रुसी सेनाद्वारा युक्रेन अस्पताल र विद्यालयलाई निशाना  !

रुसी सेनाद्वारा युक्रेन अस्पताल र विद्यालयलाई निशाना  !

एजेन्सी  |  विदेश  |  फाल्गुन २३, २०७८

मस्को । रुसले युक्रेनमा सर्वसाधारणहरुलाई निशाना बनाएको युक्रेन सरकारले बताएको छ । रुसले अस्पताल, नर्सरी र विद्यालयमा हमला गरेको युक्रेनका उपप्रधानमन्त्रीले बताएका छन् । 

युक्रेनी सेनाको कठोर प्रतिकारपछि रुसी सेनाले सर्वसाधारणमाथि ठूलो सैन्य कारबाही गरेको उपप्रधानमन्त्री ओलहा स्टेफानिसाइनाले बताए । 
आइतबार मात्र रुसी सेनाको गोलाबारीमा परेर इरपिनमा एकै परिबारका चार जना मारिएका थिए । उनीहरु युद्धग्रस्त इरपिनबाट सुरक्षित क्षेत्रतर्फ भाग्ने क्रममा मारिएका थिए । 

त्यस्तै मारिओपोल सहरमा सामूहिक उद्दार कार्य स्थगित भएको छ ।  मारिओपोल सहरमा पाँचौँ दिन पनि पानीको हाहाकार देखिएको छ । त्यहाँ उर्जा, खानेकुरा र पानी अभाव देखिएको बताइएको छ ।

रुसको शृंखलाबद्ध गोलाबारीका कारण सर्वसाधारणलाई सुरक्षित क्षेत्रतर्फ सार्ने योजना स्थगित भएको जनाइएको छ । तर, रुसले यसको दोष युक्रेनी फौजलाई लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्य केन्द्रहरुमाथि हमला भइरहेका बताएको छ । रुसी सेनाले घनाबस्ती भएको स्थानमा निशाना बनाएको बेलायत सरकारले आरोप लगाएको छ । 

आइतबार राष्ट्रसंघको अनुगमनकर्ताहरुका अनुसार रुसी सेनाले २४ फेब्रुवरीमा युक्रेनमा हमला गरेपछि ३६४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । तर, वास्तविक तथ्यांक सोभन्दा बढी भएको हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रसंघीय मानव अधिकार आयोग युएनएचसीआरका अनुसार रुसी सेनाले हमला गरेपछि मात्र १५ लाख युक्रेनीले देश छोडेका छन् । 

तर, रुसले सर्बसाधारणलाई निशाना नबनाइएको बताउँदै आएको छ । आफ्नो विशेष सैन्य कारबाही युक्रेनी राष्ट्रबादी र नवनाजीविरुद्ध भएको रुसी तर्क छ ।