युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने

युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने

एजेन्सी  |  विदेश  |  फाल्गुन २६, २०७८

रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् ।  युक्रेनमाथि रुसी हमलाकाे एउटा कारण युक्रेनले  नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’को राष्ट्रपति बन्न नचाहेको बताएका छन् ।

अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको छ । अमेरिकी गुप्तचर निकायले रुसी राष्ट्रपति पुटिनलाई एउटा ‘रिसाहा’ एकलकाँटे नेताको उपमा दिँदै युक्रेन अतिक्रमण उनको योजनाअनुसार नबढेको टिप्पणी गरेका छन् । पुटिनले पश्चिमा देशहरूलाई उत्तेजक आणविक धम्की दिएको समेत उनीहरूले आलोचना गरेका छन् । 

यसैबीच युक्रेनमाथि रुसी हमलासँगै अमेरिकालगायतका पश्चिमा देशहरुको प्रतिबन्धपछि मस्कोमा ऊर्जा संकट देखिने भएकाे छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमा तेल, ग्यास र कोइला आयातमा प्रतिबन्ध लगाएपछि मस्को प्रभावित हुने भएकाे हो ।   

युक्रेन पुटिनले कहिल्यै जित्न नसक्ने बताउँदै राष्ट्रपति बाइडेनले अमेरिकामा प्रतिबन्ध लगाएका थिए । त्यस्तै, बेलायतले पनि यसै वर्षको अन्त्यसम्म रुसी तेल आयतमा प्रतिबन्ध लगाउने जनाएको छ ।