भारतीय टेस्ट कप्तान बन्दै ऋषभ पन्त !

भारतीय टेस्ट कप्तान बन्दै ऋषभ पन्त !

एजेन्सी  |  खेलकुद  |  फाल्गुन ४, २०७८

विराट कोहलीले भारतीय टिमका लागि तीनै प्रारूपको क्रिकेटमा कप्तानी छाडिसकेका छन् । उनको ठाउँमा रोहित शर्माले एक दिवसीय र टी- २० क्रिकेटमा कप्तानी गरिरहेका छन् । कोहलीले एक्कासि टेस्ट टोलीको कप्तानी छाडेपछि भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले टेस्टको नयाँ कप्तान कसलाई बनाउने भन्ने छलफलमा जुटेको छ । 

कोहलीको ठाउँमा नयाँ टेस्ट कप्तानको रूपमा ऋषभ पन्त फिट रहेको भारतका पूर्वकप्तान सुनिल गावस्कर बताउँछन् । उनी भन्छन्, ‘पन्तबाट म पछिल्लो समय निकै प्रभावित भएको छु अ। र, अब उनलाई टेस्ट टोलीको कप्तानी दिनुपर्छ ।’

पन्त एक मात्र स्टार खेलाडी हुन्, जो नयाँ टेस्ट कप्तान बन्ने दाबेदार छन् । पन्तले केप टाउनको कठिन पिचमा गत महिना दक्षिण अफ्रिकाविरुद्ध खेलेको टेस्ट सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट सिरिजमा पन्तको आक्रामक खेल देखिएको थियो । पन्तको यो स्टाइललाई फ्यानहरूले मनपराएपछि उनलाई कप्तान बनाउने माग उठेको थियो ।

पन्त किन टेस्ट कप्तान बन्नुपर्छ ?

रोहित शर्मा अहिले ३४ वर्षका भइसकेका छन् । यदि बीसीसीआईले भविष्यका बारेमा सोचिरहेको छ भने शर्मालाई टेस्ट कप्तान बनाउन चाँहदैन । उनी करियरको अन्ततिर आइपुगेका छन् । यस्तो अवस्थामा २४ वर्षीय पन्तले टेस्ट क्रिकेटको कप्तानी पाउन सक्छन् । कोहलीले २७ वर्षको उमेरमा टेस्टको कप्तानी पाएका थिए भने २९ वर्षको उमेरमा एक दिवसीय र टी- २० को कप्तानी पाएका थिए ।

बीसीसीआईको लक्ष्य पन्तलाई नयाँ कप्तानको रूपमा तयार गर्ने हो । यदि भारतले नयाँ कप्तान बनाउने हो भने पन्त राम्रो विकल्प हुन् । उनले राम्रो प्रदर्शन गरिरहेका छन् । पन्तले वान डे र टी- २० खेलमा समेत राम्रो प्रदर्शन गरिरहेका छन् ।