म्यानमारमा सुकीविरुद्ध भ्रष्टाचार मुद्दा

म्यानमारमा सुकीविरुद्ध भ्रष्टाचार मुद्दा

एजेन्सी  |  विदेश  |  माघ २१, २०७८

म्यामारको सैन्य सरकारले प्रजातन्त्रवादी नेत्री आङ सान सुकीविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको छ । यससँगै सैन्य सरकारले अहिलेसम्म सुकीविरुद्ध ११ वटा मुद्दा दायर गरेको छ । 

देशको उत्तर-पश्चिम सागाइङ क्षेत्रका सर्वसाधारणलाई सेनाले फेरि आक्रमण गरेको विवरण सार्वजनिक भइरहेका बेला सरकारले सुकीविरुद्ध मुद्दा दायर गरेको हो । सेनाले सो क्षेत्रमा ४०० घरहरू जलाएको जनाइएको छ । 

आफ्नी आमाको नाममा स्थापना भएको एउटा परोपकार संस्थालाई गैरकानुनी ढंगले ५ लाख ५० हजार सहयोग गरेको भन्दै प्रहरीले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सो मुद्दामा अदालतको सुनुवाइका बारेमा विस्तृत विवरण खुलाइएको छैन । 

सैन्य सरकारविरुद्ध उत्तेजक अभिव्यक्ति दिएको, कोभिड नियम पालना नगरेको र दूरसंचारको नियम उल्लंघन गरेको विभिन्न अभियोगमा सुकीलाई यसअघि नै अदालतले ६ वर्ष जेल सजाय तोकेको छ । गत वर्षको फेब्रुअरीमा निर्वाचित सरकारलाई कु गरेपछि सुकी घरमै नजरबन्दमा छन् ।