नाइजेरियामा अज्ञात बन्दुकधारीद्वारा ११ जनाको हत्या

नाइजेरियामा अज्ञात बन्दुकधारीद्वारा ११ जनाको हत्या

एजेन्सी  |  विदेश  |  माघ १७, २०७८

उत्तरी नाइजेरियाको कादुना भन्ने राज्यमा अज्ञात बन्दुकधारीले कम्तीमा पनि ११ जना सर्वसाधारण नागरिकको हत्या गरेका बताइएको छ । सो राज्यमा विगतदेखि नै यस्ता हिंसात्मक हमलाहरू हुने गरेका छन् । हमलामा परी हप्तैपिच्छे नागरिकको ज्यान जाने गरेको छ ।

आइतबार बिहानीपख ती अज्ञात बन्दुकधारीहरूले कादुनाको जाको काताफ गाउँमा पुगेर अन्धाधुन्ध गोली प्रहार गरेका थिए । गोली लागेर सो गाउँका ११ जनाको घटनास्थलमै ज्यान गएको थियो भने अरू ६ जना गम्भीर रूपमा घाइते भएका छन् ।

उनीहरूले यस गाउँका कम्तीमा पनि ३६ वटा घरमा आगजनी पनि गरेका छन् ।

प्रहरी निकै बेरपछि घटनास्थलमा पुगेको र त्यहाँ घाइते भएकाहरूलाई अस्पताल पुर्‍याएको थियो । हमला कसले र किन गरेको हो भन्नेबारेमा पत्ता लागेको छैन । यस विषयमा अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।