अस्ताए ‘महाभारत’का भीम

अस्ताए ‘महाभारत’का भीम

एजेन्सी  |  लोकरञ्जन  |  माघ २५, २०७८

लोकप्रिय धार्मिक धारावाहिक ‘महाभारत'का ‘भीम’ अर्थात् प्रवीणकुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ । अभिनेता सोबती स्पाइनल समस्याबाट ग्रस्त थिए । यद्यपि, उनको निधनको प्रमुख कारणबारे केही खुलाइएको छैन । फिल्ममा काम गर्नुअघि प्रवीण एथ्लेटिक्सका खेलाडी थिए ।

प्रवीण पछिल्लो दशकमा लामो समयदेखि घरमै थिए । स्वास्थ्य अवस्था ठिक नभएपछि चिकित्सकले पनि उनलाई धेरै खानेकुरामा प्रतिबन्ध लगाएका थिए ।

अभिनयमा आउनुअघि प्रवीण एक हेमर र डिस्कस थ्रो एथ्लिट थिए । उनले एसियन गेम्समा ४ मेडल (२ स्वर्ण, १ रजत र १ कास्य) जितेका थिए । उनले २ ओलम्पिक खेलमा पनि भारतको प्रतिनिधित्व गरेका थिए ।

खेलमा राम्रो योगदान पुर्‍याएका उनलाई ‘अर्जुन अवार्ड’ दिइएको थियो । यस अवार्डसँगै उनले बोर्डर सेक्युरिटी फोर्समा डेपुटी कमान्डेन्टको जागिर पाएका थिए । खेलकुदमा सफल भएपछि उनले फिल्ममा आउने निर्णय लिएका थिए ।

प्रवीणले सन् १९८१ मा रिलिज फिल्म ‘रक्षा’बाट डेब्यु गरेका थिए । तर, उनले पहिचान भने ‘महाभारत’को ‘भीम’बाट पाए । उनको अन्तिम फिल्म सन् १९९८ मा रिलिज ‘ट्रन टु पाकिस्तान’ थियो ।