भारतमा संक्रमित दर घट्दो, मृत्यु दर बढ्दो

भारतमा संक्रमित दर घट्दो, मृत्यु दर बढ्दो

एजेन्सी  |  विदेश  |  माघ १७, २०७८

भारतमा कोभिड संक्रमितको संख्या निरन्तर घटिरहेको छ । संक्रमण घटे पनि मृत्यु हुनेहरूको संख्या भने बढ्दो छ । पछिल्लो २४ घन्टामा २ लाख जनामा कोभिड संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा करिव ३४ हजारले कमी हो । 

त्यस्तै, पछिल्लो २४ घन्टामा कोभिडजन्य समस्याका कारण ९५९ जनाको मृत्यु भएको छ । यसअघि आइतबार ८३९ जनाको मृत्यु भएको थियो । सोमबारको तथ्यांकसँगै भारतमा कोभिड संक्रमितको संख्या चार करोड १२ लाख नाघेको छ भने कुल मृत्यु हुनेको संख्या चार लाख ९५ हजार पुगेको छ । 

कोभिड संक्रमण बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा ७५ प्रतिशत वयस्कले कोभिडको पूर्ण खोप लगाएका छन् । ठूलो जनसंख्याले पूर्ण खोप लगाएको भन्दै यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकहरूलाई बधाई दिएका छन् ।