अफगानिस्तानबाट ४ महिनामा १० लाखभन्दा बढी बाहिरिए

अफगानिस्तानबाट ४ महिनामा १० लाखभन्दा बढी बाहिरिए

एजेन्सी  |  विदेश  |  माघ २३, २०७८

पछिल्लो ४ महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।

टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन् । एक निजी यातायात उद्योगका प्रमुखले दैनिक ४ हजार मानिस इरान जाने गरेको बताएका छन् ।

'समस्याहरू सबैलाई स्पष्ट छन् । त्यहाँ गरिबी, बेरोजगारी र युवाहरूका लागि शैक्षिक अवसर छैन', उनले भने, 'म बाहिर जान चाहन्छु किनभने म मेरा छोराछोरीको (२ छोरा र २ छोरी) राम्रो वातावरणमा पढाइ जारी राख्न चाहन्छु ।'

उनले उच्चशिक्षा मन्त्रालयमा १० वर्ष काम गरेका थिए । अयुबीले अफगानिस्तानमा आफ्नो र उनको परिवारका लागि जीवन कठिन भएको बताउँदै आफू इरान जान चाहेको उल्लेख गरेका छन् ।

हेरात प्रान्तका धेरै यात्रुहरू यातायात उद्योगका प्रमुखहरूले भनेअनुसार इरानको सीमा पार गर्न खोज्ने मानिसहरू नै छन् । तीमध्ये केही पाकिस्तान पनि जाने गरेको बताए ।

एक यातायात कम्पनीका प्रमुख इस्माइल जावानमर्द अमरखेलले भने, 'हामी यहाँ (काबुल)बाट कान्दाहार, निमरोज र हेरात प्रान्तमा हरेक दिन ३ हजार ५०० देखि ४ हजार मानिसलाई लैजान्छौँ ।'

न्युयोर्क टाइम्सले सामूहिक आप्रवासनले यस क्षेत्र र युरोपमा सन् २०१५ को आप्रवासी संकटको पुनरावृत्तिको जस्तै चिन्ता बढाएको छ । त्यतिबेला १० लाखभन्दा बढी मानिसहरू प्रायः सिरियालीहरूले युरोपमा शरण खोजेका थिए ।

यद्यपि, तत्काल आर्थिक संकटका कारण धेरैले देश छाड्ने छाँट गरिरहेका छन् । तालिबान शासनमा महिलाहरूमाथिको प्रतिबन्ध र बदलाको डरले थप संकट बढाएको छ । त्यसैगरी इरानमा शरणार्थी अधिकार रक्षकहरूले इरानमा अफगान शरणार्थीहरूको स्थितिबारे थप चिन्ता व्यक्त गरेका छन् ।

'इरानमा रहेका अफगान शरणार्थीहरूले काममा पहुँच र शरणार्थी परिचयपत्रको अभाव जस्ता विभिन्न चुनौतीहरूको सामना गरिरहेका छन् । शरणार्थीलाई सधैँ फिर्ता पठाइने जोखिममा हुन्छन्', शरणार्थी अधिकारकर्मी नकिबुल्लाह रसिखले भने ।

इस्लामिक इमिरेट्सले अफगानिस्तानमा आर्थिक र मानवीय संकटको सामना गर्न प्रयास भइरहेको बताएको छ । इस्लामिक इमिरेट्सका उपप्रवक्ता बिलाल करिमीले भने, 'इस्लामिक इमिरेट्सको तथ्यांकले दैनिक रूपमा अफगानिस्तानबाट १ हजार ५०० देखि २ हजार मानिसहरू इरान जाने गरेका देखाउँछ ।'

इरान प्रवेश गर्ने धेरै आप्रवासीहरू टर्कीको सीमा पार गर्न र त्यहाँबाट शरणका लागि युरोप जान खोजिरहेका छन् ।