भारतलाई यू- १९ क्रिकेट विश्वकपको उपाधि

भारतलाई यू- १९ क्रिकेट विश्वकपको उपाधि

एजेन्सी  |  खेलकुद  |  माघ २३, २०७८

इंग्ल्याण्डलाई ४ विकेटले पराजित गर्दै भारतले आईसीसी यू- १९ एक दिवसीय क्रिकेट विश्वकपमा उपाधि जितेको छ । शनिबार सर भिभियन रिचार्ड्स स्टेडियममा सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो ।

भारतका लागि शैक रासिदले र निशान्त सिन्धुले अर्धशतक प्रहार गरेका थिए । रासिदले ८४ बलमा ६ चौकासहित ५० रन गर्दा समान ५० रन जोडेका सिन्धुले ५४ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए ।

इंग्ल्यान्डका जोसुवा बोडेन, जेम्स र थोमस एस्पिनवेलले समान २ विकेट लिए । यसअघि टस जितेर ब्याटिङमा आएको इंग्ल्यान्डले ४४.५ ओभरमा सबै विकेट गुमाउँदै १८९ रनको योगफल खडा गरेको थियो ।

इंग्ल्यान्डका लागि जेम्स रेवले सर्वाधिक ९५ रनको योगदान गरे । उनले ११६ बलमा १२ चौका प्रहार गरेका थिए । यस्तै, जेम्स सेल्सले ३४, जर्ज थोमसले २७ तथा रेहान ऐमद र एलेक्स हर्टनले समान १० रन गरे ।

भारतका राज बाबाले ५ विकेट लिँदा रविकुमारले ४ र कुशल तम्बेले १ विकेट लिए । यस संस्करणसँगै भारतले सर्वाधिक ५ पटक युवा एक दिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ । त्यस्तै, इंग्ल्यान्डले एक पटक मात्र युवा विश्वकपको उपाधि उचालेको छ ।