युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरोध

युक्रेनलाई सहयोग गर्न जेलेन्स्किीले फेरि गरे पश्चिमा गठबन्धनलाई अनुरोध

एजेन्सी  |  विदेश  |  फाल्गुन १३, २०७८

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले युक्रेनलाई सहयोग गर्न र रुसको पासविक हमला रोक्न फेरि अर्को पटक अनुरोध गरेका छन् । रुसी सेनाविरुद्ध आफूहरु एक्लै लड्नुपरेको बताउँदै उनले पश्चिमा देशहरू समक्ष यस्तो अनुरोध गरेका हुन् । यसअघि जेलेन्स्कीले अमेरिकी सैन्य गठबन्धन नेटो र पश्चिमा देशहरूले युक्रेनलाई सहयोग नगरेको बताएका थिए । 

‘हामीहरूले हाम्रो देशलाई एक्लै जोगाइरहेका छौँ । हिजो जस्तै विश्वकै सबैभन्दा शक्तिशाली फौजले टाढाबाट हेरिरहेको छ’, राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने । 

आज उज्यालो नहुँदै युक्रेनमा धेरै मिसाइल आक्रमण भएको जेलेन्स्किीलेले पुष्टि गरेका छन् । स्थानीय समयअनुसार बिहान ४ बजे हमला भएको उनले बताएका छन् ।

रुसको आक्रमणले सैन्य र नागरिक दुवैलाई निशाना बनाएको उनले बताएका छन् । रुसले यसअघि सर्वसाधारणमाथि हमला नगरेको बताएको थियो ।