दक्षिण कोरिया एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम

दक्षिण कोरिया एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम

एजेन्सी  |  खेलकुद  |  माघ १९, २०७८

दक्षिण कोरिया कतार विश्वकप- २०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ । 

यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो । दुबईको अल रसिद मैदानमा भएको खेलमा कोरियालाई जिताउन जिन सु किम र चिङ हुनले १-१ गोल गरे । 

यससँगै समूह ‘ए’बाट विश्वकपमा २ टोलीले स्थान बनाए । इरान ८ खेलबाट २२ अंकसहित शीर्षस्थानमा रहँदै यसअघि नै विश्वकपमा स्थान बनाएको छ । समान ८ खेलमा २० अंक जोडेको कोरिया दोस्रो स्थानमा रहँदै छनोट भयो । 

यता, समूह ‘बी’को खेलमा जापानले घरेलु मैदानमा साउदी अरेबियालाई २-० अन्तरले पराजित  गर्दै जापानको जीतमा तुकुमी मिनामिनो र जुन्या इतोले १-१ गोल गरे । जापानको जीतसँगै समूह ‘बी’मा विश्वकपमा स्थान बनाउन ३ टोलीबीच प्रतिस्पर्धा हुने भएको छ । 

८ खेलबाट साउदी १९ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १८ अंक छ भने १५ अंकको अस्ट्रेलिया तेस्रो स्थानमा छ । 

मंगलबार नै भएको खेलमा अस्ट्रेलियाले ओमानसँग २-२ गोलको बराबरी खेल्यो । यस समूहबाट समेत २ टोलीले विश्वकपमा सिधै स्थान बनाउनेछन् । दुवै समूहका तेस्रो टोलीबाट विजेता हुने टिमले दक्षिण अमेरिकी पाँचौँ टोलीसँग प्रतिस्पर्धा गर्दै विश्वकपको ढोका खोल्न सक्नेछ ।