कोरोना संक्रमण : दुर्भाग्य मात्र कि सौभाग्य पनि !

कोरोना संक्रमण : दुर्भाग्य मात्र कि सौभाग्य पनि !

ज्ञानमित्र  |  दृष्टिकोण  |  माघ १६, २०७८

विश्वको जनसंख्या ७ अर्ब ९२ करोड ३६  लाख ८२  हजार पार भइसकेको छ । ३१ अक्टोबर २०११ मा ७ अर्ब पुगेको जनसंख्या यस वर्षको अन्त्य अथवा सन् २०२३ को प्रारम्भमा ८ अर्बको अंक छुनेछ ।

यी ७ अर्ब ९२ करोड ३६  लाख ८२  हजारमध्ये अहिलेसम्म ३७ करोड २८ लाख ९९ हजार २४५  मानिसलाई कोरोना संक्रमण भइसकेको छ । जनसंख्याको अनुपातमा झण्डै ४.७  प्रतिशतलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

यो आलेख लेखिरहँदासम्म विश्वका कुल संक्रमित ३७ करोड २८  लाख ९९  हजार २४५ जना संक्रमित मध्ये ५६ लाख ७५ हजार ३७९ जनाको संक्रमणका कारण मृत्यु भएको छ । कुल संक्रमितमध्ये झण्डै १.५२  प्रतिशत मानिसले भाइरससँगको युद्धमा पराजित हुनुपरेको छ । यो वैश्विक तथ्यांक हो । देशअनुसार घटीबढी हुन सक्छ ।

जस्तो कि नेपालमा अहिलेसम्म ९ लाख ४७ हजार ३९२ जना संक्रमित देखिँदा मृतक संख्या ११ हजार ७०३ जना पुगेको छ । नेपालमा कोरोनाको मृत्यु दर १.२३५  प्रतिशत रहेको छ । दुःख लाग्छ, स्वास्थ्य मन्त्रालयले यसलाई १.४ प्रतिशत भनिरहेको छ ।

विश्वको कुल जनसंख्याको झण्डै ५९ प्रतिशत ओगटेको एसिया महादेशमा नौ करोड ९० लाख ७५ हजार ८५२  संक्रमित आउँदा मृतक संख्या १२ लाख ८८ हजार ३८४ रहेको छ । एसियाको कोरोनाबाट भएको मृत्यु दर १.३ प्रतिशतको हाराहारीमा रहेको छ । नेपालको मृत्यु दर समग्र एसियाको भन्दा कम रहेको छ ।

विशाल देश भारतमा ४ करोड १० लाख ८७ हजार ८१७ जना संक्रमित आउँदा मृतक संख्या ४ लाख ९४ हजार ११० पुगेको छ । भारतमा कोरोना मृत्यु दर १.२०  प्रतिशत रहेको छ । अफ्रिका महादेशमा एक करोड नौ लाख ८० हजार १५० संक्रमित देखिँदा दुई लाख ३९ हजार ४६ जनाको निधन भएको छ अर्थात् यहाँको मृत्यु दर २.२३ प्रतिशत रहेको छ । दक्षिण अमेरिकी महादेशमा चार करोड ८१ लाख ५० हजार ७५० संक्रमित देखिँदा मृतक संख्या १२ लाख १३ हजार २७३ रहेको छ । यहाँको कोरोना मृत्यु दर २.५७ प्रतिशत रहेको छ ।

उत्तर अमेरिका महादेशमा आठ करोड ८३ लाख ६० हजार ५४ संक्रमित देखिँदा १३ लाख १६ हजार ३३८ जनाको मृत्यु भएको छ अर्थात् यहाँको कोरोना मृत्यु दर १.५० प्रतिशत रहेको छ । युरोप महादेशमा १२ करोड ३६ लाख २३ हजार ३१६ संक्रमित देखिँदा मृतक संख्या १६ लाख १२ हजार ३२२ पुगेको छ । यहाँको कोरोना मृत्यु दर १.३० प्रतिशत रहेको छ ।

विश्वको झण्डै ४.६ प्रतिशत जनसंख्यालाई कोरोना संक्रमणले छुँदा (३७ करोड २८ लाख ९९ हजार २४५ जनालाई संक्रमण हुँदा) तपाईं यदि जोगिनुभएको छ भने तपाईं भाग्यमानी हो । तर, तपाईं जस्तो भाग्यमानीको संख्या विश्वको कुल जनसंख्याको ९५.४ प्रतिशत रहेको छ ।

धेरै जनाले प्रश्न गर्नुहुन्छ- 'यो कोरोना कहिलेसम्म रहन्छ ?'

मसँग यसको कुनै जबाफ हुन सक्छ जस्तो लाग्छ तपाईंहरूलाई ? तपाईंहरूलाई यस्तो लाग्छ भने कि तपाईंहरूले मलाई 'ओभरटेटेड' गर्नुभएको छ अथवा तपाईंहरू भ्रममा हुनुहुन्छ । मसँग एउटै जबाफ छ- कोरोना भाइरस हामीलाई प्राकृतिक रूपमा, जैविक रूपमा बलियो बनाउन भविष्यमा आउने यस्तै किसिमका आदि यावत् प्रकोपको मुकाबिला गर्न सक्षम बनाउन आएको हो । प्रकृतिको विधान छ- 'सर्भाइवल अफ द फिटेस्ट' तपाईं शारीरिक रूपमा असक्षम भएका व्यक्तिप्रति करुणा राखेर दया राखेर मानवताको भाव राखेर बचाउने चेष्टा गर्नुहुन्छ । प्रकृतिको प्रयोगशालामा यस्तो मूर्खता हुँदैन । प्रकृतिले विपद् ल्याएर अक्षमलाई 'लेट्स गो' भन्छ । 'वीर भोग्ये वसुंधरा' प्रकृतिको संचालन विधि छ ।

अमेरिकाको चिडियाघरमा भएको एउटा घटना स्मरणमा आउँछ । एउटी बघिनी गर्भिणी थिई । सबै कर्मचारी नयाँ पाहुनाको आगमनले हर्षित थिए । बघिनीले शिशु जन्माई र जन्माउनेबित्तिकै शिशुलाई आफ्नो भोजन बनाई । पुनः गर्भिणी भई, फेरि बच्चालाई आफ्नै आहारा  बनाई । चौथो पटक गर्भिणी हुँदा चिडियाघरका कर्मचारीले प्रजनन् हुनासाथ नवजात शिशुलाई बघिनीबाट बचाए ।

तर, केही दिनमै एउटा अचम्मको तथ्य प्रकाशमा आयो । जन्मिएको बच्चा शारीरिक रूपमा अशक्त थियो । रहस्य खुल्यो बघिनीले किन बच्चालाई जन्मिनासाथ शिकार बनाई । उसले अशक्तलाई हुर्काएर जीवनभर अरूको दया दृष्टिमा बाँच्नुको सट्टा शिकार बनाएर करुणा प्रदर्शन गरी । उसको दृष्टिमा, प्रकृतिको दृष्टिमा नवजात शिशु प्रोटिनको स्रोत थियो । उसले त्यो प्रोटिन ग्रहण गरेर आफूलाई पोषिलो आहारा दिई । अर्को पटक बच्चा जन्माउने विकल्प रोज्दै गएकी थिई ।

प्रकृतिको विधान यस्तै छ । मेरो नजरमा जोजो व्यक्ति कोरोना संक्रमित भएर निको भएका छन्, उनीहरू भविष्यमा आउने यस्तै कुनै विघ्न बाधाप्रति 'इम्युन' भएका  छन् । यही निको भएका  व्यक्ति अर्को महामारी आउँदा 'सर्भाइव' गर्छन् । अहिले  कोरोना संक्रमित भएर विकेट खस्नेहरू जस्तै अर्को महामारीमा अहिले संक्रमण हुनबाट जोगिएका मानिसले प्राण रक्षा हेतु ठूलै युद्ध लड्नुपर्ने हुन्छ ।

अहिलेसम्म कोरोना संक्रमित हुनु भएको छैन भने यो सौभाग्य हुनुका साथै दुर्भाग्य पनि हो । कारण- तपाईंको शरीरको आन्तरिक संरचनालाई शत्रुसँग (कोरोना जस्तै अथवा भविष्यमा आउने यसभन्दा पनि जटिल) लड्ने कला कौशलका बारेमा केही थाहा हुँदैन । शरीरको इम्युन सिस्टमलाई अपडेट गर्ने अवसर पनि हो कोरोना संक्रमित हुनु ।

अहिले त कोरोनाकै अरू केही भेरिएन्ट आउन सक्ने संभावना छ । २-३ प्रतिशत मृत्यु दर भएको भाइरस आफैँ समाप्त हुने अथवा मानवीय प्रयासद्वारा निमिट्यान्न हुने संभावना अतिन्यून हुन्छ । युवाहरूले त संक्रमित भएर निको हुनु नै आफूलाई भविष्यका लागि क्षमता सम्पन्न बनाउनु सरह हो ।

अहिले नै (४-५ महिनामै) कोरोना भाइरस शान्त हुने अवस्था छैन । विश्वमा अहिले सात करोड २७ लाख ४० हजार २८८ जना सक्रिय संक्रमित छन् । प्रत्येक दिन ३६-३७ लाख संक्रमित थपिँदै छन् । नेपालमा दैनिक झन्डै पाँच हजार (पछिल्लो डाटा) संक्रमित थपिँदै छन् । नेपालमा सक्रिय संक्रमित संख्या ८७ हजार ३४१ रहेको छ । भरपूर संभावना छ कि यी सात करोडभन्दा बढी संक्रमितको शरीरमा रहेको जुनसुकै भेरिएन्ट होस्, त्यस भेरिएन्टले आफ्नो 'रिप्लिका' (होस्ट कोशिकामा आफ्नो कपी गर्दा) गर्ने बेलामा तमाम गल्ती गरेर नयाँ 'म्युटेन्ट' तयार गर्छ । नयाँ भेरिएन्टको सारा फण्डा यति नै हो ।

कोरोना 'फेमिली'को अर्को भाइरस नियोकोभबाट त्रसित हुनुपर्दैन । अहिलेसम्म नियोकोभमा मानिसका कोशिकामा सर्भाइभ गर्ने ल्याकात छैन । मानिसमा पस्नलाई यसले आफूलाई परिमार्जित गर्नुपर्ने हुन्छ । हो, एउटा भने खतरा छ- प्राकृतिक रूपमा यस्तो म्युटेसन हुन पनि सक्छ वा नहुन पनि सक्छ । तर, ल्याबमा भने छेडखानी गरेर यसलाई मानिसको शत्रु बनाउन सकिन्छ । अहिलेलाई ओमिक्रोनपछि आउन सक्ने 'डेड्ली' भेरिएन्टकै प्रमुख खतरा छ ।

धेरै जनाले ओमिक्रोन भेरिएन्टलाई कम घातक भने, म यसप्रति कहिल्यै सहमत हुन सकिनँ । मेरा लागि पैथोजन्स अथवा शरीरका लागि जुनसुकै 'फरेन एलिमेन्ट्स' उत्तिकै खतरनाक हुन् । ओमिक्रोनको मृत्यु दर कम भएको (मेरा लागि कम होइन) विभिन्न कारण छन् । पहिलो कुरा त समग्र मानवता नै भाइरसको त्रासबाट मुक्त भएको छ । पहिलाको जस्तो 'इनफोडेमिक' त्रास छैन । दोस्रो कुरा सार्स कोभ- २ को उत्पत्तिताका पनि ८५ प्रतिशत संक्रमितलाई यसले खासै असर पुर्‍याएको थिएन । भ्याक्सिन, एक पटक संक्रमित भइसकेका व्यक्ति र भाइरसप्रति अभ्यस्त हुँदै जाँदा अब यो संख्या ९० प्रतिशतभन्दा माथि पुगेको छ ।

विज्ञानले जे अध्ययन गर्नुपर्थ्यो, त्यो मेडिकल माफियाको प्रभाव र दबाबमा हुन सकेन । कोरोना भाइरस अथवा यसका विभिन्न म्युटेन्टसँग लड्ने रहस्य कोरोना संक्रमणबाट प्रभावित नहुने ८५ प्रतिशत संक्रमितमा लुकेको थियो । तर, भ्याक्सिन व्यापारको खेल र षड्यन्त्रले आफ्नो स्वार्थको बाटो रोज्यो ।

प्रत्येक पैथोजन्सलाई होस्ट कोशिकामा आफ्नो रिप्लिका गर्न विशेष प्रोटिन र एमिनो एसिड आवश्यक हुन्छ । होस्ट कोशिकामा बन्ने यो प्रोटिन अथवा एमिनो एसिडको उत्पादनमा बन्देज लाउने हो भने व्यक्ति संक्रमित त हुन सक्छ तर त्यस व्यक्तिमा भाइरसलाई रिप्लिका गर्न चाहिने कच्चा पदार्थको उपलब्धतता नभएर यसले द्रुत गतिले आफ्ना कपी बनाउन सक्दैन । र, शरीरमा  पसेको अथवा अल्प रिप्लिका गरी बनेको भाइरसलाई शरीरको इम्युन प्रणालीले सहजै परास्त गरी संक्रमितलाई निको बनाउँछ ।

यही एन्टीभाइरल औषधिको कार्य प्रणाली हो । यी जुन ८५ प्रतिशत व्यक्ति संक्रमण भएर सामान्य अवस्थामै निको भए, यसको रहस्य यति नै हो कि यिनको शरीरको होस्ट कोशिकामा भाइरसलाई चाहिने प्रोटिनको उपलब्धता न्यून थियो ।

आयुर्वेदले यसको रहस्य भेदन गरेको छ । आयुर्वेदिक औषधिको सेवनले ४८ घण्टामै भाइरसलाई रिप्लिका गर्न चाहिने प्रोटिनको उत्पादनमा बन्देज लगाइ दिन्छ । शरीरमा भाइरस लोड बढ्न पाउँदैन र भएका भाइरसलाई शरीरको रोग प्रतिरोधी शक्तिले सखाप बनाएर ४-५ दिनमै व्यक्ति संक्रमणमुक्त हुन्छ । यति मात्र होइन, संक्रमण हुनुपूर्व कसैले यदि आयुर्वेदिक औषधि सेवन गर्छ भने सेवन गरेको ४८ घण्टापछि उसको संक्रमित हुने संभावना ९९ प्रतिशतले कम हुन्छ ।

शरीरमा पैथोजन्स प्रवेश गर्ने प्रणाली एसीई२ रिसेप्टर्स (receptors ACE2)को मूल ढोका नै बन्द हुन पुगेर व्यक्ति संक्रमित हुँदैन । तर, यो प्रभाव झण्डै एक महिना मात्र रहन्छ । एक महिनापछि व्यक्ति संक्रमित हुन सक्छ । तर तर तर आयुर्वेदिक औषधि सेवन गरेको व्यक्ति संक्रमणबाट प्रभावित नहुने ८५ प्रतिशतको जमातमा खडा भइसकेको हुन्छ ।

(क्रिस्पर क्यास ९ प्राविधिबाट परिचित रहेका पाठकलाई बुझ्न सजिलो हुन्छ कसरी विज्ञानले भ्रूण अवस्थामै बायोलोजिकल कैँचीबाट मानिसमा एचआईभी भाइरस प्रवेश गर्ने संभावना नै प्रतिबन्धित गरिदिएको छ ।)

तपाईं युवा हुनुहुन्छ र अहिलेसम्म कोरोना संक्रमित हुनु भएको छैन भने यो सौभाग्य हुनुका साथै दुर्भाग्य पनि हो । कारण- तपाईंको शरीरको आन्तरिक संरचनालाई शत्रुसँग (कोरोना जस्तै अथवा भविष्यमा आउने यसभन्दा पनि जटिल) लड्ने कला कौशलका बारेमा केही थाहा हुँदैन । शरीरको इम्युन सिस्टमलाई अपडेट गर्ने अवसर पनि हो कोरोना संक्रमित हुनु ।