अस्पतालद्वारा अभिनेता मोर्गनको तस्बीर दुरूपयोग

अस्पतालद्वारा अभिनेता मोर्गनको तस्बीर दुरूपयोग

एजेन्सी  |  लोकरञ्जन  |  माघ १९, २०७८

भारतको केरलास्थित एक निजी अस्पतालले हलिउडका प्रख्यात अश्वेत अभिनेता मोर्गन फ्रिमेनको तस्बीर दुरूपयोग गरेको छ । अस्पतालले आफ्नो छालाको उपचारसम्बन्धी विज्ञापनमा अभिनेताको तस्बीर राखेर दुरूपयोग गरेको हो । मोर्गन ओस्कार अवार्ड विजेता अभिनेता हुन् ।

मोर्गनको तस्बीरसहितको विज्ञापन सामाजिक संजालमा अस्पतालले राखेपछि त्यसको चौतर्फी विरोध भएको छ । विरोधपछि अस्प्तालले तस्बीर प्रयोग गरेकोमा माफी मागेको छ ।

ट्विटर प्रयोगकर्ता रेजिमोन कुट्टप्पनले अस्पतालको विज्ञापनको तस्बीर आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा शेयर गरेका छन् । तस्बीर शेयरसँगै उनले मोर्गनलाई ट्याग पनि गरेका छन् । ‘सर मोगर्न फ्रिमेन तपाईंको तस्बीर भारतको केरालामा एक अस्पतालका डर्मेटोलोजी डिपार्टमेन्टले आफ्नो विज्ञापनका लागि प्रयोग गरेका छन् । यो तस्बीरसँगै उसले उपचारमार्फत छालाका सम्पूर्ण समस्या समाधान गर्ने भनेको छ’, उनले लेखेका छन् ।

रेजिमोनले यो सूचना ट्विटरमा राखेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि वडकरा कोअपरेटिभ अस्पतालले आफ्नो विज्ञापनमा मोर्गनको तस्बीर प्रयोग गरेकामा माफी मागेको छ । ‘एक डर्मोटोलोजी हालै हाम्रो विभागमा जोडिएको हो । हाम्रो अस्पतालमा छालाको उपचार पनि गरिन्छ भन्नका लागि मोर्गनको तस्बीर राखेर विज्ञापन गरिएको थियो । त्यसका लागि छुट्टै विज्ञापन बोर्ड बनाइएको थियो’, अस्पतालका मार्केटिङ हेड टी सुनिलले भनेका छन् ।

सुनिलले विज्ञापनलाई एक स्थानीय डिजाइनरले बनाएको र जानकारीको अभाव र गम्भीरतालाई नबुझेका कारण ओपीडीको अगाडि लापरबाही ढंगले विज्ञापन राखिएको दाबी गरे । तर, एक व्यक्तिले विज्ञापनमा नेल्सन मण्डेलाको तस्बीर किन राखेको भनेपछि अस्पताल प्रशासनले शनिबारदेखि माफी माग्दै विज्ञापन हटाएको छ ।