बलिउड अभिनेता सोनु सुदको गाडी नियन्त्रणमा

बलिउड अभिनेता सोनु सुदको गाडी नियन्त्रणमा

एजेन्सी  |  लोकरञ्जन  |  फाल्गुन ९, २०७८

बलिउड अभिनेता सोनु सुदको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पञ्जाबमा भएको ११७ सदस्यीय विधानसभा चुनावको मतदान स्थलमा जबर्जस्ती गाडी घुसाउने प्रयास गरेपछि उनको गाडीलाई नियन्त्रणमा लिइएको हो ।

यस पटकको चुनावमा सोनुकी बहिनी माल्भिका कांग्रेसको टिकटमा मोगाबाट चुनाव लडिरहेकी छन् । बहिनीको प्रचारका लागि सोनु अहिले पञ्जाबमा छन् । यहीबीचमा उनी मतदान भइरहेको स्थानमा गाडी लिएर जाने प्रयास गरिरहेका थिए ।

मोगा जिल्लाका पीआरओ प्रभदीप सिंहले सोनु जबर्जस्ती मतदानको बुथमा पस्ने प्रयास गरेकाले उनको गाडीलाई नियन्त्रणमा लिएर घर पठाइएको बताए । सोनुले पुनः गाडीलाई बाहिर निकाले कारबाही हुने उनले जानकारी दिए ।

यता, सोनुले भने आफूहरू निष्पक्ष चुनाव चाहेकोले विभिन्न बुथमा विपक्षी दल अकालीका कार्यकर्ताले फोनमा धम्क्याउँदै भोट खसाउन लगाएको थाहा पाएर त्यसको अनुगमनमा गएको दाबी गरे । ‘केही बुथमा पैसा बाँडिएको छ । हाम्रो यो कर्तव्य हो कि हामी त्यसको अनुसन्धान गरौँ र निष्पक्ष चुनाव सुनिश्चित गरौँ । त्यही कारण म त्यहाँ गएको थिएँ’, उनले भनेका छन् ।

सोनुले मोगाका अन्य दलका उम्मेदवारहरूले मतदातासँग भोट किनिरहेको आरोप लगाए । उनले यो मामलामा तुरुन्त 'एक्सन' लिन प्रशासनसँग आग्रह गरेका छन् ।