमा
जुल्फी ढल्काउँदै आइरहेका
घोडाहरूको लस्करले बिथोलिएको
मेरै सम्झना
नआओस् भन्दाभन्दै आउँछ ।

भतेरमा हात छाड्ने बेला
बेहुलासँग अनायासै जुध्न पुगेका आँखा
एक्कासि पत्रीको छानामाथि बर्सिएका आँसु
आँसुकै झोलमा मिसाएर
जबर्जस्ती निल्नुपरेको मेजमान
अनि माङ्ग चुलातिर भित्रिँदै गरेका  
बेहुला-बेहुलीको सम्झना
कहिल्यै नआओस् भन्दाभन्दै आउँछ ।