रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति

रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति

एजेन्सी  |  विदेश  |  फाल्गुन १६, २०७८

रुसी सेनाको गोलाबारीबाट विश्वकै ठूलो जहाजमा क्षति पुगेको छ । विश्वकै ठूलो जहाजलाई रुसी सेनाले युक्रेनको राजधानी किभ नजिक क्षति पुर्‍याएकाे युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले बताएका छन् ।

पाँचौँ दिन मस्कोले युक्रेनमाथि आक्रमण गरिरहेका बेला विदेशमन्त्री कुलेबाले सो खुलासा गरेका हुन् । 

रुसको गोलाबारीपछि एएन–२२५ मिरियामा क्षति पुगेको थियो । युक्रेनको एरोनेटिक्स कम्पनी एन्टोनोभले निर्माण गरेको एएन–२२५ मिरियामा विश्वकै सबैभन्दा ठूलो कार्गो जहाज बताइन्छ ।रुसी सेनाको गोलाबारीपछि किभबाहिर रहेको हस्टोमेल एयरपोर्टबाहिर सो जहाज जलेको थियो । 

‘विश्वकै ठूलो मिरिया ‘द ड्रिम’लाई रुसी अतिक्रमणकारीहरूले किभ नजिकैको मैदानमा आक्रमण गरेका छन् । 'हामीले फेरि जहाज बनाउनेछौँ । हामी बलियो, स्वतन्त्र र लोकतान्त्रिक युक्रेनको हाम्रो सपना पूरा गर्नेछौँ’, देशको एउटा आधिकारिक ट्विटर ह्यान्डलमा ट्विट गरिएको छ ।

ट्विटसँगै युक्रेनको ट्विट ह्यान्डलमा एउटा तस्बीर र क्याप्सन पोस्ट गरिएको छ । क्याप्सनमा लेखिएको छ, ‘उनीहरूले हाम्रो सबैभन्दा ठूलो जहाज जलाएका छन् तर हाम्रो मिरिया कहिल्यै विनाश हुनेछैन ।’