अस्ट्रेलिया 2 वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

अस्ट्रेलिया 2 वर्षपछि अन्तर्राष्ट्रिय यात्रुका लागि खुला

एजेन्सी  |  विदेश  |  फाल्गुन ९, २०७८

अस्ट्रेलियाले २ वर्षपछि पहिलो पटक आफ्नो अन्तर्राष्ट्रिय सीमा पुनः खुला गरेको छ । कोरोना भाइरसविरुद्ध पूर्ण खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । 

कोभिडको कारण देखाउँदै सन् २०२० को मार्चमा बन्द गरेपछि देशमा यात्रासम्बन्धी कडा प्रतिबन्ध लगाइएको थियो । 

अस्ट्रेलियालीहरू र अरू केहीलाई गत वर्षको अन्त्यबाट फर्कन अनुमति दिइएको थियो । तर, अधिकांश विदेशी फर्किन पाएका थिएनन् ।

सयौँ मानिस उडानमार्फत आउन थालेपछि सिड्नी विमानस्थलमा मानिसहरूको भावपूर्ण पुनर्मिलन भएको थियो । सोमबार साँझसम्म अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान अवतरण हुने अनुमान गरिएको छ । 

‘सरकारले अस्ट्रेलियालीहरूको स्वास्थ्यलाई सुरक्षित राख्दै आर्थिक सुधारलाई सुनिश्चित गर्नेछ’, सरकारले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नयाँ व्यवस्थाअनुसार खोपको पूर्ण मात्रा लगाएका यात्रुहरू क्वारेन्टाइनमा बस्नुपर्नेछैन । तर, खोप नलगाएका यात्रुहरूले आफ्नै खर्चमा १४ दिनसम्म होटलमा बस्नुपर्ने हुन्छ । उनीहरू पश्चिम अस्ट्रेलियाबाहेक सबै राज्यमा आवतजावत गर्न पाउनेछन् । 

अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेशको अनुमतिसँगै पर्यटकहरूको प्रबाह बढ्ने विश्वास गरिएको छ । सन् २०१९ मा झन्डै ९५ लाख विदेशी पर्यटकले अस्ट्रेलियाको भ्रमण गरेका थिए ।

अस्ट्रेलियामा कोभिडका कारण अहिलेसम्म करिब ४ हजार ९०० जनाको मृत्यु भएको छ ।