को बन्ला लता मंगेशकरको सम्पत्तिको मालिक ?

को बन्ला लता मंगेशकरको सम्पत्तिको मालिक ?

एजेन्सी  |  विदेश  |  माघ २४, २०७८

'भारत रत्न’ लता मंगेशकरको आइतबार ९२ वर्षको उमेरमा निधन भयो । कोरोना संक्रमित भएपछि मुम्बईको ब्रीच केन्डी अस्पतालमा भर्ना भएकी उनले अस्पतालमै अन्तिम श्वास फेरिन् । उनको निधनपछि भारतभर शोकको लहर छाएको छ ।

लताले सन् १९४२ मा आफ्नो करियरको सुरुवात गरेकी थिइन् । उनले फिल्म ‘महल’को गीत ‘आएगा आने वाला’बाट पहिचान पाएकी थिइन् । लताले विश्वभरका करिब ३६ भाषामा ३० हजारभन्दा बढी गीत गाएकी छन् ।

एक गायिकाका रूपमा यति लामो करियरमा लताले निकै सम्पत्ति जोडिन् । लताको कुल सम्पत्ति ५० मिलियन अमेरिकी डलरको आसपास छ । उनको अधिकांश कमाइ गीतको रोयल्टी र त्यसको लगानीबाट प्राप्त हुन्थ्यो ।

उनले पहिलो पटक मराठी फिल्म ‘किती हसाल’का लागि गीत गाएकी थिइन् । यो उनको पहिलो गीत कहिल्यै रिलिज भएन । उनको पहिलो कमाइ २५ रुपैयाँ थियो । तर, जीवनको अन्तिम क्षणसम्ममा उनी करोडौँ सम्पत्तिको मालिक बनेकी थिइन् । अन्तिम समयसम्म उनको मासिक आम्दानी ४० लाख रुपैयाँ थियो ।

लताको दक्षिण मुम्बईको पेडर रोडमा घर छ, जसको नाम प्रभुकुञ्ज भवन हो । उनी यही घरमा बस्थिन् । यो घरको मूल्य करोडौँ पर्छ । लता कारको शौखिन थिइन् र उनीसँगै शेवरले, ब्युक र क्रिसलर ब्रान्डका गाडी थिए । लतालाई फिल्म निर्माता यश चोपडाले ‘वीर जारा’को गीत रिलिज हुनासाथ एक मर्सिडिज कार उपहार दिएका थिए ।

लताले आजीवन विवाह गरिनन् । उनलाई दागबत्ती उनका भाइ हृदयनाथ मंगेशकरले दिएका थिए, जो अब लताको सम्पत्तिको मालिक हुन सक्छन् । यद्यपि, अहिलेसम्म मालिक को हुने भन्ने आधिकारिक खुलेको छैन ।