अमेरिका र टर्कीका राष्ट्रपतिबीच युक्रेन संकटबारे छलफल

अमेरिका र टर्कीका राष्ट्रपतिबीच युक्रेन संकटबारे छलफल

एजेन्सी  |  विदेश  |  फाल्गुन २७, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेन र टर्कीका राष्ट्रपति रेसेप तैयपबीच बिहीबार टेलिफोन वार्ता भएको छ । सो वार्तामा युक्रेनमा रुसको अव्यावहारिक र अनुचित सैन्य कारबाहीका बारेमा छलफल भएको जनाइएको छ ।

'राष्ट्रपति बाइडेनले आज टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानसँग टेलिफोन वार्ता गर्नुभयो । सो अवसरमा उहाँहरूले रुसको अव्यावहारिक र अनुचित आक्रमणका बारेमा साझा चिन्ता व्यक्त गर्नुभएको छ', अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुवै देशले युक्रेनको सरकार र जनताका लागि आफ्नो बलियो समर्थन पुन: पुष्टि गर्दै रुसी आक्रामणको तत्काल अन्त्यको आवश्यकतालाई जोड दिएका थिए ।

राष्ट्रपति बाइडेनले द्वन्द्वको कूटनीतिक समाधानलाई समर्थन गर्ने टर्कीको प्रयासका साथै शान्ति र स्थायित्वलाई प्रवर्द्धन गर्न मद्दत गर्ने क्षेत्रीय नेताहरूसँग टर्कीको हालैको संलग्नताका लागि प्रशंसा व्यक्त गरेका जनाइएको छ ।