'रुसी योजना तोड्यौँ, सरकार डगमगाएको छैन'

'रुसी योजना तोड्यौँ, सरकार डगमगाएको छैन'

एजेन्सी  |  विदेश  |  फाल्गुन १५, २०७८

युक्रेनको राजधानी शहर किभलाई रुसी सेनाले चारैतिरबाट मिसाइलले हमला गरे पनि सरकार कत्ति पनि नडगमगाएको र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको पकडमा रहेको बताइएको छ । युक्रेनी सेना राजधानी किभ, दक्षिणी शहर उडिसा र उत्तरपूर्वी सहर खार्किभमा लडिरहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । 

‘अतिक्रमणकारीहरूले  हाम्रो राज्यको केन्द्रलाई अवरोध गर्न चाहन्छन्', राष्ट्रपतिले भने, ‘हामीले उनीहरूको योजना तोड्यौँ ।’ रुसी सेनाले किभलाई घेरा हालेपछि सरकारले त्यहाँका स्थानीयलाई घरभित्रै बस्न भनेको छ ।

रुसी हमलामा अहिलेसम्म २४० सर्वसाधारणको हताहत भएको राष्ट्रसंघले जनाएको छ । युक्रेनले सर्वसाधारणसहित आफ्ना १३७ जनाको मृत्यु भएको  पुष्टि गरेकाे छ । रुसी सेनातर्फ भएको हताहतबारे मस्कोले अहिलेसम्म केही उल्लेख गरेको छैन । 

रुसी क्षेप्यास्त्रले राजधानीबाट केही किलोमिटर टाढा रहेको शहरको एउटा तेल डिपोमा हमला गरेका छन् । अहिले डिपोबाट निस्किएको विषाक्त धुँवाबाट वरपरको वातावरण प्रदूषित भएको प्राप्त विवरणहरूमा जनाइएको छ ।

रुसी हमला सुरु भएपछि राजधानीका मानिसहरूले रातभर अन्डरग्राउन्ड आश्रयमा बिताएका छन् ।