आत्मालोचना: माफी माग्ने वा गल्ती नदोहोर्‍याउने बाचा कि आत्मसमीक्षा !

फर्कलान् र ती दिनहरू

आत्मालोचना:  माफी माग्ने वा  गल्ती नदोहोर्‍याउने बाचा कि आत्मसमीक्षा !

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  फाल्गुन २९, २०७८

कवि शिरोमणि लेखनाथ पौड्यालले बहु प्रचलित अमर कविता बुद्धि विनोद प्रश्नावलीमा राखेका केही प्रश्नहरू नै सधैँ मनमा आउँछन् :

कहाँ थियो बास ? अघि म को थिएँ ?
कसो हुँदा यो पिँजरा लिँदो भएँ ? 
कहाँ छ जानु ? कुन साथ लीकन ? 
तँलाई मालुम् छ कि ? यो कुरा भन । 

यसरी जन जिब्रोमा कवि जीले आफूलाई चिन्ने प्रयास गर्नका लागि र आफूले आफैँलाई समीक्षा गर्ने कुरा धेरै वर्षअघि हाम्रो समाजमा पस्किनुभएको थियो । मैले पुनर्जन्म र पूर्व जन्मका बारेमा आफ्ना धारणा राख्दा मेरा अति प्रिय मित्र तथा पूर्वीय दर्शनका अध्येता बद्रीप्रसाद दाहालले कल्याण पत्रिकाको पुनर्जन्म अंक पढ्नका लागि सल्लाह दिनुभएको थियो ।

मैले सामान्यतया कल्याणका विभिन्न विशेष अंकहरू, महाभारत, केही पुराणका भावना, कुरान र बाइबल समेतको सामान्य अध्ययन गर्दा के निष्कर्षमा पुगेको छु भने, संसार अनित्य छ । मृत्यु अपरिहार्य छ र मृत्युपछिको समयमा कसरी बाँच्न सक्ने भन्ने चिन्ता सामान्य रूपका आकांक्षीहरूमा पनि पाइन्छ ।

नेपाली भाषामा प्रचलित आध्यात्मिक रामायण संस्कृतको मौलिक भाव समेट्दै नेपाली समाजलाई सुहाउँदो उदाहरणसहित अनुवाद गर्ने आदिकवि भानुभक्त आचार्यले घाँसीको कुवा खन्ने महान् विचारबाट प्रेरित भएर आफ्ना काव्यहरूको रचना गर्ने प्रेरणा पाएको बताउनुभएको छ । ‘नाम क्यै रहोस् भनेर कुवा खनायो ।’ कति भाव पूर्ण र कति सन्देश मूलक कविता रहेछ ।

सायद कवि शिरोमणि लेखनाथले पनि उपनिषद्को प्रश्नोपनिषद्बाट प्रेरणा लिएर आफैँलाई प्रश्न यसरी गर्नुभयो कि ती प्रश्नहरू प्रत्येक सचेत नागरिकका लागि आत्मसमीक्षाका विषय बनेका पाइन्छ ।

नेपाली राजनीतिमा, खासगरी वामपन्थी राजनीतिमा चल्तीको शब्द हो आत्मालोचना । त्यो शब्दको अर्थको रूपमा लिइन्छ–कसैले जानेर वा नजानेर गल्ती गर्छ अनि पछि गल्ती गरेको थाहा भएपछि या त्यसप्रति धेरै नकारात्मक प्रतिक्रिया आएपछि त्यो गल्ती रहेछ भनेर माफी माग्ने वा फेरि त्यो गल्ती नदोहोर्‍याउने बाचा या सार्वजनिक रूपमा गर्ने या त दलभित्रको सम्बन्धित फोरममा बाचा गर्ने । तर, आत्मसमीक्षा भनेको त आफैँले आफ्ना बारेमा गर्ने समीक्षा भन्ने बुझ्नुपर्छ । 

मानिस भएर, सचेत भएपछि केही भावना उम्रिन्छन् । चाहे ती देखिएर, सार्वजनिक रूपमा भनेर या मनको कुनै अन्तर कन्तुरमा राखेर या लिखित रूपमा कतै दर्ता गरेर राखिन्छ । सपना भन्छन् नि, हो, त्यही हो कल्पनाको आफ्नो अवस्था ।

सपनामा कहिले पनि मानिसले आफूलाई हारेको देखिँदैन । कतिसम्म भने मलाई न पौडी खेल्न आउँछ, न त मोटरसाइकल या कुनै प्रकारका मोटर गाडी चलाउन आउँछ तर सपनामा म पौडी यसरी खेल्छु कि अहिलेसम्म सपनामा डुबेको थाहा छैन । मोटरसाइकल पनि सपनामा मज्जाले दौडाएको छु र गाडी पनि कुदाएको छु ।

कल्पनामा या सपनामा पनि त्यही तरिका अपनाउँछु, जुन तरिकाले अरूले पौडी खेलेका देखेको हुन्छु,  गाडी कुदाएका देखेको हुन्छु । अर्थात् मेरो विपनाको महत्वाकांक्षा, जुन मलाई नै थाहा नदिई, मलाई जानकारी नै नदिई, मस्तिष्कको कुनै कुनामा रिल जस्तै गरी जम्मा भएर बसेको हुने रहेछ ।

जब म मबाट स्वतन्त्र हुँदो रहेछु अनि ती कल्पनाका कुनै बेलामा देखिएका सपना पूरा गर्नका लागि म स्वतन्त्र हुने रहेछु । निर्बाध स्वतन्त्र । फुक्काफाल । त्यसबेला मभन्दा जान्ने, मभन्दा ठूलो र मभन्दा संसारमा अरू कोही नभएजस्तो हुने रहेछ । सायद सपना भनेको त्यही स्वतन्त्रताको नाम हो । 

आफ्नो अहँ पूरा गर्ने आफ्नो स्वतन्त्रताको मञ्च । कहिले त्यहाँ सबै मानिसहरू नै नयाँनयाँ हुन्छन् तर माता र पिताका बारेमा नयाँ कुनै व्यक्ति देखिँदैन किनभने हाम्रो मस्तिष्कमा रहेको मुख्य चेतनाको स्थानमा त्यसबारेमा अर्को कुनै कल्पना कहिल्यै भएको नै हुँदैन ।

कुनै बेलामा मेरो जन्म यस्तो कुलमा भएको भए हुन्थ्यो भन्ने सपना देखेको भए सपनामा समृद्ध शाली परिवारमा तिनै माता पितासँग आफू होइन्छ । मलाई कति पटक सपनामा नचिनेकी महिलाले म तिम्री पत्नी हुँ भनेको र बच्चा पनि लिएर आएको देखेको छु र सपनामा नै म आत्तिएर यथार्थभन्दा फरक अवस्थामा पसिना पसिना भएर झल्याँस्स ब्यूँझँदा आफूले राहत महसुस गरेको छु ।

सायद कुनै बेलाको कुनै कुरा सुनेर, कुनै कथा सुनेर या कुनै सिनेमाको कुनै भागका कुराले मस्तिष्कको कुनै भागमा कुनै क्लेश बाँकी राखेकाले पनि होला या कुनै कुराको संकेत पनि होला, जुन कुरा हामीले बुझेका हुँदैनौँ या त्यस्तो व्याख्या गर्ने कुनै ज्ञान–विज्ञानको अनुसन्धान भएको छैन होला ।

त्यसो त सपना विज्ञानका पनि धेरै ठेली लेखिएका होलान्, समयका बारेमा लेखिएका धेरै ठेलीहरू त सबैजसो संस्कृतिका होलान् तर मानवीय मनोविज्ञानको अन्तर्यका बारेमा अनुमानसम्म लगाउने हो, ठ्याक्कै यस्तै हो भनेर भन्न त सकिँदैन किनभने मानिस प्रत्येक व्यक्ति आफैँमा एक एकाइ हो र अरुभन्दा फरक हुन्छ भन्ने मान्यता छ । 

संसारमा सबैभन्दा बढी चिन्नुपर्ने आफैँलाई रहेछ किनभने आफू नै आफूलाई पाल्ने, बिगार्ने, शत्रु, मित्र र अमर बनाउने माध्यम रहेछ । तर, सोचेजस्तो हुँदैन जीवन । हुँदो रहेनछ जीवन । यो उमेरमा आएर म आफैँलाई नियाल्ने कोसिस गरिरहेको छ । 

करिब करिब बाटो समाप्त हुन लागेको जस्तो लाग्छ किनभने कुनै पनि क्षण जीवनको अन्तिम क्षण हो । भनिन्छ नि, त्यही एकमुखी सास न हो, फेरुन्जेलसम्म जीवन छ, त्यो कति बेर जाने हो थाहा छैन । हाम्रो पूर्वीय मान्यतामा पिँजराको कुनै चरीको वा चराको जीवनसँग दाँजेको छ र पक्षी कति बेर पिँजराबाट बाहिर जाने हो, कसैलाई पनि थाहा छैन ।

मलाई भन्ने गर्छन् मानिसहरू अझै पनि कि तपाईंको सम्बन्ध त नेपाली कांग्रेसका ती शक्तिशाली नेताहरूसँग थियो, जसले बहुदलीय व्यवस्थामा जे पद पनि दिन सक्थे, जुनसुकै देशमा राजदूत बनाएर पनि पठाउन सक्थे, सांसद बनाउन सक्थे, मन्त्रीको पद हातहातमा थियो, बनाउन सक्थे तर तपाईं किन पछि पर्नुभयो ?

यदि कसैले धार्मिक कार्यक्रमहरूमा, आध्यात्मिक कार्यक्रमहरूमा जाने गरेको छ भने या सुन्ने गरेको छ भने, त्यहाँ प्रस्तुत हुने प्रवचन या भजन या गीतले दिने सन्देश नै जीवनको क्षणभंगुरताका बारेमा हो । हाम्रो नीति शास्त्र हितोपदेशमा पनि भनिएको छ, ‘कर्म गर्दा सम्झने हो– म कहिल्यै मर्दिनौँ अनि धर्म गर्दा सम्झने हो– म अब यो काम गरेपछि मरिहाल्छु, फेरि मसँग यो काम गर्ने समय छैन ।’ 

एउटा प्रसंग रहेछ महाभारतमा । जब अभिमन्युको हत्या भयो र अभिमन्युको छोरा धेरै परीक्षाबाट बाँचेर परीक्षित को पहिचानमा बाँचेका त थिए तर युवराजका रूपमा छोरा कुनै पनि जीवित थिएनन् । त्यसैले भीमसेनलाई युधिष्ठिरले युवराजको रूपमा घोषणा गरेका थिए । अर्थात् सम्राट युधिष्ठिरको गद्दीका भावी उत्तराधिकारी परीक्षित भए पनि तत्कालका लागि उत्तराधिकारीका रूपमा भीमसेन थिए । राजाको दाहिना हातको रूपमा । अझ मुख्य मन्त्रणा दिने मन्त्रीका रूपमा । 

उत्तराधिकारी, मन्त्री र युवराजका रूपमा रहेका भीमसेनले चक्रवर्ती सम्राट युधिष्ठिरसँग भेट्न आउने, भेटेर आश्वासन पाउने र दिएको वचन पूरा भयो भएन भनेर अनुगमन गर्ने जिम्मा पनि उनैको थियो । एक जना ब्राह्मण कुनै माग लिएर  युधिष्ठिर भएको ठाउँमा आए र भीमसेनको आउनुको कारण भन्नुभन्दा पनि उनले आफू महाराजासँगमात्र भन्ने जिद्दी गरे । अनि, भीमसेनले प्राथमिकताका साथ ब्राम्हणलाई उचित स्थानका राखी, पूजा, अर्चना गरेर महाराजलाई जानकारी गराए र आफू बाहिर परीक्षार्थीहरुलाई भीडमा कुरा गर्न थाले । 

ब्राह्मण, जो अत्यन्त जरुरी काम रहेको भनेर महाराजसँग एकान्तमा वार्ता गर्न गएका थिए, ती हाँस्दै बाहिर आए र भीमसेनलाई धन्यवाद दिँदै आफू भोलि फेरि आउने कुरा सुनाए किनभने महाराजसँग भएका वार्तालाई भीम समक्ष सुनाउनुपर्ने हुन्थ्यो, नत्र त्यसको अनुगमन गर्न मुस्किल हुन्थ्यो ।

आज आफू व्यस्त रहेकाले भोलि बिहान आउनका लागि महाराजबाट वचन पाएकाले आफू भोलि बिहान आउने कुरा सुनाए । भीम खुसी हुँदै ब्राह्मण देवतालाई एकछिन आफूसँग बस्न अनुरोध गरे र राज सभाको आपत्कालीन बैठक बोलाउनुका लागि बजाउनै पर्ने नगरा बजाउन थाले ।  अनि, राजा, रजौटा, सल्लाहकार तथा सेनाका रथीहरू, महारथीहरू हस्याङ्फस्याङ गर्दै जम्मा हुन थाले । त्यो नगरा राजकीय जानकारीका लागि थियो, राज सभाको आपत्कालीन सूचना । 

यसको अध्यक्षता महाराजाले मात्र गर्नुपर्थ्यो । तत्काल त्यो सूचनाको पालना गर्नका लागि महाराजा युधिष्ठिर पनि राज सभामा पुगे र अरू सबै आउँदै थिए । सबै आउँदै गर्दा नै भीमले सभा सञ्चालन गर्ने अनुमति मागेर सुरु गरे र भने, ‘हस्तिनापुरका सम्पूर्ण सभासदहरुलाई, आज संसारको सबैभन्दा ठूलो खुसीको कुरा तपाईंहरुलाई जानकारी दिनका लागि यो आपत्कालीन सभाको आयोजना गरेको हुँ युवराजको हैसियतमा । आज हाम्रा कुरुवंशी चक्रवर्ती सम्राट युधिष्ठिरले काललाई, समयलाई जित्नुभएको खुसीमा सबैलाई खुसी हुन र यो ऐतिहासिक अवसरमा महाराजलाई बधाई दिनका लागि बोलाएको हुँ ।’

अब यस भनाइले छक्क पर्ने पालो युधिष्ठिरको थियो अनि युधिष्ठिरले पनि केही बोल्ने इच्छाले युवराजसँग समय मागे तर युवराज खुसीले नाचिरहेका थिए र सबै राज सभासद्हरू बधाई दिनका लागि लाइनमा बसिसकेका थिए । युधिष्ठिरले भने, ‘मैले कहाँ त्यस्तो सिद्धि प्राप्त गरेको छु र ? कसरी तिमीले यसो भन्यौ युवराज ?’

भीमसेनले पनि त्यही ब्राम्हणलाई देखाउँदै भने, ‘मलाई त यी ब्राह्मण देवताले भनेपछि महाराजले काललाई जितेको महसुस भयो किनभने भोलि बिहानसम्मलाई त हजुरले काललाई जितेको अर्थ मैले लगाएँ र यो खुसीको कुरा सबैलाई सुनाउन यो सभाको आयोजना गरेको हुँ ।’

युधिष्ठिरलाई लज्जा बोध भयो र ती ब्राह्मणको काम तत्कालै गरेर ब्राह्मणबाट आशीर्वाद माग्दै आफूबाट ठूलो गल्ती भएकामा राज सभामा सबैसँग माफी माग्दै अबदेखि तत्कालै न्याय दिने बचन दिएको प्रसंगले पनि आत्मसमीक्षाको कुरो बुझिन्छ । 

आफूलाई भन्दा बढी आफ्ना बारेमा अरूलाई थाहा त हुँदैन तर आफ्ना कमजोरीहरूलाई समयका कारण त्यसबेलामा त्यसै गर्नुपर्ने थियो भन्ने स्पष्टीकरण आफूले आफैँलाई दिइएको हुन्छ  । गल्ती भयो भन्दा पनि विभिन्न कारणले गल्ती नमान्ने हाम्रो मानवीय कमजोरी हुन्छ । खासगरी पुरुष जातिहरूलाई दीर्घ सूत्री पनि भनिन्छ किनभने उसले कुनै पनि कामको परिणामप्रति बढी नै सजग हुने बानी हुन्छ रे !

हुनत सबै नै परिणामका बारेका सचेत नै हुन्छन् र पनि आफूबाट गरेका, भएका कामहरू समसामयिक रूपमा गल्ती नै हुन् भन्ने प्रमाणित हुँदा पनि हामी त्यसप्रति प्रायश्चित गर्ने सुरमा हुँदैनौँ र गर्दैनौँ । तर पनि जीवनको कुनै मोडमा कल्पना गरिएको जस्तो, किन सोचिएको जस्तो परिणाम आएन भनेर अहिले जीवनको करिब करिब उत्तरार्द्धमा समीक्षा गर्नु ठिक त होइन तर कहाँ गल्ती भयो होला ? कहाँ ठिक निर्णय गरियो होला ? तथापि, किन सोचेजस्तो परिणाम प्राप्त भएन भन्ने प्रश्न फेरि एक पटक आउँछ :

कहाँ थियो बास ? अघि म को थिएँ ?
कसो हुँदा यो पिँजरा लिँदो भएँ ? 
कहाँ छ जानु ? कुन साथ लीकन ? 
तँलाई मालुम् छ कि ? यो कुरा भन । 

यी दार्शनिक प्रश्नको उत्तर त प्रश्नोपनिषद्मा छ र पनि कल्पनामा एउटा न एउटा उत्तर आउँछ । सायद त्यही समीक्षाको एउटा पाटो बन्न सक्छ । 

मलाई भन्ने गर्छन् मानिसहरू अझै पनि कि तपाईंको सम्बन्ध त नेपाली कांग्रेसका ती शक्तिशाली नेताहरूसँग थियो, जसले बहुदलीय व्यवस्थामा जे पद पनि दिन सक्थे, जुनसुकै देशमा राजदूत बनाएर पनि पठाउन सक्थे, सांसद बनाउन सक्थे, मन्त्रीको पद हातहातमा थियो, बनाउन सक्थे तर तपाईं किन पछि पर्नुभयो ?

मसँग तिनको उत्तर अहिले पनि छैन, पहिले पनि थिएन र सायद अब कहिल्यै पनि नहोला । आत्मसमीक्षाको पाटोमा त्यसलाई पनि कोट्याउने प्रयास गर्नेछु ।

क्रमशः