जसले आफ्नै टाउकोमा गोली भएको २० वर्षपछि थाहा पाए

जसले आफ्नै टाउकोमा गोली भएको २० वर्षपछि थाहा पाए

एजेन्सी  |  विदेश  |  माघ १९, २०७८

अत्यधिक टाउको दुखेर अस्पताल पुगेका चीनका एक पुरुषको खप्परभित्र एउटा गोली फेला परेको छ । सो गोली करिब २० वर्षअघि उनको खप्परभित्र पसेको खुलासा भएको छ ।  सेन्झेनका २८ वर्षीय सिआओ चेनलाई आफूले थाहा पाएदेखि नै बारम्बार टाउको दुख्ने गर्थ्यो । पछिल्लो समयमा उनलाई झनै बढी टाउको दुख्न थालेको थियो । 

चेनले सुरुमा पर्याप्त नसुतेका कारण टाउको दुखेको हुन सक्ने अनुमान गरे । तर, टाउको दुखाइका कारण उनी रातभर सुत्न सकेनन् । अन्त्यमा उनलाई अस्पताल नगई सुखै भएन । अस्पतालका चिकित्सकले उनको टाउको दुख्नुको अनौठो कारण पत्ता लगाए । 

एमआरआई गरेपछि सेन्झेन युनिभर्सिटी जनरल अस्पतालका चिकित्सकले चेनको खोपडीको बायाँ भागमा अनौठो वस्तु फेलापारे । नजिकबाट जाँच गर्दा सो वस्तु धातुको गोली भएको खुलासा भयो । सो गोली उनको खप्परभित्र कसरी पस्यो भन्नेबारेमा अस्पतालका कर्मचारीले उनका अभिभावकलाई सोधेको थियो । 

करिब ८ वर्षको हुँदा उनी र उनका भाइ घरमा एयर गन खेलिरहेका थिए । गोली अकस्मात पड्किँदा उनको टाउकोको खोपडीभित्र पसेको थियो । टाउकोमा गोली लागेको थाहा पाएर बाबुआमाले गाली गर्ने डरले उनीहरूले कसैलाई भनेनन् ।

तसर्थ, उनीहरूले केही भनेनन् । कपालले टाउकोको घाउ ढाक्दै गयो । अभिभावकले पनि केही थाहा पाएनन् । त्यतिबेला घाउ पनि खासै दुखेन । 
गत महिना आकस्मिक शल्यक्रिया गरेर उनको टाउकोको गोली निकालिएको थियो ।