युक्रेनमा रहेका सबै अमेरिकीलाई देश छाड्न अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान

युक्रेनमा रहेका सबै अमेरिकीलाई देश छाड्न अमेरिकी राष्ट्रपति बाइडेनको आह्वान

एजेन्सी  |  विदेश  |  माघ २८, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका सबै अमेरिकी नागरिकहररुलाई तत्काल देश छाड्न आह्वान गरेका छन् । युक्रेन तनावलाई लिएर अमेरिका र रुसबीच विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले सो आह्वान गरेका हुन् ।

युक्रेनमा रसियाली सैन्य कारबाहीको धम्की बढेको बाइडेनले  बताएका छन् । ‘अमेरिकी नागरिकहरूले तत्काल युक्रेन छाड्नुपर्छ’, एनबीसी न्युज समाचार संस्थालाई उनले भने, ‘हामीले विश्वकै टूलो सेनासँग डिल गरिरहेका छौँ । यो निकै जटिल अवस्था हो ।’

रसियाले युक्रेन अतिक्रमण गरे अमेरिकी नागरिकको उद्दारका लागि अमेरिकी सेना नपठाइने उनले बताएका छन् । युक्रेनमा ‘घटनाक्रम चाँडै उन्माद हुन सक्ने’ राष्ट्रपतिले बताए । ‘अमेरिका र रसियाले एकअर्कालाई गोली हान्न थालेको अवस्थामा त्यो विश्वयुद्ध हो । यसअघि हामीले देखेको भन्दा निकै भिन्न अवस्थामा छौँ’, उनले थपे । 

रसियाले युक्रेनको सीमामा करिब १ लाख सेना परिचालन गरेको छ, जसलाई लिएर पश्चिमा देशहरूले आपत्ति जनाउँदै आएका छन् । तर, रसियाले युक्रेनमा आफ्नो आक्रमण योजना नभएको बताउँदै आएको छ ।