'रुसले युक्रेनको सीमामा सशस्त्र उपकरण र सेनाको फिल्ड तैनाथ गर्‍याे'

'रुसले युक्रेनको सीमामा सशस्त्र उपकरण र सेनाको फिल्ड तैनाथ गर्‍याे'

एजेन्सी  |  विदेश  |  फाल्गुन ९, २०७८

रुसले युक्रेनसँगको सिमानामा सशस्त्र उपकरण र सेनाको नयाँ फिल्ड तैनाथ गरिरहेको स्याटेलाइट तस्बीरले देखाएको एक निजी अमेरिकी कम्पनीले दाबी गरेको छ । 

नयाँ गतिविधिले बढ्दो सैन्य तयारी गरेको संकेत गरेको अमेरिकास्थित म्याक्सर टेक्नोलोजीका निर्देशकले बताएका छन् । तस्बीर सार्वजनिक गरेको सो कम्पनीले केही सातादेखि रुसी सेनाको निर्माणलाई ट्र्याक गरिरहेको छ । 

युक्रेनसँगको सिमानामा रहेको रुसी व्यारेकबाट सशस्त्र उपकरण र सेनाका नयाँ फिल्ड तैनाथ गरेको स्याटलाइट तस्बीरले देखाएको सो कम्पनीले जनाएको छ । 

आइतबार सोलोटी क्षेत्रका धेरै लडाइँ एकाइहरू र सहयोगी उपकरणहरू प्रस्थान गरिसकेको स्याटलाइट तस्बीरहरूले देखाएका थिए । 

सो क्षेत्रभर सवारी साधनको ट्र्याक र सशस्त्र उपकरण बोकेका कन्भोयका ताँती देखिएका पनि कम्पनीले जनाएको छ । 

ट्र्याक र हिउँका आधारमा ती गतिविधि हालसालैको भएको म्याक्सर न्युज व्युरोका वरिष्ठ निर्देशक स्टेफेन वुडले रोयटर्स समाचार संस्थालाई बताए ।

‘यसले बढ्दो तत्परताको अवस्था संकेत गर्छ’, वुडले भने ।