आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

आइतबारसम्म युक्रेन छाड्ने मानिसको संख्या १५ लाख पुग्ने अनुमान

एजेन्सी  |  विदेश  |  फाल्गुन २२, २०७८

रुसी सेनाले युक्रेनमा हमला गरेको ११औँ दिन आज पनि युक्रेनका विभिन्न शहरहरूमा तीव्र हमला भएका छन् । युक्रेनमा रुसी हमलाका कारण दिनहुँ विस्थापित हुनेको संख्या बढ्दो छ । रुसी हमलाका कारण आइतबारसम्म युक्रेन छाड्ने मानिसहरूको संख्या १५ लाख पुग्ने अनुमान गरिएको छ ।

किभले रुसमाथि थप प्रतिबन्ध लगाउन र आफूहरूलाई हतियार उपलब्ध गराउन पश्चिमा देशहरूलाई दबाब दिएको छ ।
रुसी फौजले घेरा हालेका २ दक्षिणी शहरहरू मारिओपोल र भोलनोभाखामा युद्धबिराम उल्लंघन भएको छ । युद्धबिराम उल्लंघन भएसँगै मस्को र किभले एकअर्कामाथि आरोप–प्रत्यारोप गरेका छन् । 

शनिबार राति एउटा टेलिभिजन सम्बोधनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रका स्थानीयलाई रुसी सेनाको प्रतिकार गर्न र लड्न आह्वान गरे ।

देशको पुनर्निर्माण गर्ने वाचा गर्दै उनले भने, ‘हामी बाहिर जानुपर्छ र हाम्रा शहरहरूबाट यो खराबलाई हटाउनै पर्छ ।’ यसअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले निशस्त्र र तटस्थ युक्रेन चाहेको बताएका थिए ।