ब्राजिलको बाढी पहिरोमा कम्तीमा ७१ जनाको मृत्यु : आपत्काल घोषणा

ब्राजिलको बाढी पहिरोमा कम्तीमा ७१ जनाको मृत्यु : आपत्काल घोषणा

एजेन्सी  |  विदेश  |  फाल्गुन ५, २०७८

रियो दि जेनेरियो ।  ब्राजिलमा बाढी र पहिरोमा परेर कम्तीमा ७१ जनाको मृत्यु भएको छ । ब्राजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन् । 
रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ । बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन् ।
 सो सहरका मेयरले आपत्काल घोषणा गरेका छन् । बाढीमा फसेका मानिसहरूको खोजी र उद्धार कार्य तीव्र पारिएको छ । 

सामाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरुमा बाढीले ठुलो क्षति पुर्‍याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ । ‘मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे,’ एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भने । बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उनले बताए । 

रसिया भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारेले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइने बताए । बाढीमा फसेका व्यक्तिको उद्धारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ । 

सबैभन्दा बढी प्रभावित क्षेत्रमा ८० घरमा पानी बगेर क्षति पुगेको अनुमान गरिएको छ ।