युक्रेनस्थित रुसी कूटनीतिक नियोग खाली गर्दै मस्को

युक्रेनस्थित रुसी कूटनीतिक नियोग खाली गर्दै मस्को

एजेन्सी  |  विदेश  |  फाल्गुन ११, २०७८

रुसले युक्रेनमा आफ्ना कूटनीतिक नियोगबाट कर्मचारी हटाउने भएको छ । रुसी संसदले राष्ट्रपति भ्लादिमिर पुटिनलाई पूर्वी युक्रेनमा रुसी फौज परिचालन गर्न अनुमति दिएको थियो । 

‘(कूटनीतिज्ञहरूको) जीवन रक्षाका लागि युक्रेनमा रहेका रुसी विदेशी नियोगका कर्मचारीहरूलाई हटाउने निर्णय रुसी नेतृत्वले गरेको छ । निकट भविष्यमा नै यो कार्यान्वयनमा आउनेछ', मस्कोका विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।

कूटनीतिज्ञहरूलाई धम्की आएको र दूतावास बारम्बार आक्रमणअन्तर्गत रहेको विदेश मन्त्रालयले जनाएको छ ।

युक्रेन अराजकताको भासमा डुबेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रुसले युक्रेनमाथि हमलाको योजना बनाएको भन्दै अमेरिकाले बताइरहेका बेला धेरै पश्चिमी दूतावासहरू युक्रेनको राजधानी किभबाट पोल्यान्डको सीमा नजिकैको लभिभ शहरमा सारिएका छन् ।