इडेन गार्डेनमा शतकको खडेरी तोड्लान् त कोहली !

इडेन गार्डेनमा शतकको खडेरी तोड्लान् त कोहली !

एजेन्सी  |  खेलकुद  |  फाल्गुन ३, २०७८

भारतीय क्रिकेट टिमका पूर्वकप्तान विराट कोहलीको ब्याट नचलेको लामो समय भइसकेको छ । उनले अन्तिम पटक २०१९ नोभेम्बरमा बंगलादेशविरुद्धको पहिलो डे-नाइट टेस्टमा शतक बनाएका थिए । 

त्यसयता उनले शतक बनाउन सकेका छैनन् । अझै भनौँ, शतकको खडेरी जारी छ । लगातार उत्कृष्ट प्रदर्शन गर्न चुकेका कारण उनले कप्तानीसमेत त्याग्नुपर्‍याे । अहमदावादमा वेष्ट इण्डिजसँग भएको पछिल्लो वान डे सिरिजमा समेत कोहलीको ब्याट चल्न सकेन। 

उनले ३ खेलमा मात्र २६ रन बनाए । एसियाली क्रिकेटको मक्का भनिने कोलकताको इडेन गार्डेन स्टेडियममा भारतले बुधबारदेखि वेष्ट इण्डिजसँग ३ टी- २० सिरिज खेल्दै छ । यस सिरिजमा भने धेरैले कोहलीको ब्याटबाट शतकको आश राखेका छन् ।  

इडेन गार्डेन खराब फर्मसँग लडिरहेका ब्याट्सम्यानका लागि सधैँ भाग्यशाली रहने गरेका कारण पनि क्रिकेट पण्डितले कोहलीको ब्याटबाट शतकको आस राखेका हुन् । 

यस मैदानले धेरैलाई आफ्नो हराएको लय पुनः प्राप्त गर्न र आफ्नो करियर लामो बनाउन मद्दत गरेको छ, जसमा स्वदेश तथा विदेशका धेरै ब्याट्सम्यानहरू पर्छन् । भारतका मुहम्मद अजहरुद्दिन र भीभीएस लक्ष्मण र पाकिस्तानका युनुस खान जस्ता धेरै यसको उदाहरण हुन् ।

अजहरुद्दिनले जहिले पनि आफ्नो लय गुमाए । इडेनमा आएपछि मात्र फिर्ता पाए । अजहरुद्दिनले इडेनमा टेष्ट खेलमा ५ शतक प्रहार गरेका थिए । उनीसँगै लक्ष्मणलाई इडेनले नै टेस्ट क्रिकेटरको रूपमा स्थापित गरेको थियो । 

उनले सन् २००१ मा सोही मैदानमा अस्ट्रेलियाविरुद्ध २८१ रनको अतुलनीय इनिङस् खेलेका थिए । उनले यही मैदानमा ५ टेस्ट शतक पनि बनाएका थिए । यस्तो अवस्थामा इडेनमा लामो समय लय गुमाएका कोहली पनि लयमा फर्किने संकेत गरेका छन् । 

कोहलीले आफ्नो अन्तिम अन्तर्राष्ट्रिय शतक पनि यही मैदानमा बनाएका थिए । उनले अन्तिम पटक सन् २०१९ नोभेम्बरमा बंगलादेशविरुद्धको पहिलो डे–नाइट टेस्टमा शतक बनाएका थिए । 

भारत-वेष्ट इन्डिजबीचको ३ खेलको टी- २० सिरिज बुधबारदेखि सुरु हुँदै छ । सबैको नजर खराब लयमा रहेका कोहलीमाथि हुनेछ । टी- २० खेलमा शतक बनाउन सजिलो नभए पनि श्रीलंकाविरुद्धको एक दिवसीय खेलमा रोहित शर्मा एक्लैले २६४ रन बनाउन सक्ने मैदानमा यो असम्भव भने छैन । 

कोहली विश्वस्तरका ब्याट्सम्यान भएकाले उनी शतकबाट धेरै टाढा नभएको भारतीय ब्याटिङ प्रशिक्षक विक्रम राठौर बताउँछन् । तर, इडेन अहिलेसम्म अन्तर्राष्ट्रिय टी- २० शतकबाट बञ्चित छ । कोहलीले टेष्टमा २ र एक दिवसीयमा १ शतक प्रहार गरेका छन् । 

इडेनका क्युरेटर सुजन मुखर्जी इडेन गार्डेन स्टेडियमले खेलाडीको प्रतिभालाई न्याय गरेको बताउँछन् । उनी भन्छन्, ‘ब्याट्सम्यानलाई जति उपयुक्त हुन्छ, बलरका लागि पनि त्यति नै हुन्छ । यस मैदानमा बलरले पनि ब्याट्सम्यानले जस्तै सफलता पाएका छन् ।’