विन्टर ओलम्पिकः थप ३० खेलाडीमा कोरोना पोजिटिभ

विन्टर ओलम्पिकः थप ३० खेलाडीमा कोरोना पोजिटिभ

एजेन्सी  |  खेलकुद  |  माघ २५, २०७८

बेइजिङ विन्टर ओलम्पिक, २०२२ को चौथो दिन थप ३० जना खेलाडीमा कोरोना भाइरस देखिएको छ । आयोजकले मंगलबार थप ३० जना खेलाडीमा कोरोना देखिएको र सबै खेलाडी आइसोलेसनमा रहेको जनाएको हो । संक्रमित खेलाडी ७ दिन आइसोलेसनमा बस्नुपर्ने जनाइएको छ । 

‘हामी सकेसम्म धेरै मानिसलाई एकान्तबासबाट बाहिर निकाल्न अनुमति दिन्छौँ तर सुरक्षित’, बेइजिङ ओलम्पिकका मेडिकल विशेषज्ञ ब्रायन म्याकक्लोस्कीले भने । उनले ५० जना खेलाडी डिस्चार्च भइसकेको र केही खेलाडी अझै एकान्तबासमा भए पनि थप उपचारको खाँचो नभएको बताए । 

हाल ओलम्पिक बबलमा ३९३ पोजिटिभ केस रहेको बताइएको छ, जहाँ न्युज मिडिया र अफिसियलको संख्या बढी छ । २० फेब्रुअरीसम्म हुने विन्टर ओलिम्पिकका लागि १२ हजार ८०० मानिसको चीनमा आगमन भएको छ । 

प्रतियोगिताको चौथो दिन आइपुग्दा  आयोजक चीन र स्विडेनले सर्वाधिक ३ स्वर्ण पदक जितेका छन् । यस्तै, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मन, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् भने इटाली, अष्ट्रिया, क्यानाडा, जापान, स्विट्जरल्याण्ड, अस्ट्रेलिया र न्युजिल्यान्डले समान १ स्वर्ण पदक हात पारेका छन् । 

प्रतियोगितामा ३ हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको छ भने ९३ वटा देशले सहभागिता जनाएका छन् ।