आईपीएलः विराट कोहलीको अधुरो सपना पूरा गर्न सक्छन् यी ३ खेलाडीले

आईपीएलः विराट कोहलीको अधुरो सपना पूरा गर्न सक्छन् यी ३ खेलाडीले

एजेन्सी  |  खेलकुद  |  फाल्गुन २५, २०७८

भारतीय क्रिकेटर विराट कोहली आफ्नो उत्कृष्ट ब्याटिङका कारण संसारमै चर्चित छन् । उनको ब्याटिङ रोक्न विपक्षी बलरहरूलाई निकै कठिन हुने गरेको छ । तर, उनै विराटले चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्च बेङ्गलोर (आरसीबी)लाई एउटै उपाधि दिलाउन सकेका छैनन् । 

अब, उनको यो अधुरो सपना पूरा गर्न आरसीबीले टिममा यस्ता ३ खेलाडीलाई खरिद गरेको छ, जसले आरसीबीलाई पहिलो आईपीएल ट्रफी दिलाउन सक्छन् ।

फाफ डुप्लेसिस

आरसीबीले गत महिना आईपीएलको मेगा अक्सनबाट दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा आक्रामक ओपनर फाफ डुप्लेसिसलाई टोलीमा सामेल गरेको छ । डुप्लेसिस जब आफ्नो लयमा रहन्छन्, तब आक्रामक रूपमा कुनै पनि बलरविरुद्ध खेल्ने गर्छन् । यसअघि उनले चेन्नई सुपर किङ्ग्स (सीएसके)का लागि खेल्ने गर्थे । उनले आफ्नो क्षमता प्रदर्शन गर्दै सीएसकेलाई उपाधिसमेत दिलाएका थिए । 

डुप्लेसिसले आफ्नो ब्याटिङ प्रतिभा सबैलाई देखाएका थिए । उनको खतरानाक ब्याटिङ देखेर विपक्षी टिमसमेत चकित बनेका थिए । उनले आईपीएल- २०२१ का १४ खेलमा ६३४ रन बनाएका थिए । यसैले नै यस पटकको आईपीएल- २०२२ मा फाफ डुप्लेसिसको ब्याटिङ आक्रामक रूपमा चल्ने निश्चित छ । उनी नै आरसीबीको कप्तानका सबैभन्दा बढी दाबेदारसमेत हुन् । 

हर्षल पटेल 

पछिल्लो सिजन आरसीबीले प्लेअफसम्मको यात्रा तय गरेको थिया । तर, आरसीबी कोलकाता नाइट राइडर्स (केकेआर) हार्न पुगेको थियो । प्लेअफसम्म पुर्‍याउन हर्षल पटेलले महत्त्वपूर्ण भूमिका खेलेका थिए । आईपीएलको मेगा अक्सनमा पुनः हर्षल आरसीबीमै खरिद भएका छन् । हर्षललाई १० करोड ७५ लाख भारुमा आरसीबीले फिर्ता ल्याएको हो । 

पछिल्लो वर्मा हर्षलको बल खेल्न कुनै पनि ब्याटरलाई सहज हुने गरेको छैन । सुस्त गतिमा विकेट लिने कला चर्चितसमेत छ । उनले आईपीएल- २०२१ को १५ खेलमा ३२ विकेट लिएका थिए । यस्तो अवस्थामा हर्षल पटेलले यस पटक आरसीबीलाई उपाधि दिलाउन सक्छन् । 

वानिन्दु हसरंगा

आरसीबीले आफ्नो टिममा श्रीलंकाका स्टार स्पिनर वानिन्दु हसरंगालाई स्थान दिएको छ । हसरंगा आफ्नो घातक बलिङका कारण चर्चित छन् । उनी ब्याटरलाई आफ्नो स्पिनको जालमा फसाउन माहिर छन् । २४ वर्षीय स्पिनर कुनै पनि टोलीका लागि खतरा सावित हुन सक्छन् । उनलाई आरसीबीले १० करोड ७५ लाख भारुमा खरिद गरेको हो । 

हसरंगाले टी- २० विश्वकपमा ह्याट्रिक लिएर आफ्नो बलिङ क्षमता देखाएका छन् । खेलबाट नै उनले आफ्नो नाम विश्वमा कमाएका छन् । भारतीय पिच सधैँ स्पिनरलाई मद्दत गर्ने गर्छ । यसैको फाइदा वानिन्दु हसरंगाले आईपीएलमा लिन सक्छन् ।