'पुटिनले केही दिनभित्र युक्रेनमा हमला गर्न सक्छन्'

'पुटिनले केही दिनभित्र युक्रेनमा हमला गर्न सक्छन्'

एजेन्सी  |  विदेश  |  माघ २४, २०७८

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले केही दिनभित्रै युक्रेनमाथि हमला गर्न सक्ने चेतावनी दिएका छन् । 

‘हामी झ्यालमा छौँ । कुनै पनि दिन वा केही सातापछि रसियाले युक्रेनमाथि सैन्य हमला गर्न सक्छ वा उसले कूटनीतिक मार्ग छनोट गर्न पनि सक्छ’, फक्स न्युज सन्डेसँग सुलिभानले भने । पछिल्ला सातामा रसिया र युक्रेनबीचको तनाव चर्किएको छ । दुवै पक्षले सीमामा ठूलो संख्यामा सेना तैनाथ गरेका छन् । तनाव अन्त्यका लागि कूटनीतिक पहल गर्न दुवै पक्षमाथि दबाब बढेको छ  ।

रसियाको सम्भावित अतिक्रमलाई लिएर अमेरिका र पश्चिमा देशहरूले त्रास व्यक्त गरेका छन् । युक्रेनमा आक्रमणको कुनै योजना नभएको तर सुरक्षासम्बन्धी माग पूरा नभए अनिर्दिष्ट सैन्य आक्रमण गर्ने चेतावनी दिएको छ । युक्रेनलाई नेटोको सदस्य बनाउन नहुने रसियाले बारम्बार माग गर्दै आएको छ ।

२ देशबीचको बढ्दो तनावले युद्धको अवस्था निम्त्याएको र यसले एसियाली देशहरूमा समेत असर गर्ने विज्ञहरूले बताउँदै आएका छन् । रसियाले युक्रेन अतिक्रमणका लागि आफ्नो ७० प्रतिशत सुरक्षाकर्मी जम्मा गरेको अमेरिकी अधिकारीहरूले दाबी गरेका थिए ।